कर्णाली प्रदेशमा आगलागीमा परी ९ महिनामा ११ जनाको मृत्यु, १ अर्ब ६४ करोडभन्दा बढीको क्षति

कर्णाली प्रदेशमा आर्थिक वर्ष २०७७/७८ को चैत महिनासम्म भएको आगलागीमा परी ११ जनाको मृत्यु भएको छ । सोही अवधिमा एक अर्ब ६४ करोड ५४ लाख एक हजार ५१४ रुपैयाँ बराबरको क्षति भएको छ ।

आर्थिक वर्ष २०७७/०८८ चैत्र मसान्तसम्म कर्णालीका १० वटै जिल्लामा भएको आगलागीमा यो क्षति भएको हो । उक्त अवधिमा आगलागीमा परी कालीकोटमा ६, सुर्खेतमा २ तथा रुकुम (पश्चिम), सल्यान, र मुगुमा एक/एक जनाको मृत्यु भएको छ । १५ जना घाइते भएका छन् । २१५ पशुचौपायाको क्षति भएको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

कर्णालीमा चालु आर्थिक वर्षमा आगलागीका कारण १११ घर पूर्ण रुपमा क्षति भएका छन्, २३३ घरमा आंशिक क्षति भएको छ ।

आगलागीका कारण सुर्खेतमा २ करोड ५६ लाख १६ हजार, दैलेखमा १ करोड ३५ लाख ८ हजार, जाजरकोटमा ८१ लाख ४६ हजार, सल्यानमा ४७ लाख ३८ हजार, रुकुमपश्चिममा ३३ लाख ९४ हजार, कालिकोटमा ६५ लाख ७८ हजार, मुगुमा ३३ लाख ३५ हजार, डोल्पामा ११ लाख ७२ हजार र हुम्लामा ८७ लाख २१ हजार रुपैयाँ बराबरको क्षति भएको प्रदेश प्रहरी कार्यालयका एसएसपी अर्जुन चन्द ठकुरीले बताए ।

‘यो वर्ष त्यति हिमपात र वर्षा नभएकाले आगलागीका घटना बढेको हो,’ उनले भने, ‘मान्छेकै लापरबाहीको कारण आगलागीका अधिकांश घटना भएको पाइएको छ ।’

तपाईको प्रतिक्रिया