जुम्ला । जुम्लामा फुजी स्याउखेती सफल भएको छ । जुम्ली एग्रो फर्म र हाम्रो सहकारी प्रालिले चार वर्षअघि १० वर्षका लागि चन्दननाथ मन्दिरको २० हजार वर्गमिटर क्षेत्रफल जग्गा लिजमा लिएर स्याउखेती सुरु गरेको थियो । सुरुवातमा ‘फुजी, गोल्डेन डेलिसियस, रेड चिप, गाला र जोर्डन गरी पाँच प्रकारका स्याउ लगाइएको जुम्ला एग्रो फर्म जुम्लाका व्यवस्थापक रेश्मा श्रेष्ठले बताइन् ।
त्यसमध्ये प्रतिगोटा १३ सय खर्चेर ३५ सय फुजी स्याउको बिरुवा लगाएको थियो । प्रधानमन्त्री कृषि परियोजना स्याउ सुपर जोन जुम्लाका प्रमुख नवराज भण्डारीका अनुसार जुम्लामा इटालियन फुजी जातको स्याउखेती सुरु भएको चार–पाँच वर्ष भयो । फुजीखेती जुम्लामा सफल भएपछि स्थानीय कृषक फुजी जातको स्याउखेतीमै आकर्षित भएका छन् । यस वर्ष जुम्लाको गुठीचौर गाउँपालिकाको गुठीचौर एग्रो फर्मले एक लाख ५० हजार वर्गमिटरमा ३० देखि ४० हजार फुजी स्याउको बिरुवा रोप्ने तयारी गरेको छ ।
त्यस्तै, तातोपानी गाउँपालिका हियाखोला गाउँका १ लाख ३० हजार वर्गमिटर क्षेत्रफल भएको जमिनमा ४ हजार फुजी जातको स्याउका बिरुवा रोप्ने तयारी छ । स्याउखेतीमा कृषि कार्यालय र सुपर जोनले बिरुवा र साना सिँचाइ घेरबारमा केही अनुदान पनि दिन तयारी गरिएको उनले बताए । उनले भने ‘फुजी स्याउ प्रतिबिरुवा एक हजार, स्थानीय जातको स्याउको प्रतिबिरुवा ७० रुपैयाँ र ओखर प्रतिबिरुवा सात सय जिल्ला दररेट कायम गरेको छ ।’ जिल्ला दररेटअनुसार कृषकले प्रतिबिरुवामा ५० प्रतिशत अनुदान प्राप्त गरेका छन् ।
स्याउका बिरुवा निर्यात
कृषकले उत्पादन गरेका स्याउका बिरुवा जिल्लाबाहिर माग हुन थालेका छन् । यो वर्ष पहिलोपटक दाङमा पनि जुम्लाको स्याउका बिरुवा बिक्री भएका छन् । सिंजाका किसान हंस कठायतले ६ हजार बिरुवा बेचेका छन् । स्थानीय कृषक गोपाल रोकायाले भने, ‘नर्सरीबाटै ६ हजार बिरुवा दुईवटा गाडीमा पठाइयो किसानले सबै बिरुवाको नगद नर्सरीमै पाए ।’ नर्सरीमै ४० रुपैयाँ प्रतिबिरुवा बेचेको किसान बताउँछन् । फाटफुट किन्दा प्रतिबिरुवा ५० रुपैयाँ पर्छ । यहाँको बिरुवा तत्कालीन कर्णालीका पाँच जिल्ला तथा बझाङ, बाजुरा, दैलेख, सोलुखुम्बु, ताप्लेजुङ, डोटी र जाजरकोटसम्म बिक्री हुन्छ ।
५० प्रतिशत गुणस्तरहीन बिरुवा
१ सय १० वटा नर्सरी रहेको जुम्लामा ७५ नर्सरीले सक्रिय रूपमा स्याउको बिरुवा उत्पादन गरिरहेका छन् । सुपरजोन जुम्लाका प्रमुख नवराज भण्डारीका अनुसार जुम्लामा स्थानीय जातको स्याउका सात लाख बिरुवा छन् । तर, यसमा ५० प्रतिशत बिरुवा काम नलाग्ने गुणस्तरहीन भेटिएको छ । गुणस्तरहीन बिरुवाले पाँच वर्षपछि कृषकलाई घाटा हुने र कृषक सचेत हुन आवश्यक रहेको उनको भनाइ छ ।
स्याउको बिरुवा स्थानीय कृषकको प्रमुख आम्दानीको स्रोत रहेको जिल्ला कृषि विकास कार्यालय जुम्लाका प्रमुख बालकराम देवकोटाले बताए । हाल जिल्लाको सिंजा क्षेत्र र गुठीचौर क्षेत्रबाट स्याउ निर्यात भइरहेको छ । ३ हजार ८ सय हेक्टरमा स्याउखेती थालिएकामा १ हजार ५ सय हेक्टरका स्याउले फल दिन थालेका छन् ।
फुजी स्याउमा १३ करोड लगानी
गुठीचौर एग्रो फर्मका व्यवस्थापक केसीबहादुर भण्डारीका अनुसार झन्डै १३ करोड लगानीमा फुजी जातको स्याउखेती गर्ने योजना छ । स्थानीय ९५ जनाको जग्गा २० वर्ष लिजमा लिएर फुजी स्याउखेती गर्न थालिको हो । उनले भने ‘स्याउखेतीका लागि भिरालो जमिनभन्दा समथर फाँट आवश्यक पर्ने भएकाले ५० प्रतिशत जमिन समथर बनाएको छ ।’
घेरबारको काम ८० प्रतिशत सम्पन्न भएको छ । फागुन–चैतमा सबै सम्पन्न गरी ३० देखि ४० हजार फुजी स्याउका बिरुवा रोप्ने तयारी गरिएको उनले बताए । फुजी स्याउबाट आकर्षक आम्दानी भएपछि युवाहरूलाई पनि स्वरोजगार बनाउने उद्देश्यका साथ परियोजना सञ्चालन गर्न थालिएको उनले बताए ।
जुम्लामा स्याउको इतिहास
जुम्लामा २०२२ देखि स्याउखेती हुन थालेको जानकारहरू बताउँछन् । स्थानीय किसानले भारतको कास्मिरबाट स्याउका बिरुवा ल्याएर रोपेपछि स्याउखेती सुरु भएको थियो । अहिले जिल्लाभरि नै स्याउखेती हुन्छ । ०३२ मा रानी ऐश्वर्यको जुम्ला भ्रमण भएपछि कार्तिकस्वामी गाउँ पञ्चायतको गैरागाउँँमा स्याउको बागवानी केन्द्र स्थापना भएको थियो । हाल यो क्षेत्र चन्दननाथ नगरपालिकाभित्र पर्छ । बागवानी केन्द्रले विसं २०३४ मा स्याउका बिरुवा उत्पादन गर्न थालेको थियो । तर, महतगाउँका कृषक स्वर्गीय पदमबहादुुर महतको पुरानै स्याउ बगैँचा थियो ।
भारतको कास्मिरबाट स्याउका बिरुवा ल्याएर रोपेका थिए । उनी जुम्लामा स्याउ भित्र्याउने पहिलो किसान हुन् । भूमिसुधार अधिकृतका रूपमा राष्ट्रसेवा गरेका महतले कृषि क्षेत्रको उत्पादनले नै जुम्लाको भविष्य राम्रो हुने भन्दै सरकारी जागिर छाडेर नांगोडाँडामा स्याउको नमुना फारम बनाएका थिए । एसियाकै चौथो ठूलो सूचीकृत बगैँचामा तत्कालीन राजा वीरेन्द्रदेखि देशको उच्च सरकारी ओहदामा रहेका व्यक्तिले भ्रमणसमेत गर्ने गरेका थिए । जिल्लाको चौधौ जिल्ला परिषद्ले एक घर एक बगैँचा कार्यक्रम अगाडि सा¥यो । बिरुवा वितरण, काँटछाँट र प्राविधिक सहयोग उपलब्ध भयो । त्यसपछि स्याउखेतीको घनीभूत रूपमा विकास भयो ।
२०६४ मा जुम्लालाई अर्गानिक जिल्लाका रूपमा घोषणा गरियो । त्यसले जुम्ली स्याउको महत्व झनै उँचो बनायो । अहिले जुम्लामा १२ जातका स्याउ गोेल्डेन डेलिसेस, रेड डेलिसेस, रोयल डेलिसेस, जोनाथान, कक्स ओरेन्ज टिपिन, म्याकन्ज, पछिल्लो समयमा इटालियन फुजी र गाला जातका स्याउ उत्पादन हुन्छ । दशकअघिदेखि सुर्खेत जुम्ला कर्णाली राजमार्गले जोडिएपछि यहाँका किसान स्याउखेतीतर्फ आकर्षित भएका छन् । पछिल्लो समय राजमार्ग कालोपत्रे भएपछि जिल्लाबाहिर सजिलै निर्यात हुने भएकाले पनि जुम्ली किसानको आकर्षण स्याउखेतीमा भएको पाइन्छ । @karnalipostdaily
नेपालीरैबार । २०७७ माघ १२, सोमबार