![](https://nepaliraibar.com/wp-content/uploads/2023/08/nraibar.gif)
सुर्खेत । सुर्खेतमा केही दिन अघि नाटकीयशैलीमा अपहरण गरिएको घटना बाहिरिएको छ । घटना यहीँ फागुन ५ गते साँझको हो । घटनाको करिब १६ घण्टापछि मात्रै प्रहरीले थाहाँ पाएको थियो । घटनाबारे प्रहरीले जानकारी पाएपछि अपहरणमा पर्ने व्यक्रि २३ घण्टापछि सकुशल अपहरणमुक्त भएका छन् ।
फागुन ५ गते साँझ सात बजे सल्यान दार्मा गाउँपालिका–४ भल्चौरका ३३ वर्षीय शेरबहादुर चन्द अपहरणमा परेका हुन् । सुर्खेतकै तीन जना युवाहरुले उनलाई काम छ भनेर बोलाए । उनलाई कारमा राखेर फोरलेन सडक खण्डको पिपिराहुँदै धुलियाविटतर्फ लगियो । तर चन्दले किन आफूहरुलाई कारमा राखेर कता लिन लागेको हो ? भनेर प्रश्न गरे । चन्दलाई कुनै जानकारी गराइएन ।
‘उहाँलाई चुपलाग भन्दै कारमा बसाएछन्,’ जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपी एवम् प्रवक्ता रामप्रसाद घर्तीले भन्नुभयो, ‘कारमा राखेर याताउता घुमाउन थालेर मध्यरातीसम्म घुमाइयो त्यसपछि मात्रै आफू अपहरणमा परेको उनले पत्तो पाएछन् ।’ अपहरणमा परेका चन्दलाई अपहरण गर्ने व्यक्तिले राती घरमा राखेको र विहान वीरेन्द्रनगर १० मा रहेको वेथेल चर्च नजिकैको ग्यारेजमा राखेको अनुसन्धानका क्रममा पुष्टि भएको प्रवक्ता घर्तीले जानकारी दिनुभयो ।
फागुन ६ गते विहान मात्रै चन्द अघिल्लो दिनदेखि घर नआएको र कुनै सम्पर्क नभएको जानकारी जिल्ला प्रहरी कार्यालयमा आएपछि प्रहरीले खोजतलास सुरु गरेको हो । घटनाबारे सुरुमा प्रहरी प्रवक्ता घर्तीलाई आएको सूचनालाई गम्भीरताका साथ लिएर प्रहरीले अनुसन्धान थाल्यो ।
अपहरणको भोलि बिहान ११ बजे आएको जानकारी अनुसार चन्दको खोजीका लागि जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरीक्षक कनकबहादुर शाहीको नेतृत्वमा टोली खटियो । प्रहरीले दिनभर खोजी ग¥यो, तर कतै फेला पार्न सकेन् । चन्दसँग नजिक भएकाहरुकासँग सोधपुछ गरेर अन्तत फागुन ६ गते साँझ ५ बजे तिर ग्यारेजमा बन्धक बनाइएको अवस्थामा प्रहरीले चन्दलाई फेला पारेको हो ।
प्रहरीले चन्दलाई फेला पारेपछि मात्रै उनले आफू फागुन पाँच गते रातीदेखि अपहरणमा परेको र रातभरी कारमा राखेर घुमाइएको वयान प्रहरीमा दिए ।
चन्दले आफूलाई अपहरण गर्ने तीन जनाको नामसहितको किटानी फागून ७ गते जिल्ला प्रहरी कार्यालयमा अपहरण वा शरिर बन्धक सम्बन्धी मुद्दा दर्ता गराए । प्रहरीले अपहरण नै हो वा त्यत्तिकै साथीहरुले रमाइलोका लागि घुमाएका हुन भन्ने विषयमा अनुसन्धान अघि बढाइएको प्रवक्ता घर्तीले बताउनुभयो ।
प्रहरीले गम्भीरताका साथ फोन विवरणसहित अदालतमा म्याद थप गरेर अनुसन्धान अघि बढाएको जनाएको छ । घटनामा संलग्न दुई जनालाई सोही दिन र एक जनालाई फागुन १४ गते पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा चन्दलाई आफ्नै कारमा राखेर घुमाउने वीरेन्द्रनगर–९ लाटिकोइलीका राजेश भन्ने २४ वर्षीय पुष्पराज गुरुङ, वीरेन्द्रनगर–१० खजुरा बस्ने वर्ष २३ का प्रकाश खड्का र वीरेन्द्रनगर ८ का २९ वर्षीय युवा छन् । गुरुङले चन्दलाई बन्धक बनाउन प्रयोग गरेको प्रदेश ३–०१–०२३ च ९२२३ नम्बरको कारलाई समेत नियन्त्रणमा लिएको छ ।
प्रहरीको प्रारम्भीक अनुसन्धानका क्रममा चन्दका साथी यादव केशी र गुरुङविच आर्थिक लेनदेन रहेको र सो रकम अशुल गर्न अपहरण गरेको खुलेको छ । तर प्रवक्ता घर्तीकाअनुसार लेनदेनको रकम अशुल गर्न कानूनी अन्य प्रक्रिया हुँदाहुँदै कसैलाई बन्धक बनाउनु सही कार्य नभएको र अपहरणमा परेका व्यक्तिले समेत अपहरण वा शरिर बन्धक सम्बन्धी मुद्दा दिएकाले सोहीअनुसार प्रक्रिया अघि बढाइएको हो ।
यो घटनामा अन्यको पनि संलग्नता हुन सक्ने भन्दै अनुसन्धानलाई गहिरो रुपमा लिएर अनुसन्धान भइरहेको प्रवक्ता घर्तीले बताउनुभयो ।
![](https://nepaliraibar.com/wp-content/uploads/2022/02/hare-Krishna-Dental.gif)
नेपालीरैबार । २०७७ फाल्गुन १४, शुक्रबार