पालिका विशेष

उत्पादनमुखी क्रियाकलापमा लगानी बढाएका छौं

जुम्लाको कनकासुन्दरी गाउँपालिका जिल्लाका अन्य सात वटा स्थानीय तहको तुलनामा विकट मानिन्छ । पशुपालन तथा कृषिको उच्च सम्भावना रहेको यस गाउँपालिकामा विकासका पूर्वाधार निर्माण कार्य पनि तीव्र पारिएका छन् । खेतीयोग्य जमिनका अतिरिक्त ठूलो भू–भाग जंगलले ढाक्नुका साथै भिरालो जमिन हुँदा यसक्षेत्रका मानिसहरु जीपिकोपार्जनका लागि कृषि, पशुपालनका अतिरिक्त नोकरी व्यापार व्यावसायमा संलग्न छन् । यहाँका स्थानीयलाई बाह्रै महिना सडक यातायातको पहुँचबाट वञ्चित नगर्न तीव्र रुपमा सडक विस्तार तथा स्तरोन्नतीसँगै स्थानीयलाई आत्मनिर्भर बनाउन उत्पादनमुखी क्रियाकलापमा लगानी बढाएको गाउँपालिका अध्यक्ष नरविर रावतले बताए । उनीसँग गरिएको कुराकानी सारांशः

तपाईं निर्वाचित भएपछि गाउँपालिका विकासमा भएका परिवर्तन के–के हुन् ?
म निर्वाचित भइसकेपछि स्थानीय तहमा विकासको अवस्था मात्रै परिवर्तन भएको छैन । यहाँ हरेक व्यक्तिको क्षमता विकासका लागि पनि कार्यक्रम सञ्चालन गरिरहेका छौं । सबैभन्दा पहिले स्थानीयको सकारात्मक सोच अभिवृद्धि गर्ने ध्येयले जनहितका कार्यक्रम गर्ने प्रयास गरेका छौं । मेरो बाँकी कार्यकालमा पनि बजेट सिध्याउने मात्रै काम हुने छैन । विकासे बजेट कार्यान्वयनमा लागि परेका छौं ।

पहिले विकासे बजेट खर्च गर्न कार्ययोजना एउटा र खर्च अर्कै शीर्षकमा हुन्थ्यो । अहिले त्यस्तो अन्त्य भएको छ । हाम्रो गाउँपालिकामा सामाजिक कुरीतिको रुपमा रहेको छाउपडी प्रथा अन्त्य हुदैछ । पहिले स्वास्थ्य संस्थामा सिटामोल पनि नहुने अवस्था थियो । अहिले त्यो पनि अन्त्य गरेका छौं । खानेपानीको समस्या हट्दैछ । एक घर एक धारा बनाउने तयारीमा छांै । विद्युतको समस्या समाधानका लागि पहल भइरहेको छ । यसरी सबै क्षेत्रको विकासका लागि मेरो पहल जारी छ ।

पर्यटकीय गुरु योजना बनाएर कनकासुन्दरीलाई धार्मिक पर्यटकीय हवको रुपमा विकास गर्ने योजनामा छौं । गाउँपालिकामा रहेका पाण्डवगुफा, विराट दरवार, गरुडनुहानी, तिलिचौर माइ, भुलमभले पाटन, चुचेमारा लेक, कनकासुन्दरी लगायत विभिन्न धार्मिक पर्यटकीय स्थलहरुमा आन्तरीक तथा बाह्य पर्यटक बढ्दै गएका छन् । यसका लागि पर्यटनमैत्री पूर्वाधार निर्माणमा पनि जोड दिएका छौं ।

जनप्रतिनिधिले आफ्नो ईच्छानुसार योजना बनाउँछन् भन्ने छ नी ?
यो गलत हो । कोही कसैले ग¥यो भन्दैमा सबैलाइ एउटै तहमा तुलना गर्नुहुन्न । हाम्रो स्थानीय तहमा यस्तो भएको छैन । र मैले गरेको पनि छैन । यदी कुनै पनि निकायले छानविन गरेर भ्रष्टाचार गरेको पृष्टि गर्नसक्नुहुन्छ भने हामी कारवाही भोग्न तयार छौं । पहिलेको जस्तो अहिले सिधैं भ्रष्टाचार गर्ने संस्कार अन्त्य भएको छ ।

हामीले आफ्नो ईच्छा अनुसार भन्दा पनि स्थानीयको माग र आवाश्यकताका आधारमा योजना बनाउने गरेका छौं । सबै निकायले विधिकोशासन र सुशासन कार्यान्वयनमा दबाब दिएका छन् । त्यसैले हाम्रा हरेक कार्यक्रम पारदर्शी नै छन् ।

हाम्रोमा कर्मचारी र जनप्रतिनिधिबिचको सम्बन्धमा कहिले पनि दरार आएको छैन । हामी सधैं मिलेर सरसल्लाह गरी काम गर्ने गर्छौ । हालसम्म हामीसँग भएका कर्मचारीहरु काम ठग्ने, घुसखोरी कोही छैनन् । निकै राम्रो आचरण भएका कर्मचारी र जनप्रतिनिधिबीचको समन्वय अत्यन्तै राम्रो छ । त्यसैले हामी बहुमतका आधार भन्दा सधैं सहमतिकै आधारमा सबै काम सम्पन्न गर्ने प्रयासमा छौं ।

गाउँपालिकामा विकास निर्माणका काम किन सुस्त छन् ?
पहिलो कुरा भौगोलिक चुनौतिका कारण विकास निर्माणका क्रियाकलाप सुस्त गतिमा सञ्चालन गर्न बाध्य छौं । जिल्लाकै विकट स्थानीय तहको रुपमा चिनिने हाम्रो गाउँपालिकामा जनसंख्याको आधारमा बजेट पनि कम आउँदा विकास निर्माणमा लगानीको अभाव छ । सरकारले काठमाडौंमा बनाउने भौतिक संरचनाको लागत र कनकासुन्दरीमा बनाउने भौतिक संरचनाको लागत एउटै बनाउँदा सोचे अनुसार समयमै र गुणस्तरयुक्त भौतिक पूर्वाधार विकास हुन नसकेको महसुस भएको छ ।

तर विगतका बर्षको तुलनामा अहिले विकास निर्माणका क्रियाकलाप चाहीँ तीव्र रुपमा सञ्चालन भएका छन् । विगतका वर्षको तुलनामा धेरै परिवर्तन पनि भएको देख्न सकिन्छ । जस्तै कनकासुन्दरीका आठ वटै वडामा सडक विस्तार भईरहेकोको छ । त्यसको स्तोरोन्नत्ति गर्दै सबै वडालाई सडकको पहुँचमा पुर्‍याउछौं ।

शैक्षिक क्षेत्रमा पनि उत्तिकै समस्या छन् । सुधारका लागि के कस्ता प्रयास भएका छन् ?
अन्य क्षेत्रमाभन्दा शैक्षिक क्षेत्रमा अलि बढी नै समस्या छ । अहिलेसम्म कर्मचारी पदपूर्ती हुन सकेको छैन । शिक्षा क्षेत्रको कार्यक्रम सञ्चालनका लागि अलि समस्या छ । अहिले प्रशासकीय अधिकृतको सल्लाह अनुसार शिक्षा क्षेत्रका क्रियाकलाप सञ्चालन गरिरहेका छौं । कनकासुन्दरी मावि लुड्कु र नेपाल राष्ट्रिय मावि मालिकाबोता बाहेक अन्य विद्यालयको अवस्था अलि कमजोर छ ।

गाउँपालिकामा रहेका विद्यालय मर्चको अवधारणा लिएका छौं । शिक्षक पदपुर्तीको बाटो पनि नखुलेकोले विद्यार्थी अनुपातमा शिक्षक नहुँदा पढाइमा गुणस्तर आउन सकेको छैन । त्यस्तै विद्यालयको भौतिक संरचना निर्माणको लागि आवश्यकताका आधारमा भवन बनाउने काम भइरहेको छ । भने विद्यालयमा पाठ्यक्रम बाहेक अन्य ज्ञानवद्र्धक विषयवस्तु पनि विद्यार्थीलाई विभिन्न सरकारी गैरसरकारी निकायबाट पटक पटक सिकाउने काम भइरहेको छ । केही शिक्षकहरुको पनि कमिकमजोरी होलान यसलाई अनुगमन गरेर सुधार्ने प्रयासमा छौं ।

कृषिमा आत्मनिर्भर बन्न के कस्ता प्रयास भएका छन् त ?
यसका लागि हाम्रोमा मुख्य समस्या भनेकै सिँचाइको अभाव हुनु हो । खेतियोग्य जमिन छ । तर जलस्रोत नहुदाँ बाँजै छन् । त्यसैले हामी स्रोतको पहिचान गरी सिचाँइ समस्या समाधान गर्ने योजनामा छौं । गाउँपालिकालाई कृषिमा आत्मनिर्भर बनाउन कृषकलाई पशुपालन, फलफूल तथा कृषिजन्य वस्तु उत्पादनमा अनुदान तथा सहुलियतमा ऋण दिने तयारी छ । स्याउ खेती गर्ने व्यवसायिक कृषकलाई प्रोत्साहनका कार्यक्रम पनि छन् ।

अहिले हामी मासु र तरकारी बालीमा मात्रै आत्मनिर्भर छौं । हरेक वर्ष करोडौको स्याउ निर्यात हुने गरेको छ । मार्सीधान, र स्याउ उत्पादन बढाउन रोग, किरा नियन्त्रणको कार्यक्रम छन् । यसरी विस्तारै हरेक कृषकलाई वर्ष भरी खाना पुग्ने गरी अन्न तथा आर्थिक उत्पादन वृद्धिमा लगानी गर्ने तयारी छ । यातायातको सुविधा नपुगेको ठाउँमा कृषि सडक बनाएर पनि यहाँको उत्पादनलाई बजारीकरण गर्नेछौं ।

अन्त्यमा अब तपाईंको बाँकी कार्यकालभित्र गर्नैपर्ने योजना केही छन् ?
अबको मेरो बाँकी कार्यकालभित्रको बजेटमै स्थानीयलाई आत्मनिर्भर बनाउने खालका कार्यक्रम बनाउने सोचमा छु । यसका लागि उत्पादनमुखी योजनामा लगानी बढाएका छौं । मेरो कार्यकालभित्रै तीन महिना खाना पुग्नेलाई ६ महिना र ६ महिना पुग्नेलाई वर्षदिनसम्म खाना पुग्ने गरी कृर्षि उत्पादन तथा आर्थिक वृद्धिका कार्यक्रम सञ्चालन गरेको छुँ ।

सञ्चालित अधुरा विकास निर्माणका काम पुरागर्दै सडकको स्तोरोन्नतीका लागि प्रदेश र संघ सरकारसँग पनि समन्वय जारी रहनेछ । यस्तै कनकासुन्दरीलाई धार्मिक पर्यटकिय हवको रुपमा विकास गर्न मेरो पहल जारी रहनेछ । यहाँ आउने पर्यटकबाटै पालिकाले वर्षेनी करोडौ रकम कमाउने गरी योजना बन्दैछन् ।

जसबाट स्थानीय नागरिक पनि व्यापार, व्यवसाय गरी रोजगार बन्नेछन् । सधैं कामका लागि कालापहाड जानुपर्छ भन्ने मान्यता अन्त्य गर्नेछौ । आफ्नै ठाउँमा बसेर पनि आत्मनिर्भर बन्न सकिन्छ भन्ने सन्देश दिने गरी काम गर्दै आएका छौं ।

तपाईको प्रतिक्रिया