सुर्खेत । पूर्वाधार विकास निर्देशनालय कर्णाली प्रदेश सुर्खेतले ९२ करोड ३७ लाख बजेटमा ९७ वटा आयोजना निर्माण गर्न थालिएको जनाएको छ । निर्देशनालयले पहिलो चौमासिकमा राजधानी सुर्खेतको वीरेन्द्रनगरमा चार किलोमिटर पक्की सडक निर्माण गरेको छ ।
सुर्खेतमा मात्रै ८५ किलोमिटर सडक, आठ मोटरेवल पुल, दुई झोलुङ्गे पुल निर्माण गर्न थालिएको पूर्वाधार निर्देशनालय कर्णाली प्रदेश सुर्खेतका निर्देशक वासुदेव पौडेलले जानकारी दिए । “यो असार मसान्तसम्म हामीले सुर्खेत जिल्लामा ३२ किलोमिटर सडक कालोपत्रे गर्ने लक्ष्य लिएका छौं,” उनले भने, “७० किलोमिटर सडकमा नाली बनाउने, ग्राभेलिङ् गर्ने र बाटोको स्तरवृद्धि हुनेछ ।”
अहिले जाडो समयमा कालोपत्रे गर्न नमिल्ने भएकोले अब फागुन महिनादेखि सडक कालोपत्रेको काम धमाधम हुने उनले बताए । निर्देशक पौडेलका अनुसार चालु आव.०७७/०७८ भित्रै ५० किलोमिटर नयाँ ट्रयाक खोल्ने र जनता आवास कार्यक्रम अन्तरगत ५०० घर निर्माण हुनेछन् । निर्देशनालयले निर्देशित कायतालिका अनुसार काम अघि बढेको र लक्ष्य बमोजिम आयोजनाहरु सम्पन्न हुने जानकारी दिएको छ ।
नेपालीरैबार । २०७७ माघ २८, बुधबार