पुसको पहिलो हप्ता माइनस पाँच डिग्रीको तापक्रममा तारा एयरले जुम्लाको जमिन छाडेर राराको यात्रा तय गर्दै थियो । थुप्रैपटक पढेको र दर्जनौँपटक तस्बिरमा देखेको रारालाई नजिकै पुगेर स्पर्श गर्ने आकाङ्क्षाले मेरो मन भने चङ्गा बनिरहेको थियो । उडान भरेको केही मिनेटपछि जहाजले १० दशमलव ८ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको सुन्दर र नीलो रारा तालमाथि एक फन्को लगाउँदा क्षितिजमा देखिएका छायानाथ, चङ्खेलीलगायतका हिमशृङ्खला मुस्कुराइरहेका थिए ।
जहाजमुनिको नीलो रारा र जहाजमाथिको नीलगगनबीचमा सुस्तरी चलेको हावाको गतिसँगै सिनियर क्याप्टेन सञ्जीव श्रेष्ठले जुम्लाको खलङ्गा विमानस्थलबाट उडान भरेको करिब १२ मिनेटमा मुगुको ताल्चा विमानस्थलमा जहाज अवतरण गराउनुभयो ।
क्याप्टेन श्रेष्ठ ककपिटबाट धानवनमार्गमा हतार–हतार ओर्लिनुभयो र भन्नुभयो– काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यसहितको प्रतिनिधि मण्डललाई रारा घुमफिरका लागि स्वागत छ । मेयर शाक्यले पनि उडानकै क्रममा सुन्दर राराको अवलोकन गराउनुभएकोमा तपाईंलाई पनि हाम्रो तर्फबाट धेरै–धेरै धन्यवाद छ भन्नुभयो ।
मनमोहक हिमशृङ्खला र पहाडको खोँचमा अवस्थित ताल्चा विमानस्थलमा अवतरण गर्दा छायानाथ रारा नगरपालिका वडा नम्बर–१३ का चक्रबहादुर सावत हाम्रो स्वागतका लागि विमानस्थलमै आइपुग्नुभएको रहेछ । विमानस्थलबाट करिब १० मिनेटजति धुलाम्य सडक पार गरेपछि राराको मिलिचौरसम्मको यात्राका लागि तीनवटा जिप तयारी अवस्थामा रहेछन् । रेगिस्तानको ‘डेजर्ट सफारी’को झल्को दिने धुलाम्य सडकको करिब ४५ मिनेटको यात्रापछि हामी समुद्री सतहबाट २ हजार ९९० मिटरको उचाइमा रहेको रारा नजिकैको मिलिचौर पुग्यौँ । हामी मिलिचौर पुग्दा हिउँले ढाकिएका पर्वत शृङ्खलामा आफ्नो अस्तित्वलाई जीवन्त बनाएर उभिरहेका खस्रु, खोटे सल्ला, भोजपत्र, देवदार, लालीगुँरासजस्ता रूख बुट्यानको बीचमा लमतन्न परेर फैलिएको पठारले हामीलाई स्वागत गरिरहेको अनुभूति भयो । त्यही पठारमा घोडा र खच्चडका बथान उग्राइरहेका थिए भने घोडाका करेली समातेर मुगेली युवा आयआर्जनका प्रमुख स्रोत अर्थात् हामीजस्तै आन्तरिक तथा बाह्य पर्यटकको प्रतीक्षामा थिए ।
मिलिचौरसम्म पुग्दा पनि मेरो मानसपटलमा रारा घुमफिरका लागि त्यहाँसम्म पुग्नेको घुइँचो होला, वरिपरि ठुल्ठूला होटल होलान्, आन्तरिक तथा बाह्य पर्यटकको ठेलमठेल होला भन्ने तस्बिर नाचिरहेको थियो । सायद कोरोना कहर र चिसो मौसमका कारणले होला रारा घुमघामका लागि आउने आन्तरिक तथा बाह्य पर्यटक निकै पातलो देखिए ।
रारातालकै किनारमा रहेको श्रीदल गुल्मका गुल्मपति प्रतीकसिंह कार्कीलगायतले मिलिचौरदेखि राराकिनारसम्मको यात्राका लागि ज्ञानी, भैरे, खैरे, राजा, यस्तै–यस्तै नाम गरेका १६ वटा घोडाको व्यवस्थापन गर्नुभएको रहेछ । ज्ञानी घोडा तेजबहादुर रावलको रहेछ । रावलले मिलिचौरका सबै घोडाभन्दा महँगो ज्ञानी घोडा भएको भन्दै आफ्नो घोडाको तारिफ गरेपछि कानुन विभागका प्रमुख वसन्त आचार्य त्यही महँगो घोडामा चढ्नुभयो । मिलिचौरमा मन परेको घोडा छान्न र पालैपालो घोडचढीको दृश्य कैद गर्नमै करिब आधा घण्टा व्यतीत भयो ।
हिउँले सेताम्य निकुञ्जभित्रका खस्रु, खोटे सल्ला र लालीगुँरासको जङ्गल छिचोल्दै हामी करिब २० मिनेटको घोडचढीपछि राराकिनारमा पुग्यौँ । राराकिनारमा आइपुगेपछि आचार्यले सबैभन्दा महँगो अर्थात् ९५ हजार मूल्य पर्ने ज्ञानी घोडा चढेको भन्दै एकछिन रमाइलो गर्नुभयो । त्यहाँबाट २ दशमलव ७ किलोमिटर चौडाइको राराको बोटिङको मज्जा लिँदै गुल्मसम्म पुग्ने तालिका रहेछ ।
पहिलोपटक राराकिनारको जमिन टेग्दा स्वर्ग पुगेको अनुभूति भयो । जुम्ला छाड्दै गर्दा उपहार पाएको खरायोका भुत्लाबाट बनेको टोपी र सुपर डाउन ज्याकेटले समेत राराकिनारको स्याँठलाई धान्न भने धौ–धौ प¥यो । यसपछि झोलाबाट बाक्लो टोपी झिकेर लगाएँ ।
लमतन्न नीलो रारालाई नियाल्दै गर्दा एकछिन टोलाएँ । मेरो नजिकै उभिनुभएका रावलले सल्लो, धुपी, निगालोका बाक्लै रूखहरूको बीचमा तालवरिपरि लालीगुराँस ढकमक्क फुलेको चैत वैशाखकी राराको बखान गरेपछि एकपटक फेरि चैत वैशाखको महिना पारेर रारा आउने उत्कण्ठा जागेर आयो । मवीवि शाहले लेखेको ‘राराकी अप्सरा’ कविता स्मृतिको पहाड बनेर उभियो ।
आहा ! चैत वैशाखमा आउन पाएको भए ? फेरि एकछिन टोलाएँ । नजिकैका मुर्मा, मिलिचौर, मालिकालेकमा चैत वैशाखकै बेला लेकाली काफल पाकेर राताम्य बनेका लेक र फूलको रस चुस्न झुम्मिरहेका चराहरूको दृश्यलाई मनमनै खेलाएँ । सेताम्य बनेका छायानाथ, चङ्खेलीलगायतका हिउँपहाड र रारा ताललाई एकैपटक क्यामेरामा कैद गर्दा मन झन् पुलकित भयो ।
त्यहीबेलासम्म मेयर विद्यासुन्दर शाक्य, सुचिता शाक्य (मेयरपत्नी) उपमेयर हरिप्रभा खड्गी श्रेष्ठ, प्रकाश श्रेष्ठ (उपमेयर पति) वडाध्यक्षहरू भरतलाल श्रेष्ठ, हीरालाल तण्डुकार, ईश्वरमान डड्ढोल, मचाराजा महर्जन, शोभा सापकोटा, दीपेन्द्र लामालगायत आ–आफ्नै तालमा रमाइरहनुभएको थियो । काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवाली पनि क्षितिजमा मुस्कुराइरहेको हिमाललाई समेत कैद गर्दै एक हातले राराको पानी छोएर सेल्फीमा रमाइरहनुभएको थियो ।
पारिसम्म जानका लागि दुईवटा डुड्ढाको व्यवस्था गरिएको रहेछ । एउटा डुड्ढामा मेयर शाक्य, मेयरपत्नी र वडाध्यक्षहरू चढिसक्नुभएको थियो । हामी चढ्ने डुड्ढा केही बेरपछि आयो । त्यसैबेला मेयर शाक्यहरू चढेको डुड्ढा सिधा जानुपर्नेमा हावाले तलतल लग्यो ।
हाम्रो सुरक्षाका लागि गमगढीबाटै आउनुभएका प्रहरी सहायक निरीक्षक वेदबहादुर ठकुरी र सेनाका केही जवान साथीहरूले मध्याह्नको समय बेस्सरी हावा चल्ने भएकाले डुड्ढाको यात्रा अलिक बढी जोखिम हुने भनेपछि मनमा केही चस्को पस्यो । राराकिनारै–किनार हिँड्दै जाँदा पनि करिब डेढ घण्टामा पारि पुगिने भनेपछि मैले बाँकी सबैलाई हिँडेर जाऔँ भन्ने प्रस्ताव राखेँ । प्रमुख प्रशासकीय अधिकृत ज्ञवाली, उपमेयर श्रेष्ठ र कर्मचारी शम्भु नेपाल कुनै हालतमा पनि हिँडेर जान मञ्जुर हुनुभएन ।
अन्तिममा उहाँहरू घोडामा जानुभयो । उपमेयर पति प्रकाश श्रेष्ठ, कानुन विभागका प्रमुख आचार्य, म र क्यामेरा पर्सन सुहममानसिंह प्रधान हिँडेरै जाने भयौँ । हाम्रो साथमा प्रहरी सहायक निरीक्षक ठकुरी पनि हुनुहुन्थ्यो । करिब डेढ घण्टाको रारा सर्किट ट्रेलको यात्रामा थुप्रैपटक हिउँका डल्लासँग लुकामारी खेल्दै त कहिले हिउँमै चिप्ली खेल्दै निजारखोलामा पुगियो ।
राराको निकास यही हो भन्दै ठकुरीले जानकारी दिनुभएपछि पुलमाथिबाटै केही तस्बिर लिएँ । छाप्री महादेव हुँदै हामी डाँफे होटेल पुग्दा घाम अस्ताउन लागेको थियो भने जाडोको क्रम बिस्तारै–बिस्तारै बढ्दै थियो ।
हामी पुगेको करिब आधा घण्टापछि मेयर शाक्यसहितको टोली पनि डाँफे होटलमै आइपुग्यो । गुल्मपति कार्की पनि त्यहीँ टुप्लुक्क आइपुग्नुभयो । उहाँले हामी सबैलाई स्वागत गर्नुभयो । केही बेरको आरामपछि मेयर शाक्यले १६७ मिटर गहिरो राराको किनारमा पुगेर केही तस्बिर लिने भनेपछि म पनि उहाँको पछि–पछि लागेँ ।
राराकिनारमा पुगेपछि मलाई आक्कल–झुक्कल सुने–पढेको पुस्तौँपुस्तादेखि रारातालसँगै आफ्नो थातथलो बनाएका रारा, छाप्रु र मुर्मा गाउँका बासिन्दाबारे बुझ्ने हुटहुटी जाग्यो । २०३२ सालमा सरकारले रारालाई राष्ट्रिय निकुञ्ज घोषणा गरेपछि रारासँगै जोडिएका ती तीन बस्तीमध्ये रारा र छाप्रुका करिब डेढ सय परिवारले गाउँ छोड्नुपरेको थियो । कार्कीले रारा, छाप्रु छाडेका बासिन्दाबारे सामान्य जानकारी दिएपछि मन केही हलुड्ढो भयो ।
जाडोको क्रम बढ्दै थियो । जाडोको औषधि कि रुई (सिरक) कि फुई (आगो) भन्ने तथ्यसँग सहमत हुँदै फुईको खोजीमा डाँफे होटलकै माटोको ठूलो ढिस्कोसहितको चुल्होतर्फ मोडिएँ । त्यहाँ पूर्णादेवी बम मुगेलीपारामै घरी चियाको किट्ली उचाल्ने त घरी अण्डाको डेक्चीलाई चुल्होबाट बाहिर निकाल्ने गर्दै आगो घोचिरहनुभएको थियो ।
पञ्जा झिकेर हातलाई न्यानो बनाउँदै पूर्णादेवीसँग परिचय गर्दै जाँदा थाहा भयो उहाँ मुगुका सांसद गोपाल बमकी पत्नी हुनुहुँदोरहेछ । श्रममा विश्वास गर्ने पूर्णादेवीको प्रयासबाट म पूर्ण रूपमा प्रभावित भएँ ।
पहिलो रात कोही डाँफे होटल र कोही गुल्मको अतिथि कक्षामा बितायौँ । अघिल्लो दिन नै गुल्मपति कार्कीले बिहानको खाजा व्यारेकमा व्यवस्था गरेका छौँ भनेपछि हामी सबै त्यहीँ जम्मा भयौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ वर्ष २०७५ को अवसरमा कर्णाली रारा पर्यटन वर्ष शुभारम्भ गरेकै स्थानमा हामीलाई बिहानको खाजाको व्यवस्था गरिएको रहेछ । नास्तापछि आगन्तुक पुस्तिकामा प्रमुख शाक्यले न्यानो आतिथ्यका लागि सबैलाई धन्यवादसहित केही शब्दहरू लेख्नुभयो ।
स्थानीय उत्पादन कोदोको रोटी, मह र सिमीको तरकारी स्वादसँग खाँदै गर्दा प्रमुख प्रशासकीय अधिकृत ज्ञवालीले ठट्ट्यौलीपारामा ‘राजधानीमा विभिन्न मिसावटसहितका खाना खाने बानी परेका हाम्रा लागि यो त गज्जबै भयो नि ?’ भन्दा सबैजनाले ज्ञवालीको लोलीमा बोली मिलाउनुभयो ।
राराकिनारमा स्थानीय उत्पादनको स्वाद लिँदै गर्दा प्रधानमन्त्री ओलीले २०७५ सालको नयाँ वर्षको दिन रारा पर्यटन वर्ष शुभारम्भ गर्दा उल्लेख गर्नुभएका केही भावुक शब्द आँखावरिपरि नाच्न थाले । प्रधानमन्त्री ओलीले राराकिनारबाट व्यक्त गर्नुभएको सन्देश यस्तो थियो– नयाँ वर्षको पहिलो बिहानी प्रकृतिको यस अनुपम सिर्जना राराको आँगनमा उभिएर यहाँहरूलाई सम्बोधन गर्न पाउँदा निकै खुसी लागेको छ । रारा आफँैमा प्रतीक हो– हाम्रो प्राकृतिक सौन्दर्य र वैभवको, हाम्रो सम्भावना र भविष्यको । अपरिमित प्राकृतिक र साँस्कृतिक सम्पदा, अनेकौँ सामाजिक र जैविक विविधता र जीवन्त एवम् स्वाभिमानी जनता– समृद्धिका लागि आवश्यक सबै कुरा हामीसँग छन् । तर, अर्को पृथक परिदृश्य पनि मेरा आँखामा नाचिरहेको छ– नानीहरूका लागि गतिला विद्यालय र त्यहाँसम्म पुग्न भरपर्दा बाटा र पुल छैनन् । सुत्केरी व्यथाले च्यापेका आमाहरूलाई बचाउन हामीसँग पर्याप्त मानवीय र भौतिक संशाधन छैनन् । कर्णालीलगायत नदी अविरल बगिरहेका छन्– तर गाउँ–बस्ती अँध्यारै र खेतबारी बाँझै छन् । अनि गर्भभित्र अपार सम्भावना बोकेर पनि मानव सुचकाङ्कको पुछारमा रहेको यो कर्णाली प्रदेश ठूलो सामाजिक आर्थिक रूपान्तरणको पर्खाइमा छ ।
एकचोटि सोचौँ– हिउँ पग्लिएर हामीकहाँ ओखतीको जरा पखाल्दै पानी बग्छ । औषधि पखाल्दै–पखाल्दै बगेको पानी खनिजसँग मिसिँंदै मिनरल पानी हुँदै आउँछ । हाम्रो हावा र पानी यसरी औषधीय छन् । जहाँको खानेकुरा सबैथोक पवित्र छ, प्रदूषित छैन, देशमा जडीबुटी छ, ढुड्ढा सिलाजित हुन्छ, माटो सिम्रिक हुन्छ, जुन देशमा उम्रिने झार यार्सागुम्बा, पाँचऔँले, सञ्जीवनी हुन्छ, त्यस देशमा औषधिको अभावमा मान्छे मर्ने ? यो कसरी हुन्छ ? अब यो स्थितिको अन्त्य गर्नैपर्छ ।
रारा यात्रामा प्रधानमन्त्रीका यी शब्दहरू मेरा कानमा पटक–पटक ठोक्किए । मिलिचौरमा घोडाको करेली तान्दै गरेका युवा, जुम्लामा जूनेली खोज्दै गरेका बा(लबालिका, कनकासुन्दरी मन्दिरको उकालो चढ्दा भेटिएकी सपरा बुढा, तातोपानीमा ओखलमा मसला पिस्दै गरेका महिला, दाउराको भारी बोकेर उक्लिँदै गरेका जुम्लेली सबै–सबैका गाथाजस्तो लाग्यो प्रधानमन्त्रीको त्यो सम्बोधन ।
केहीबेरको कुराकानीपछि हामी फेरि डुड्ढाको सयरमा निस्कियौँ । गुल्मपति कार्कीले नै गरेको व्यवस्थापनअनुसार केही जवान र सूचना–प्रविधि हेर्ने रविना ज्ञवालीसहितको टोली डुड्ढा सयरमा निस्कियो । रारामा आफ्नै तालमा तैरिरहेको डुड्ढाबाटै हाम्रो स्वागतमा ज्ञवालीले ‘मुगु बजार घुमने, राराताल घुमने, कहिले होला खै फेरि हाम्रो भेट हुने’ भन्दै गीत गाउँदा हामी सबैले ताली बजाएर स्वागत ग¥यौँ ।
नजिकका अग्ला पहाडलाई छिचोल्दै सूर्यका मधुरकिरण रारामा प्रतिविम्बित हुँदै थिए । हामी त्यहाँबाट बिदावारी भई गमगढीको यात्राका लागि अगाडि बढ्यौँ । करिब एक घण्टा घोडा र फेरि डेढ घण्टाको जिप यात्रापछि हामी गमगढी पुग्यौँ । गमगढीमा छायानाथ रारा नगरपालिकाका प्रमुख हरिजड्ढ शाहीलगायतले स्वागत गर्नुभयो । स्वागत तथा अन्तक्र्रिया कार्यक्रममा सहभागी भएपछि हामी त्यो रात त्यहीँको होटेलमा बास बस्यौँ ।
भोलिपल्ट बिहानै जिल्ला समन्वय समितिका प्रमुख पूर्णबहादुर रोकायाले सरकारी निवासमै काठमाडौँ महानगरपालिकाका प्रमुख शाक्यलगायतलाई स्वागत गर्नुभयो । उहाँले कर्णालीको कथा–पीडा बेचेर डलर कमाउने एनजीओ, आईएनजीओ र विभिन्न सङ्घ संस्थाप्रति आक्रोश व्यक्त गर्नुभयो । कर्णाली जडीबुटी र पर्यटनका लागि धनी रहे पनि प्रचारको अभावमा ओझेल परेको दुःखेसो व्यक्त गर्नुभयो । कुट्की, सतुवा, जटामसी, पाँचऔँले, पदमचाल, गुच्ची च्याउ कर्णालीका जनताका लागि सञ्जीवनी भएको दलिल पेस गर्दा उहाँको मुहारमा खुसी सञ्चार भएको देखिन्थ्यो ।
रोकायाले छुट्ने बेलामा चङ्खेली हिमाललाई पृष्ठभूमिमा राखेर तस्बिर खिच्न आग्रह गर्नुभयो । रारा, चुचेमार, मुर्माटप, कर्णाली नदी, मुगु, हुम्ला र जुम्ला जिल्लाका केही स्थानको दृश्यावलोकन गर्न सकिने त्यो हिमालको वर्णन रोकायाले गर्दा मन खुसीले गद्गद् भयो । २०४० सालमा राजा वीरेन्द्र सिकार खेल्न आएको इतिहास कोट्याउँदै उहाँले नेपाली एक रुपियाँको नोटमा अङ्कित चङ्खेली हिमाल प्रचार–प्रसारको अभावमा ओझेल परेको पनि गुनासो गर्न भ्याउनुभयो ।
त्यही दिन नेपालगन्ज पुगेर काठमाडौँ फर्किनुपर्ने कार्यतालिका भएकाले धेरै समय त्यहाँ घुमफिरको अवसर मिलेन । तर, थोरै भए पनि गमगढीको जनजीवनसँग साक्षात्कार गर्ने अवसर भने प्राप्त भयो । हामी गमगढीबाट ताल्चा विमानस्थल पुगी तारा एयरबाटै नेपालगन्ज फर्किंदा जहाजले फेरि रारालाई एक फन्को लगायो । हामी सबै बाइ बाइ रारा भन्दै मनभरि राराको माया बोकेर नेपालगन्जतर्फ मोडियौँ ।
नेपालीरैबार । २०७७ माघ ३, शनिबार