
कञ्चनपुर । कञ्चनपुरको बेल्डाँडी गाउँपालिका-५ की २० वर्षीया राधा (नाम परिवर्तन) र लालझाडी गाउँपालिका-७ का दीपक (नाम परिवर्तन) को गत बैशाखमा परिचय भयो ।
एकआपसमा परिचित भएपछि सोही बेलादेखि उनी दुवैजना भेटघाट र कुराकानी गर्न थाले । सोही क्रममा उनीहरुबीच प्रेम बस्यो ।
७ महिनाको प्रेम सम्बन्धपछि दुवै जना आपसी सल्लाहमै विवाह गर्न राजी भए । सोही योजना अनुसार नै गत मंसिर २६ गते उनीहरुको विवाह बन्धनमा बाँधिए ।
प्रेमीप्रेमिकाको सम्बन्धलाई श्रीमान श्रीमतीको रुपमा अगाडि बढाउन खोजेका उनीहरुको जीवनमा भने समयले अर्कै मोड ल्याइदियो ।
विवाह भएपछि कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाको झलारी क्षेत्रमा डेरा गरी बस्ने निणर्य लिए । तर उनीहरु त्यहाँ २ दिनपनि बस्न पाएनन् । कारण- विवाहपछि मात्र दुलहीले दुलाहा समलिङ्गी भएको थाहा पाइन ।
‘विवाह भएपछि मात्र दुलाह पनि समलिङ्गी भएको कुरा युवतीले थाहा पाइछिन् । न्यायका लागि भन्दै हामी कहाँ आउनुभएको थियो,’ कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले भने।
‘युवती पक्षले झुक्याएर विवाह गरेको आरोप लगाएका छन् । तर स्पष्ट कानूनी व्यवस्था नहुँदा मुद्दा अगाडी बढाउन सकिएन ।’
प्रहरीले अहिले दुवैजनालाई सम्झाइबुझाइ गरी परिवारको जिम्मा लगाएको छ । विगतमा झुक्याएर विवाह गर्नेलाई कारवाही गर्ने व्यवस्था भएपनि गतवर्षको भदौदेखि लागु भएको मुलुकी संहितामा भने सो व्यवस्था नहुँदा समस्या भएको प्रहरीले जनाएको छ ।

नेपालीरैबार । २०७७ पुष ३, शुक्रबार