लोकमार्गले चम्किँदै गरेकाे त्याे मध्यपहाड

सुर्खेत । कर्णाली प्रदेशको अवस्था केही वर्षअघिसम्म यस्तो थियो, आधा नागरिक गरिब। रोजगारीका लागि भारतसहित तेस्रो मुलुक जानुपर्ने बाध्यता । विकासको गति सुस्त । नागरिक निरास । तर, पुष्पलाल (मध्यपहाडी) लोकमार्ग निर्माणसँगै विकासको ढोका खुल्न थालेको छ । स्थानीयमा तीव्र विकासको आशा पलाएको छ। उनीहरूको आर्थिक अवस्थामा सुधार आउन थालेको छ ।

मध्यपहाडी लाेकमार्ग खुलेपछि  चम्कदै गरेकाे दैलेखकाे बेस्तडा बजार ।

‘लोकमार्ग खुलेपछि बेस्तडामा बजार चम्किएको छ । व्यापार/व्यवसाय पनि फस्टाउँदो छ’, दैलेखका कृष्ण अधिकारी भन्छन्, ‘अन्य स–साना बजार विस्तार हुने क्रम तीव्र छ । हामी गाउँका नागरिकलाई बजारसम्म जोड्यो ।’

लोकमार्गअन्तर्गत कर्णालीका रुकुम पश्चिम, जाजरकोट, दैलेख र सुदूरपश्चिम प्रदेशको अछामसम्म गरी ४ सय ४० किलोमिटर पर्छ । दैलेखको राकम प्रदेशकै नमुना सहरका रूपमा स्थापित हुने क्रममा छ । कर्णाली राजमार्ग र मध्यपहाडी लोकमार्ग दुवैले छुने भएपछि राकममा दैलेख, कालिकोट र अछामबाट मानिसहरू बस्न आएका छन्  ।

सरकारी संयन्त्र पनि पुगेका छन् । यसले स्थानीयलाई सरकारी सेवा लिन घण्टौं हिँड्नुपर्ने बाध्यता टरेको छ । यस्तै, रूकुमको चौरजहारीमा बजार फस्टाएको छ ।

‘लैनचौरको गाउँसमेत बजारमा परिणत भएको छ’, चामुण्डाविन्द्रासैनी नगरपालिकाका मदन विक भन्छन् । बस्ती नै नभएको ठाउँमा पनि लोकमार्ग खुलेपछि बजार विकास भइरहेको उनको भनाइ छ। लोकमार्गका कारण स्थानीय कृषिजन्य बस्तुले बजार पाउन थालेका छन् । दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज भएको छ ।

लोकमार्ग आयोजना कार्यालय दैलेखअन्तर्गत लुम्बिनी प्रदेशको रुकुम पूर्वबाट सुदूरपश्चिमको अछामसम्म निर्माण कार्य तीव्र गतिमा छ । यो खण्डको स्तरोन्नतिअन्तर्गत सडक ग्राभेल, कालोपत्रे, पुल निर्माणलगायत काम धमाधम भइरहेका छन् ।

रूकुमपूर्व र रुकुम पश्चिमअन्तर्गत १ सय २५ किलोमिटरमध्ये ४६ किमि कालोपत्रे भइसकेको इन्जिनियर मनीष सिंह बताउँछन् । जाजरकोट खण्डमा पर्ने ८३ किमि भने कालोपत्रेको काम बाँकी छ । दैलेख खण्डको १ सय २५ किमिमध्ये १९ किमि कालोपत्रे भइसकेको छ। चालु वर्ष ३५ किमि कालोपत्रे सम्पन्न हुने इन्जिनियर सिंह बताउँछन् । उनका अनुसार बाँकी खण्ड स्तरोन्नतिको कामले गति लिएको छ ।

अछाममा १सय७ किमिमध्ये १ सय २ किमि कालोपत्रे भई सञ्चालनमा आएको छ। बाँकी पाँच किमि फागुनभित्र कालोपत्रे भइसक्ने आयोजनाको दाबी छ ।

यो खण्डमा नौवटा पुल निर्माणाधीन छन् । पुल निर्माण, ग्राभेल, सडक कालोपत्रेलगायत कार्यका लागि २९ वटा ठेक्कामार्फत काम भइरहेको छ । ती ठेक्काअन्तर्गत ४१ प्रतिशत काम सम्पन्न भइसकेको इन्जिनियर सिंहको भनाइ छ। रुकुम पूर्वबाट अछामसम्मको खण्डमा ४ अर्ब ४३ करोड रुपैयाँ खर्च भएको छ अन्नपूर्णपाेष्टमा समाचार प्रकाशित छ ।

तपाईको प्रतिक्रिया