कर्णालीकै पहिलो कोल्ड स्टोर छिन्चुमा सञ्चालन

सात करोड नीजि क्षेत्रलाई दिँदा काम गरेनन्, सहकारीले उदाहरणीय कार्य गर्याे : मन्त्री केसी

सुर्खेत । कर्णालीको पहिलो कोल्ड स्टोर सञ्चालन ल्याइएको छ । भेरीगंगा नगरपालिका–१२ को छिन्चुमा दुईसय मेट्रिकटन क्षमताको कोल्ड स्टोर निर्माण सम्पन्न भएपछि सञ्चालनमा ल्याइएको हो ।

चार कोठा रहेको कोल्ड स्टोरमा प्रति कोठा ५०/५० टन तरकारी तथा वीउ राख्न सकिने क्षमताको छ । कोल्ड स्टोर नारी जागरण बहुउदेश्यीय कृषक सहूमले निर्माण गरेर सञ्चालनमा ल्याएको हो ।

कोल्ड स्टोरको उद्घाटन भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसीले उद्घाटन गरेर संस्थालाइ हस्तान्त्रण गरेकी छन् । मन्त्री केसीले गरिबीको पहिचान बदल्न सहकारीको महत्वपूर्ण भूमिका हुने बताइन् । अर्थतन्त्रको तीन खम्बे नीतिमा सहकारी मुलुक समृद्धिको बलियो आधार भएको मन्त्री केसीले उल्लेख गरिन् ।

‘आर्थिक समृद्धिको नेतृत्व अब सहकारीले लिनुपर्दछ,’ उनले भनिन, ‘प्रदेश सरकारले रु.सात करोड नीजि क्षेत्रलाई दिँदा काम गर्न नसकेर फिर्ता भयो तर सहकारीहरु यस कार्यमा सफल भएका छन् ।’

समाजवाद निर्माणको आधार सहकारी रहेको र मुलुकको नेतृत्व गर्न महिला सक्षम रहेको उदाहरण महिलाको नेतृत्वमा सञ्चालित साना किसान कृषि सहकारी संस्था लिमिटेडले देखाएको भन्दै कृषि र श्रमलाई सम्मान गर्ने संस्कृति स्थापित गर्न सबै क्षेत्रको साझा लगाव हुनुपर्ने मन्त्री केसीको भनाई छ ।

६ रोपनी जग्गामा निर्माण गरिएको कोल्ड स्टोरमा कृषि विकास निर्देशनालयको ७० लाख, भेरीगंगाको ६५ लाख, साना तथा मझौला आयस्तर वृद्धि परियोजनाको ३९ लाख, नारी जागरणको २९ लाख, कृषि मन्त्रालयको १५ लाख, गुर्भाकोट नगरपालिकाको पाँच लाख लगानी गरिएको छ ।

कर्णालीमै कोल्ड स्टोर निर्माण गरिएपछि आलु, तरकारी, फलफूल, विउ कोहलपुर पु¥याउनु पर्ने बाध्यता अन्त्य भएको संस्थाका अध्यक्ष ज्ञानु भुषालले जानकारी दिइन् ।

२०६७ सालमा दर्ता भएको संस्थाले कर्णालीमा पहिलो पटक एक महिलाको नेतृत्वमा २०० मेट्रिक टन क्षमताको शीतगृह निर्माण चानचुने कुरा नभएको प्रतिक्रिया दिइन् । ‘यतिबेला नै ६६३ बोरा अदुवा शीत गृहमा राखिएको छ । अब कर्णालीका किसानहरुको उत्पादन कुहिएर खेर जाने छैन,’ भुषालले भनिन् ।

तपाईको प्रतिक्रिया