काठमाडौं । चालु आर्थिक वर्षको पहिलो ६ महिनामा विकास खर्च १४ प्रतिशतमा सीमित भएको छ । महालेखा नियन्त्रकको कार्यालयको प्रारम्भिक आँकडा अनुसार यो वर्षको पुस मसान्तसम्म १४.०१ प्रतिशत पुँजीगत खर्च भएको हो ।
यो वर्ष पुँजीगत खर्चतर्फ ३ खर्ब ५२ अर्ब ९१ करोड रुपैयाँ विनियोजन गरिएकोमा यो अवधिमा ४९ अर्ब ४२ करोड रुपैयाँ मात्रै खर्च भएको छ । महालेखाको प्रारम्भिक तथ्यांक प्राप्त भएको यो खर्च आर्थिक वर्ष २०७३/७४ पछिकै कम हो । सो वर्ष ११.३० प्रतिशत मात्रै खर्च भएको थियो । त्यसपछिको ३ वर्षको पुस मसान्तमा क्रमशः १४.३५ प्रतिशत, १७.७० प्रतिशत र १५.४० प्रतिशत खर्च भएको थियो ।
यो तथ्यांक कोष तथा लेखा नियन्त्रक कार्यालयहरुले दिएको विवरण अनुसार भएकोले अर्धवार्षिक समीक्षामा हुँदा यो विवरणमा केही समायोजन हुनसक्ने कार्यालयले जनाएको छ । यो वर्ष कुल बजेटको आकारसँगै पुँजीगत खर्चको आकार समेत घटाइएको थियो ।
आर्थिक वर्ष २०७६/७७ मा पुँजीगत खर्चको आकार ४ खर्ब ८ अर्ब रुपैयाँ रहेकोमा यो वर्ष यस्तो आकार घटाएर ३ खर्ब ५२ अर्ब रुपैयाँमा झारिएको हो । बजेटको आकार घट्दा खर्चको हिस्सा बढाउन सहयोग पुग्ने भए पनि कोभिडका कारण यो वर्ष यस्तो खर्च घनै घट्न पुगको हो ।
नेपालीरैबार । २०७७ माघ ३, शनिबार