
एजेन्सी । सन् २००६ मा सूरज बन्डजात्याले हिन्दी फिल्म विवाहमा समावेश गरिएको कथा जस्तै भारतमा एक अनौठो विवाह भएको छ । उक्त फिल्ममा बेहुली बनेकी अमृता रावले विवाहको लागि तयारी गरिरहेको बेला आफ्नो बहिनीलाई बचाउने क्रममा उनको शरिरमा आगो लाग्छ ।
तर बेहुला बनेका शाहिद कपूर उनैसँग विवाह गर्छन् । बास्तविक जिन्दगीसँग मेल खाने फिल्मले भारतमा निकै चर्चा बटुलेको थियो । तर भारतकै उत्तर प्रदेशको प्रयागराजमा फिल्म जस्तै वास्तविक कथा सार्वजनिक भएको छ ।
संगम नगर प्रयागराजमा मेहन्दी लगाएकी बेहुली अस्पतालको बेडमा उपचार गराइरहेकी हुन्छिन् । उनी हुन आरती, जसलाई उनका श्रीमान अवधेशले उनको रेखदेख गरिरहेका छन् । प्रतापगढको कुन्डा गाउँकी आरती विवाहको तयारीमा व्यस्त थिइन् ।
८ डिसेम्बरमा जन्ती उनको घरमा आउने अन्तिम तयारीमा थिए । आरतीको घरमा पनि रौनकता थियो । तर त्यही दिन दिउँसो उनको घरको छतमा खेली रहेका आफ्ना तीन वर्षीय भतिजालाई बचाउने क्रममा छतबाट खसिन् ।
उनको मेरुदण्डको हड्डी भाँचियो । तत्कालै उनलाई प्रयागराजको एक नीजि अस्पतालमा भर्ना गरियो । दुलही लिन तमझमका साथ तयारी गरिरहेका दुलाहका परिवारलाई आरतीका आफन्तले खवर गरेर घटना सुनाए । दुलाहको परिवारले सबै तयारी पूरा गरेकाले उनले आरतीसँग विवाह गर्न सम्भवन नभएकाले बहिनीसँग विवाह गर्न दुलहीको परिवारले प्रस्ताव राखे ।
तर दुलाह अवधेशले आरती नै मेरो जीवन साथी हो म बहिनीसँग विवाह गर्दैन् भन्दै इन्कार गरे । अहिले अवधेश आरतीको हेरचाह गरिरहेका छन् ।
अवधेशको यो कार्यप्रति उनका परिवार र गाउँलेहरुले समाजकै उदाहरणिय कार्य भएको भन्दै प्रशंसा गरेका छन् ।
कसरी भयो विवाह ?
अस्पतालमा उपचार गराइरहेकी आरतीका परिवारले डाक्टरसँग कुरा गरेर एम्बुलेन्समा घर लगेर अवेधशसँग विवाह गराए । बेडमा सुतिरहेकी आरतीलाई सात फन्को लगाएर अवधेशले विवाह गरे र पुनः अस्पतालमा भर्ना गरियो ।
अवधेश र आरतीले आफूलाई भाग्यमानी ठानेका छन् । समस्यामा परेको बेला छाँयाले समेत साथ दिँदैन भन्ने भनाईलाई यो जोडीको विवाहले भ्रममुक्त गरिदिएपछि भारतमा उनीहरुको प्रशंसा गरिरहेका छन् ।

नेपालीरैबार । २०७७ पुष १२, आईतवार