योजना बनेकाे ३२ वर्षपछि सुर्खेत-काेहलपुरकाे विद्युत सर्भे शुरू

सुर्खेत  । सुर्खेतमा १३२ केभीए विद्युत प्रसारण लाईन पुर्‍याउने योजनाले ३२ वर्षपछि गति पाएको छ । सुर्खेतसहित कर्णाली प्रदेशमा १३२ केभीए विद्युत लाईन विस्तारका लागि ‘कोहलपुर–सुर्खेत १३२ केभीए विद्युत प्रशारण लाइन’ आयोजनाले काम थालेको हो ।

पहिलो चरणमा विस्तृत सर्भेको काम सुरु भएको हो । अबको एक महिनाभित्रै सर्भे सक्ने गरी काम सुरु भएको आयोजना प्रमुख रवीकुमार चौधरीले जानकारी दिए । ‘कोहलपुर–सुर्खेत १३२ केभीए विद्युत प्रशारणको पहिलो चरणको काम सुरु भएको छ’ चौधरीले भने, ‘अबको एक महिनाभित्रै सर्भेको काम सकिन्छ ।’

सर्भे सकिएपछि लगत्तै आयोजनाले कटान गरिने रुखको संख्या गणना गर्नेछ । त्यसपछि वन तथा वातावरण मन्त्रालयले रुख कटान अनुमतिका लागि मन्त्रिपरिषद बैठकमा सिफारिस लैजाने छ । मन्त्रीपरिषद् बैठकले रुख कटानको स्वीकृति दिएपछि आयोजनाले रुख काट्ने काम सुरु गर्नेछ ।

कोहलपुर–सुर्खेत १३२ केभीए विद्युत प्रशारण लाईन विस्तार गर्दा बाँके र बर्दिया राष्ट्रिय निकुञ्जसँग समन्व गरेर रुख कटान गरिने छ । प्रारम्भिक अध्ययनअनुसार लाईन विस्तार गर्दा सात हजारभन्दा बढी रुखहरु कटान हुने अनुमान छ ।

गएको असार २२ गते आयोजनाले भारतीय निर्माण कम्पनी ‘आरएस इन्फाप्रोजेक्ट प्राइभेट लिमिटेड’लाई ठेक्का दिएको हो । झण्डै ७० करोड लागतमा आयोजनाले निर्माण कम्पनीसँग सम्झौता गरेको छ ।

निर्माण कम्पनीले विद्युत लाइन प्रशारणको लागि डिजाइन, निर्माण, परीक्षण, वितरण र प्लान्टको खरीद लगायतका सम्पूर्ण काम दुई वर्षभित्र गरिसक्नु पर्नेछ । सुर्खेतसहित कर्णालीमा हाल ३२ केभीए विद्युतलाई लाइन सञ्चालनमा छ ।

प्रारम्भिक अध्ययनअनुसार कोहलपुरदेखि सुर्खेतसम्म कुल १४५ वटा पोल रहने छन्। जसमा २६ वटा एंगल टावरहरुको प्रस्ताव गरिएको छ । वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन प्रसारण लाइनको ७०.५४५ भाग वनको क्षेत्र, १६.१३५ खेतीयोग्य जमिन, २.२६५ बाँझो जमिन, तथा ११.०६५ अन्य भागले ओगटेको छ ।

आयोजना कार्यान्वयन गर्दा कूल ९८.०५७९ हेक्टर जग्गामा टावर निर्माण, सव–स्टेशन तथा क्षेत्राधिकारको लागि आवश्यक पर्नेछ ।

जसमध्ये ३.७२४९ हेक्टर स्थायी रूपमा सव–स्टेशन निर्माणको लागि र ३.३०७५ हेक्टर टावरको जग निर्माणको लागि अधिग्रहण गरिनेछ भने बाँकी ९१.०२५५ हेक्टर जमिन अस्थायी रूपमा प्रयोग गरिनेछ ।

आयोजनाको कुल लम्बाई करिब ५१.४६२ किलोमिटर डबल सर्किटको रहने प्रस्ताव गरिएको छ। आयोजना कार्यान्वयन गर्दा बाँकेको कोहलपुर नगरपालिका र बैजनाथ गाउँपालिका, बर्दियाको बाँसगढी नगरपालिका, सुर्खेतको भेरीगंगा, लेकवेशी र वीरेन्द्रनगर नगरपालिकाहरू प्रभावित हुनेछन् ।

३२ वर्षअघि २०४५ सालमा नेपाल विद्युत प्राधिकरणले सुर्खेतमा १३२ केभीए विद्युतलाई विस्तार गर्ने योजना बनाएको थियो। तर लामो समयसम्म विद्युत लाईन विस्तार हुन सकेको थिएन ।

लाइन विस्तार नभएकै कारण सुर्खेत, सल्यान, रुकुमपश्चिम, जाजरकोट र दैलेखका नागरिकले कम भोल्टेजका कारण हैरानी भोग्दै आएका छन् । १३२ केभिए लाइन विस्तार भएमा यस क्षेत्रको विद्युत आपूर्ति सहज हुने अपेक्षा गरिएको छ ।

आयोजनाले सुर्खेत–दैलेखमा १३२ केभीए लाईन विस्तारका लागि प्रारम्भीक अध्ययन पनि थालेको छ । कोहलपुर–सुर्खेत १३२ केभीए लाइन विस्तारका टुङ्गिए लगत्तै दैलेखमा पनि लाईन विस्तार गर्ने योजनाको प्रारम्भिक वातावरणीय मुल्यांकन (आइइ) सुरु भएको छ । #नेपालसमयबाट

तपाईको प्रतिक्रिया