सुर्खेतकाे शहिद पार्क र पदमार्ग टिकटक हब बन्दै

सुर्खेत । कर्णाली सरकारले सुर्खेतको वीरेन्द्रनगर–४ मा प्रदेश प्राप्तिको आन्दोलनका सहिदको स्मृतिमा पार्क निर्माण ग¥यो । यो पार्क निर्माणसँगै नजिकै भएर गढी जोड्ने पदमार्ग पनि निर्माण गरेको छ । वन तथा वातावरण निर्देशनालयले वीरेन्द्रनगर नगरपालिकाको प्राविधिक सहयोगमा भैरम सामुदायिक वन क्षेत्रमा पार्क निर्माण सम्पन्न हुन नपाउँदै आन्तरिक पर्यटकहरुको घुइचो लाग्ने गरेको छ ।

छुट्टै प्रदेशको माग राखी संविधान जारी हुनुपूर्व यस क्षेत्रमा भएको आन्दोलनमा सुर्खेतका तीन र जुम्लाका एकजनाले ज्यान गुमाएका थिए । सुर्खेत, वीरेन्द्रनगरका टीकाराम गौतम, गोपालसिं रजवार, याम बीसी र जुम्लाका हरिबहादुर कुुँवरलाई प्रदेश आन्दोलनका सहिदका रूपमा कर्णाली प्रदेशले सम्झने गरेको छ ।

शुरुमा यी चार जना सहिदको सम्झनामा प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयअन्तर्गतको वन तथा वातावरण निर्देशनालयले पार्क निर्माणको योजना अघि बढाएको थियो । तर चार जना मात्रै नभएर विभिन्न समयमा भएका आन्दोलनमा ज्यान गुमाएका सबै शहिदहरुको सम्झाना लागि स्तभ नै बनाएको हो ।

निर्माणको काम जारी रहँदा नयाँ युवापुस्ताहरुलाई अहिले यो पार्क टिकटक बनाउने हब बनेको छ । जंगलको छेउमा रहेको शान्त र एकान्त भगेरी चौरमा निर्माण भएको पार्कमा सार्वजनिक विदाको दिन सयौं नागरिकहरु पुग्ने गरेका छन् ।

योसँगै पार्कको पश्चिमबाट शुरु भएर उत्तरतर्फहुँदै गढी जोड्ने पदमार्ग पनि आन्तरिक पर्यटकहरुको रोजाइमा पर्ने गरेको छ । भैरम सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष अमरबहादुर कार्कीले बिदाको दिनमा पार्क हेर्न आउनेको घुइँचो लागेको बताए ।

‘‘सहिदहरुकोे सम्मानमा वन क्षेत्रभित्र पार्क निर्माण गर्न दिएका हौँ । पार्क बनेसँगै घुमफिर गर्न आउनेको संख्या धेरै छ,’’ उनले भने, ‘‘पार्कमा सबै संरचना नबन्दै यहाँ आएर फोटोरसेल्फी खिच्न र टिकटक बनाउनेको थामिनसक्नु भिड छ ।’’

अभियान निर्माण सेवाले एक करोड १३ लाख ५१ हजार रुपैयाँ लागतमा पार्कको पहिलो चरणको काम सम्पन्न गरेको निर्देशनालयले जनाएको छ ।

पहिलो चरणमा पार्कमा स्तम्भ, बगैँचा, पर्खाल निर्माण गरिएको छ । दोस्रो चरणमा वनस्पति उद्यानलगायत निर्माण गर्ने तयारी छ । प्रदेश वन निर्देशक शिवराम अधिकारीले बहुवर्षीय योजना भएकाले बाँकी संरचना थपिँदै जाने बताए ।

पार्क निर्माण भए पनि संरक्षण कसले गर्ने भन्ने अन्योल पनि कायमै छ । वन उपभोक्ता समितिले तत्काल पार्क हस्तान्तरण गर्न वन तथा वातावरण निर्देशनालय र वीरेन्द्रनगर नगरपालिकालाई आग्रह गरेको छ ।

तर, निर्देशनालयले भने वन समूहको कार्ययोजनामै पार्क स्वीकृति भएकाले सामुदायिक वनले सुरक्षा एवं संरक्षणको जिम्मा लिनुपर्ने बताएको छ ।

तपाईको प्रतिक्रिया