राजपा महाधिवेशन वैशाखमा नहुने पक्का

१२ चैत, काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा) को महाधिवेशन बैशाख पहिलो साता नहुने पक्का भएको छ । आन्तरिक विवादका कारण महाधिवेशन निर्धारित मिति नहुने निश्चित भएको राजपा अध्यक्ष मण्डलका एक सदस्यले लाई जानकारी दिए ।

नाम उल्लेख गर्न नचाहने ती सदस्यले  भने, ‘अध्यक्ष मण्डलका प्रायः सबै नेताहरू बैशाख पहिलो साता महाधिवेशन गर्न नसक्ने निचोडमा पुगिसकेका छौं, छिट्टै औपचारिक निर्णय गर्छौ ।’

राजपा राजनीतिक समितिको गत असारमा बसेको बैठकले बैशाख ७, ८ र ९ गते महाविधेशन गर्ने निर्णय गरेको थियो । महाधिवेशन मिति तय भएको ९ महिना भइसक्दा पनि साधारण र सक्रिय सदस्यता वितरण हुन सकेको छैन ।

अध्यक्ष मण्डलका सदस्य मध्येका एक महेन्द्रराय यादवले १५ चैतसम्म साधारण सदस्यता वितरणको समय रहेको बताए । गत माघ पहिलो साता अनलाइनखबरसँगको अन्तर्वार्तामा भने यादवले १५ माघ भित्र सदस्यता वितरणको काम सम्पन्न भइसक्ने बताएका थिए ।

त्यसपछि फागुन १५ का लागि सरेको म्याद फागुन मसान्त हुँदै १५ चैत पुगेको हो । त्यो अवधिभित्र सदस्यता वितरण भइहाले पनि वडा, क्षेत्रीय र प्रदेश अधिवेशनका लागि समय नपुग्ने राजपा नेताहरूको भनाई छ ।

विभिन्न ६ वटा मधेसवादी दल मिलेर गठन भएको राजपाको सदस्यता वितरणमा पूर्व पार्टी अनुसारको गुटबन्दी कायम रहेको राजपा नेताहरू बताउँछन् । महन्थ ठाकुर नेतृत्वको तत्कालीन तराई मधेस लोकतान्त्रिक पार्टी र अनिल झा नेतृत्वको नेपाल सद्भावना पार्टीनिकट नेताहरू एउटा पक्षमा र एकता हुनुअघिका बाँकी चारवटा दलका नेताहरू अर्को पक्षमा देखिएको स्रोतको भनाइ छ ।

स्रोतका अनुसार दुबै पक्षले आफू निकटलाई बढी सदस्यता दिन खोज्दा वितरणमा ढिलाइ भइरहेको हो । स्रोत भन्छ, ‘सदस्यता अनुसारकै प्रतिनिधि चयन भएर आउने भएकाले आफ्नो मान्छे बढी पार्न खोज्नु अस्वाभाविक पनि होइन ।’

राजपा उपाध्यक्ष वृषेशचन्द्र लाल पनि पूर्वनिर्धारित तालिका अनुसार सदस्यता वितरण लगायतका काम हुन नसकेको स्वीकार गर्छन् । यद्यपि पार्टीभित्र निर्धारित मितिमै महाधिवेशन सम्पन्न गर्ने विषयमा छलफल भइरहेको लालको भनाइ छ ।

अध्यक्ष मण्डलका सदस्य यादव भने सदस्यता वितरणको काम सकिएपछि समीक्षा बैठक बसेर आधिकारिक निर्णय सार्वजनिक गर्ने बताउँछन् ।

तपाईको प्रतिक्रिया