काभ्रेमा आलुको नयाँ पुस्तका बीउ उत्पादन

 

चैत ११, काभ्रे : पाँचखालस्थित मसला बाली विकास केन्द्रले विभिन्न जातका आलुको बीउ उत्पादन गरिरहेको छ। वर्षौंदेखि एउटै जात पुस्तान्तरण गरी आलुखेती गर्दा कम उत्पादन हुने भएपछि नयाँ पुस्ताका बीउ उत्पादन गरिएको केन्द्र प्रमुख युवराज पाण्डेले बताए।

उनले केन्द्रमा आलुको पूर्वमूलबीउ र मूल बीउ उत्पादन गरिरहेको जानकारी दिए। आलुको बीउ उत्पादनका लागि कुनै प्रकारका किरा छिर्न नसक्ने दुईवटा ‘स्क्रिन हाउस’भित्र ल्याबमा टिस्यु कल्चर गरिएका बिरुवा रोपिएको छ। पाण्डेले भने, ‘रोपिएको बिरुवाबाट फलेको आलु पूर्वमूल बीउ बन्दछ, त्यसलाई पनि रोपेर फलाइएपछिको मूल बीउ हो।’

यो मौसममा रोपिएको तीन हजार ४४० बिरुवाबाट करीब २५ हजार दाना आलुको बीउ उत्पादन गर्ने लक्ष्य लिइएको केन्द्र प्रमुख पाण्डेले बताए। उनका अनुसार अहिले जनकदेव र कार्डिनल जातको आलुको बीउ उत्पादन भइरहेको छ। एउटा बिरुवामा सातदेखि १० दानासम्म फल्ने गर्दछ।

यहाँ उत्पादन गरिएको आलुको नयाँ बीउ किसान तथा बीउ बिक्रेतालाई दिइनेछ। उत्पादित प्रिबेसिक नयाँ आलुको बीउ दानाको गन्तीमा बिक्री गरिने पाण्डेले बताए। केन्द्रले पाँच खाल उपत्यकामा विस्तारै आलुको बीउ परिवर्तन गर्दै जाने योजना बनाएको छ।

तपाईको प्रतिक्रिया