वीरगञ्ज । साल्टट्रेडिङ कर्पोरेशन लिमिटेडले तेस्रो मुलुकबाट आयात गरी नेपाल भित्र्याएको छ हजार ६०० मेट्रिक टन रासायनिक मलमध्ये २८ करोड मूल्य बराबरको छ हजार २५० मेट्रिक टन मल भिजेर काम नलाग्ने भएको छ।
भदौ ६ गते वीरगञ्जको सिर्सियास्थित सुक्खा बन्दरगाह भन्सार कार्यालयमा आएको पाँच महिना भइसक्दा सबै मल पानीले भिजेर डल्ला परेकाले भन्सार जाँचपास हुनसकेको छैन। २८ करोड मूल्य बराबरको एक लाख २५ हजार बोरा रहेको उक्त मल काम नलाग्ने भएपछि यसको जिम्मेवारी कर्पोरेशनले लिन नसक्ने क्षेत्रीय प्रबन्धक अमोज लामिछानेले बताए।
कम्पनीले आयातकर्ता स्वीस सिङ्गापुरमार्फत उक्त मल मगाएको हो। सो मल सुक्खा बन्दरगाह भन्सार कार्यालयको ‘यार्ड’मा यत्रतत्र छरिएको अवस्थामा छ। उक्त मलको आपूर्तिकर्ता स्वीस सिङ्गापुरमार्फत साल्टट्रेडिङ कर्पोरेशनले भारतको कोलकाता बन्दरगाहबाट रेलमार्ग भएर वीरगञ्जको सुक्खा बन्दरगाह यार्डमा ल्याएको हो तर उक्त मल भिजेको र डल्लो परेकाले भन्सार जाँचपास गर्न अयोग्य भएको भनेर जाँचपास हुनसकेको छैन।
नेपालीरैबार । २०७७ माघ २१, बुधबार