रुकुममा कर्णालीकै पहिलाे अर्गानिक वाइन उद्योग सञ्चालन

रुकुम पश्चिम । आठविसकोट नगरपालिका–१२ मा कर्णाली वेभरेज इन्डस्ट्रिज प्रा.लि. वाइन उद्योग सञ्चालनमा ल्याइएको छ । प्रदेश र स्थानीय सरकारको सहयोगमा डिमुरको वाइन उत्पादन गर्न उद्योग सञ्चालन गरिएको हो ।


उद्योगले डिमुर डिमोर गरी दुई ब्राण्डका वाइन उत्पादन गरेर बजारमा पठाउन थालेको छ । उद्योगमा ब्राजिलबाट ल्याइएका रासायनिक पदार्थबाट वाइन तयार पारिएको छ ।

नौं करोडको लागतमा निर्माण भएको उद्योगमा नगरपालिका र प्रदेश सरकारले दुई करोड ४६ लाखमा लगानी गरेको हो । ४३ जना शेयर सदस्यले उद्योगमा लगानी गरेका छन् । दुई वर्षअघि उद्योग स्थापना गरी स्थानीय सामुदायिक वनमा खेर गइरहेको डिमुरको वाइन बनाउने तयारी थालिएको थियो ।

कम्पनीले वाइनका साथै विभिन्न जुस पनि उत्पादन गर्ने तयारी गरेको छ । कम्पनीको यो पहिलो उत्पादन हो । गतवर्ष कम्पनीले साढे २६ लाख रुपैयाँको डिमुर खरिद गरेको थियो । आठविसकोट नगरपालिकाको साथै बाँफीकोट गाउँपालिका, छिमेकी जिल्ला जाजरकोट र डोल्पाबाट समेत डिमुर खरिद गरेर वाइन उत्पादन गरिएको कम्पनीका अध्यक्ष दलबहादुर शाहले बताए ।

उनकाअनुसार सातसय ५० एमएलका बोत्तलमा वाइन बजारमा पठाउँदै छ । प्रतिवोत्तलको मुल्य भने पाँचसय ७५ रुपैयाँ तोकिएको छ । ‘दाङ, सुर्खेत, नेपालगञ्ज र काठमाडौंमा डिलर स्थापना गरेर बिक्री गर्ने व्यवस्था मिलाइएको छ,’ अध्यक्ष शाहले भने, ‘अर्गानिक वाइन भएकाले धेरै ठाउँबाट माग आइरहेको छ, पहिलो पटक ५० हजार वोत्तल वाइन बजारमा पठाउने तयारीमा छौं ।’

पहिलो उत्पादन बजार पठाएपछि जंगलमा पाइने मेलको वाइन बनाउने योजनामा रहेको शाहले उल्लेख गरे । कम्पनीले १७ लाख रुपैयाँको मेल संकलन गरेको जनाएको छ । मेल र डिमुरको मिक्स वाइन उत्पादन गर्ने गृहकार्यमा जुटेको शाहले बताए ।

उद्योग सञ्चालनमा आएपछि किबी उत्पादन शुरु गरिएको नगरप्रमुख गार्खबहादुर केसीले जानकारी दिए । उनले किबीको उत्पादन वृद्धि गर्न नगरका सबै वडाहरुमा वेर्ना वितरण गरिएको बताए ।

तपाईको प्रतिक्रिया