काठमाडौं । सरकारले चालू आर्थिक वर्षको ९ महिनामा सरकारी कर्मचारीको पारिश्रमिक बापत ९१ अर्ब ९ करोड ९५ लाख रुपैयाँ बजेट खर्च गरेको छ ।
अर्थात अर्थ मन्त्रालयले सो रकम पारिश्रमिकको लागि निकासा गरेको हो । पारिश्रमिककै लागि चालू वर्षका लागि १ खर्ब २० अर्ब रुपैयाँ छुट्याइएको थियो । सरकारले नियुक्त गरेको पदाधिकारीको पारिश्रमिकका लागि मात्र १ अर्ब ६२ करोड ८४ लाख रुपैयाँ खर्च भएको छ ।
सरकारले पोशाकका लागि २ अर्ब ६ करोड रुपैयाँ खर्च गरेको छ । यसका लागि चालू आर्थिक वर्षमा २ अर्ब १० करोड रुपैयाँ बजेट छुट्याएको थियो । १ अर्ब ४ करोड ७० लाख रुपैयाँ कर्मचारीको बैठक भत्तामा खर्च भएको छ ।
सरकारले बैठक भत्ताका लागि १ अर्ब ९० करोड रुपैयाँ बजेट छुट्याएको थियो । सवारी साधन मर्मतमा ९ अर्ब ७० करोड रुपैयाँ, मेसिनरी तथा औजार मर्मतका लागि १ अर्ब ६६ करोड २२ लाख रुपैयाँ, इन्धनका लागि २ करोड ८४ लाख ७६ हजार रुपैयाँ खर्च भएको छ । सरकारले पत्रिका छपाइ तथा सूचना प्रकाशनमा १२ अर्ब ७ करोड खर्च गरेको अर्थ मन्त्रालयले जनाएको छ ।
कोरोनाले भ्रमण खर्च न्यून
कोरोना माहामारीका कारण भ्रमण खर्च बापत सरकारी ढुकुटीबाट धेरै खर्च हुन पाएको छैन । सरकारी कर्मचारीहरु भ्रमणमा ठुलो रकम सिध्याएको भन्दै आलोचना हुने गरेपनि यस पटक भने ६ महिना सम्म कुनै खर्च भएको थिएन ।
बाँकी ३ महिनामा २२ करोड ५२ लाख ४७ हजार रुपैयाँ खर्च भएको हो । सरकारले चालू आवका लागि १ अर्ब रुपैयाँ भ्रमण खर्च छुट्याएको थियो ।
नेपालीरैबार । २०७८ बैशाख १७, शुक्रबार