विकासले कोल्टे फेर्दै गरेको सुर्खेतको लेकबेशी नगरपालिकाले विकास निर्माणका कामलाई तीब्रता दिएको छ । १० वडा रहेको यस नगरपालिकामा कृषि तथा पशुपंक्षी व्यवयायमार्फत् आत्मनिर्भर बन्ने बलियो सम्भावना छ । तर यहाँको शिक्षा, स्वास्थ्य, खानेपानी, विद्युत लगायत समग्र क्षेत्रको विकासमा जोड दिन जरुरी छ । वडा तथा हरेक गाउँटोलसम्म पक्की सडक विस्तार गर्नसके खाद्यान्न तथा अन्य सामग्री ढुवानीमा सहज हुने देखिन्छ ।
यसैबीच सडक, स्वास्थ्य र कृषिलाई प्राथमिकतामा राखेर रोजगारी सिर्जनाका कार्यक्रम सञ्चालन गरिहेको नगरप्रमुख गगन सिं सुनारले बताए । लेकबेशीका तीन वटा वडालाई व्यवसायिक टिम्मुर र कागती पकेट क्षेत्रको रुपमा विकास गरिने उनको भनाइ छ । उनीसँग गरिएको कुराकानी सारांशः
तपाईं निर्वाचित भएपछि नगर विकासका लागि के कस्ता काम गर्नुभयो ?
निर्वाचित भएपछि धेरै काम गर्न सकिन्छ होला भन्ने सोचेको थिएँ । तर ऐन, कानून, बजेट लगाएतको समस्याले विकासमा चुनौती छ । जनअपेक्षा अनुसार काम नभए पनि परिवर्तन चाँही धेरै भएका छन् । म निर्वाचित हुनुपुर्व शिक्षा क्षेत्रमा दरबन्दी न्यून थिए । पढाइ अवस्था राम्रो थिएन । अहिले कम्तिमा पनि विद्यालय व्यवस्थापन समिति सक्रिय भएका छन् । स्वास्थ्यका क्षेत्रमा पनि हिजोको भन्दा अहिले धेरै फरक छ । तरकारी, फलफूल खेती गरेर जीविकोपार्जन गर्नुपर्छ सधैं कामका लागि कालापहाड जान हुन्न भन्ने नागरिकको सोचाइमा समेत परीवर्तन आएको छ । यस्तै हरेक क्षेत्रमा पहिलेको भन्दा परीवर्तन तथा विकास भएको छ ।
पहिले पहिले प्रत्येक वडामा जाने सडक थिएन । अहिले प्रत्येक वडा कार्यालयसम्म पुग्ने गरी सडक विस्तार गरेका छौ । अब यसलाई पिच तथा स्तोरोन्नत्ती गर्न सकिएको छैन । धुलियाविट–भेडाबारी सडक मदन भण्डारी लोकमार्गमा परेकाले यसको डिपिआर समेत भएको छ । त्यसैले सबैभन्दा पहिलो कुरा भनेकै तत्कालै धुलियाविट–भेडाबारी सडक पक्कि भयो र यहाँ गाडी सञ्चालन भइदिए भने यहाँका जनतालाई ठूलो राहत हुने थियो । यसका लागि मैले पहल पनि गरीरहेको छुँ । यो सडक पक्की गर्न अत्यन्तै जरुरी देखिन्छ ।
धुलियाविट–भेडाबारी सडक पक्की भयो भने अन्य वडाभित्रका सडक विस्तारै पक्की बनाउन सहज हुने थियो । तर सबै बस्तीसम्म सडक पुगेको छैन । यो मेरो बाँकी कार्यकालमै सम्पन्न हुनेछ । सबै वडामा पक्की सडक र गाउँ टोलसम्म एम्बुलेन्स चल्ने गरी सडक बनाउँदैछौं ।
आम्दानीको हिसाबले नगरपालिकाभित्र सबैभन्दा बढी उत्पादन हुने वस्तु के–के छन् ?
कृषिमा विशेष गरी तरकारी खेतीबाट नै बढी आम्दानी हुने भएकाले अहिले अधिकांश कृषक तरकारी खेतीमै आबद्ध छन् । पहिले मकै र धान खेती गथ्र्ये । तर लगानी अनुसार फाइदा नभएपछि कृषकले खेती छोड्दै गएका छन् ।
भने तरकारी बालीमा आलु, टमाटर, काउली, बन्दा लगाउँछन् । मकै र धान भन्दा तरकारीबाट फाइदा पनि बढी छ । तर अहिले निर्यात हुने गरी उत्पादन भएको छैन । यहाँ उत्पादित तरकारी, फलफूल, मासु, दुध तथा कृषिजन्य वस्तु यहाँ नै खपत भइरहेको छ ।
अब चाँही लेकवेशीको उत्पादन वीरेन्द्रनगर र छिन्चु लगायतका बजारमा निर्यात हुने गरी उत्पादन बढाउनेतर्फ लाग्नेछौं । यहाँको उत्पादन बढाउनुका साथै बजार व्यवस्थापननमा जोड दिन नगरपालिका तयार छ । यस्तै मासुजन्य वस्तुको माग अनुसार पाख्रापालन, कुखुरापालन पनि बढेको छ । दुधका लागि कृषकहरुले गाई, भैंसी फर्म सञ्चालन गरिरहेका छन् ।
बेरोजगारलाई कसरी रोजगारी दिनुहुन्छ त ?
सबैलाई प्रत्यक्ष रोजगारी दिन सकिदैंन । त्यसका लागि नगरपालिकाको स्रोत साधानले समेत भ्याउँदैन । तर विभिन्न स्वरोजगारमूलक कार्यक्रममार्फत् अप्रत्यक्ष रोजगारी सबैले पाएका छन् । कोरोना माहामारीका कारण धेरैले रोजगारी गुमाएर गाउँमै बसेका छन् । उनीहरुका लागि कृषि क्षेत्रमा लगानी गर्ने कार्यक्रम छन् ।
केही कार्यक्रम अहिले पनि सञ्चालन भइरहेका छन् । भने केही नयाँ कार्यक्रम बनाएका छौं । कृषि संकलन केन्द्र सञ्चालनमा ल्याएका छौं । यस्तै कृषि क्षेत्रमा अनुदानका कार्यक्रम छन् । भने कृषकको क्षमता अभिवृद्धिदेखि कृषिमा नविनतम प्रविधि हस्तान्त्रणका धेरै कार्यक्रम छन् । जसले बेरोजगारलाई गाउँमै रोजगारी सिर्जना हुने र खाद्यान्नमार्फत् स्थानीयवासी आत्मनिर्भर बन्ने देखिन्छ । यस्तै सडक लगाएत भौतिक संरचना निर्माणका काममा पनि रोजगारी पाइरहेका छन् ।
सरकारी कार्यालयको कमजोर भौतिक संरचनाको अवस्था कहिलेसम्म सुधार हुन्छ ?
यस विषयमा पहिलो कुरा त हाम्रो नगरपालिकाको नै भवन थिएन । अहिले काम चलाउ भवन बनाए पनि यो अझै प्रयाप्त छैन । विभिन्न शाखाका कर्मचारीलाई कोठा अभावले एउटै कोठामा बस्नुपर्ने अवस्था छ । भवन निर्माणका लागि भनेर एक करोड रकम विनियोजन भएको छ । त्यसैमा ८० लाख प्रदेश सरकारले दिएको छ ।
वडा कार्यालयहरु भाडाकै घरमा बसेका छन् । यस्तै विद्यालय भवनका लागि आदर्श माध्यामिक विद्यालय लेकपर्साको भवन बनाएका छौ । भने नेटा लगायतका कतिपय विद्यालयमा भवन निर्माण भएका छन् । भने कतिपय हुने चरणमा छन् । विशेष गरी विद्यालय र प्राथमिक स्वास्थ्य केन्द्रको भवनका लागि हामीसँग बजेट कम भएकाले प्रदेश सरकारसँग थप बजेट माग गर्नुपर्ने बाध्यता हुन्छ । यसरी नगरपालिकामा रहेका सरकारी कार्यालयको कमजोर भौतिक संरचनाको अवस्था छिट्टै समाधान हुनेछ ।
जनप्रतिनिधिले काम गर्न सकेनन् भन्ने आरोप छ । यसमा चुनौतीहरु के–के छन् ?
यसमा सबैभन्दा पहिलो कुरा जनप्रतिनिधिबीचकै समन्वय राम्रो नहुनु हो । दोस्रो कुरा जनताले आरोप लगाउनु भन्दा काम किन भएन र कसरी गर्न सकिन्छ भनेर सकारात्मक सोचाइको विकास गर्नुपर्छ । जानेबुझेकैबाट जनतालाई नगरपालिकामा धेरै बजेट छ । उनीहरु केही गर्दैनन् । तिमीहरुले पाएनौं । भन्ने जस्ता कुरा सुनाइ दिँदा जनताहरुले पनि यथार्थ नबुझेरै बोल्ने बानी बढेको हो ।
यस विषयमा मिडियाको महŒवपूर्ण भूमिका हुने भएकाले यहाँका राम्रा कामको प्रचार र सुधार्नुपर्ने कामबारे सुझाव दिन पनि अनुरोध गर्छु । पहिलो कुरा त प्राविधिक समस्या र दोस्रो कुरा बजेटको कमीले पनि सोचे अनुसारको काम गर्न सकिएको छैन । भने तेस्रो चुनौती भनेको जनतालाई विकासमा अपनत्व लिनसक्ने सोचाइ बनाउन नसक्नु हो । किनकी जनताले नगरको पंैसा र सरकारको पैंसा हो भनेर धेरै खर्च गर्नुपर्छ ।
काम जस्तो गरे पनि हुन्छ भन्ने सोच्छन् । यो हाम्रै लागि हो र दिगो विकास हुने गरी काम गरौं भन्ने भावना कसैसँग छैन । यसले पनि विकासका काममा धेरै चुनौती बढाउँछ । यस्तै योजना सञ्चालनका लागि समयमै प्राविधिक टोली र आवाश्यक बजेट नहुँदा पनि सोचे अनुसार काम हुँदैन । थोरै बजेटले आधा काम हुन्छ । अर्को बजेट आउन्जेल त्यो भत्किसक्छ । त्यसैले काम गर्न भने जति सजिलो छैन ।
अन्त्यमा, अब तपाईंको बाँकी कार्यकालमा गर्नुपर्ने काम तथा योजना के छन् ?
पहिलो कुरा विद्युत र खानेपानीको क्षेत्रमा समस्या अन्त्य गर्ने प्रयासमा छौं । धेरै ठाउँमा विद्युत पुगेको छैन । अहिले पनि विद्युत नपुग्दा त्यहाँका नागरिकलाई समस्या छ । विद्युत भएको ठाउँमा पनि राम्रोसँग आउँदैन । केही वर्षभित्रै यो समस्या पूर्णरुपमा हट्नेछ । गर्नुपर्ने धेरै छन् । दक्षजनशक्ति, आवाश्यक बजेट र सकारात्मक सहयोग भए धेरै गर्न सकिन्छ । मनले मात्रै भनेर हुँदैन । स्रोत साधान पनि उत्तिकै चाहिन्छ ।
अब समय पनि छोटो छ । यसैमा पनि मैले गर्नैपर्ने भनेको धुलियाविट–भेडाबारी सडक पक्कि बनाउन कसरी सकिन्छ भन्ने हो । यस विषयमा प्रदेश र संघमा पहल भइरहेको छ । यस्तै नगरपालिका र सबै वडामा प्रयाप्त भवन बनाएर हामी निस्किनुपर्छ ।
जसले गर्दा आउने जनप्रतिनिधिलाइ ढुक्क भएर काम गर्न सजिलो हुन्छ । लेकवेशीको माथिल्लो भाग अर्थात लेक भेगमा वडा नम्बर दुई, तीन र पाँच गरी तीन वटा वडालाई व्यवसायिक टिम्मुर र कागती खेतीमा परिणत गराएरै छोड्नेछुँ । उक्त तीन वडालाई पकेट क्षेत्रको रुपमा विकास गरिदैछ । बाँकी शिक्षा र स्वाथ्यका क्षेत्रमा भएका समस्या पनि समाधान हुनेछन् ।
सुरेश आचार्य । २०७७ फाल्गुन १३, बिहीबार