नाराको स्मार्ट सिटीमा पाराको बत्ति, स्थानीय सुन्दा भोग्दा दिक्क

जुम्ला । चन्दननाथ नगरपालिकालाई स्मार्ट सिटी बनाउने नारामा सिमित एजेण्डा जस्तै यहाँ बत्ति आउने जाने पारा पनि उस्तै छ । स्मार्ट सिटीको नारा सुन्दा सुन्दै दिक्क भएका स्थानीय बत्ति आउने जाने ठेगान नहुदाँ हैरान भएका छन । नेपाल विद्युत प्राधिकरण जुम्ला शाखाले बिजुली नियमित प्रवाह नगरेपछि स्थानीय आक्रोशित बनेका हुन्‌।

एक सातासम्म पनि जुम्ला खलंगा अन्धकारमा बस्दा विकल्प खोज्न नसक्ने विद्युत प्राधिकरणको शाखा जुम्लामा बस्नुको औचित्य नरहेको स्थानीयको भनाइ छ । हरेक वर्ष महिनौसम्म बत्ति जानु यहाँका लागि सामान्य जस्तै बनेको छ । जिल्ला प्रशासनमा भएको सर्वपक्षीय छलफलमा प्राधिकरणले जसरी पनि जुम्लामा बिजुली नियमित गर्नुपर्ने सरोकारवाले माग राखे‌।

तर यीनै सरोकारवालालाई मुखले बोलेजस्तै व्यवहारमा फरक परेको छैन । घरमा अन्य विकल्प सहित उर्जा जडान गर्नेहरु बोल्ने मात्रै तर सम्बन्धित निकाय मौन हुने कारणले गर्दा स्थानीयवासी, विद्यार्थी, व्यपारीलाई बत्तिबिना सकस भएको छ ।

नागरिक समाज जुम्लाका अध्यक्ष राजबहादुर महतले जेनेरेटरबाट भएपनि जुम्लावासीलाई बत्ती दिनुपर्ने बताए। उनले सबै भीआइपी लाइन काटेर एकै प्रकारको विद्युत सेवा दिन पनि आग्रह गरे । नेपाल पत्रकार महासंघ शाखा जुम्लाका अध्यक्ष बरमबहादुर महतले बिजुली अभावले यहाँस्थित सञ्चारमाध्यम प्रभावित भएको बताए।

अध्यारोमुनीको नगरपालिका

स्मार्ट सिटीको नारा दिएर बनाइएको चन्दननाथ नगरपालिकामा बिजुली प्रवाहको अवस्था निकै दयनीय छ। जुम्ला विद्युत गृहमा रहेका दुई मेसिनबाट २ सय ४० किलोवाट विद्युत निस्कन्छ। तीन हजारभन्दा बढी ग्राहक छन्। २०४० सालमा स्थापना भएको विद्युतगृह जीर्ण हुँदै जाँदा पनि प्राधिकरणले कुनै विकल्प अघि सारेको छैन।

प्रयोग भइरहेको तार पुरानो हुँदै जाँदा उत्पादन भएको विद्युत प्रवाह कम हुने समस्या भइरहेको नेपाल विद्युत प्राधिकरण जुम्ला शाखाका प्राविधिक प्रमुख हिमन्त शाहुले बताए। उनका अनुसार जुम्लाको गाउँतिर बत्ती झिलिमिली हुँदा बजार अँध्यारो हुनेगर्छ। सुक्ष्म तवरले अनुसन्धान गरी दीर्घकालिन रूपमा समस्या समाधानका निम्ति पहल गर्न राजनीतिक दल र सरोकारवाला सबैलाई जुम्लावासीले आग्रह गरेका छन्‌।​ तर यहाँका राजनीति दल र सरोकारवाला भन्दा विद्युत व्यवस्थापन पक्ष बलियो देखिदाँ प्रशासन र नगरपालिकाको निर्देशन समेत टेर्दैनन् ।

तपाईको प्रतिक्रिया