सञ्चार माध्यमद्वारा सत्य लेख्न कञ्जुसाई गरेको मुख्य मन्त्रिको गुनासो

घोराही । प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले सरकारले द्रुत गतिमा सैद्धान्तिक र व्यावहारिक रुपमा काम कारवाही अगाडि बढाएको भए पनि सञ्चारमाध्यमले अपेक्षित सहयोग नगरेको गुनासो गर्नुभएको छ ।

उहाँले केन्द्र सरकार, प्रदेश सरकार र स्थानीय तहले कानून निर्माण, विकास निर्माण, संविधान कार्यान्वयन र सङ्घीयता लागू गर्ने सवालमा तीव्र गतिमा काम कारवाही अगाडि बढाए पनि सञ्चारमाध्यमले त्यसलाई बेवास्ता गरेको भन्दै दुःखेसो पोख्नुभयो ।

प्रदेश स्थापनाको १ वर्ष पुगेको एवम् मुख्यमन्त्री दाङ आउनुभएको अवसर पारेर प्रेस चौतारी र प्रेस सेन्टर निकट पत्रकार सङ्गठनले आज घोराहीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा मुख्यमन्त्री पोखरेलले सरकारले गरेको वास्तविक कामलाई जनतासामु हुबहु ल्याइदिन सञ्चारमाध्यमलाई आग्रह गर्नुभयो ।

पछिल्लो समय पूर्वाधार निर्माण, शिक्षा, स्वास्थ्य, रोजगार, खेलकूदमा उल्लेखनीय काम भइरहे पनि त्यसलाई नजरअन्दाज गरिएको भन्दै सरकारले गर्न लागेको राम्रो कामलाई जनतासम्म पु¥याउनका लागि सञ्चारमाध्यमको साथ अपरिहार्य भएको बताउनुभयो ।
प्रदेश सरकारले गरिरहेको गतिविधिका बारेमा जानकारी दिँदै उहाँले अहिले आफूहरु संविधान र सङ्घीयता कार्यान्वयनको चरणमा रहेको बताउँदै प्रदेश ५ ले १२ वटै जिल्लामा प्रदेश तहका करीब १५० वटा कार्यालय स्थापना गरेर काम थालेको जानकारी दिनुभयो ।

साथै उहाँले प्रदेशलाई आवश्यक पर्ने आधारभूत तहको कानून निर्माण पनि गरिसकेको जानकारी गराउँदै अब प्रदेशले प्रदेश तहको समिति निर्माण र आवधिक योजना निर्माणको काम शुरु भएको उल्लेख गर्नुभयो ।

उहाँले आफूहरु अरू प्रदेशको तुलनामा एक कदम अगाडि रहेको दाबी पनि गर्नुभयो ।

नेपाल कम्युनिष्ट पार्टीको प्रदेश नं ५ का प्रमुखसमेत रहनुभएको मुख्यमन्त्री पोखरेलले पार्टीको आधारभूत तहको एकता टुङ्गिसकेको जानकारी दिनुभयो । उहाँले भने केही जिल्लामा जिल्ला कमिटी निर्माण र भ्रातृ सङ्ठनको काम बाँकी रहे पनि अरू सबै काम सकिएको बताउनुभयो । रासस

तपाईको प्रतिक्रिया