नेपालगन्ज । कोरोना उपचार केन्द्र बनेको भेरी अस्पताल, नेपालगन्जकी स्टाफ नर्स प्रीति खड्कालाई शुक्रबार पीपीई लगाएर काम गर्ने जाँगरै थिएन । महिनावारी भएकाले सेनेटरी प्याड लगाउनुपर्ने बाध्यता थियो । त्यसमाथि पीपीई थपिँदा शरीर बाफिएर उकुसमुकुस हुन्छ । तर पीपीई नलगाए महामारीको सिकार हुने डर छ ।
पीपीई लाउनै पर्यो । यहाँ दिनहुँ संक्रमित थपिँदै छन् । सबैले सहज उपचार नपाउने समस्या छ । त्यसैले उनी नयाँ वर्षदेखि बिदा नबसी खटिएकी छन् । प्रीति शनिबार रात्रि ड्युटीमा खटिइन् । उनीसँगै स्टाफ नर्स कमला नेपाली, सुनीता साहकारी, निशा पुन, यमकुमारी थापा कोरोना संक्रमितको पलपलको अवस्था बुझ्दै हेरचाहमा खटिएका थिए । उनीहरूका अनुसार एक जनाले ३०र४० जना बिरामीलाई औषधि खुवाउनुपर्छ । दबाइ खुवाएर मात्रै कहाँ सुख पाउनु १ बिरामीको छटपटीले मन पोल्छ । पीपीईभित्रको गर्मी त छँदै छ । वार्डबाट बाहिर निस्किएपछि उनीहरूले ठूलो युद्ध जितेजस्तो महसुस गर्छन् । त्यो अनुभूति क्षणिक हुन्छ ।
उनीहरूलाई शनिबार अन्य दिनभन्दा धपेडी भयो । नयाँ सिफ्टका साथीहरू आउन ढिला गरेपछि पीपीई खोलेर बस्न सक्ने अवस्था रहेन । औषधि खुवाएर वार्ड बाहिर अस्पतालको छेउमा राखिएको सोफामा तीन जना नर्स लस्करै थकान मेट्दै थिए । त्यही बेला खिचेको तस्बिर शनिबार र आइतबार सामाजिक सञ्जालमा भाइरल बन्यो ।
तस्बिर कसले खिच्यो ? नर्स यमकुमारीलाई अलिअलि याद छ । थकाइले आँखा खुल्न सकेका थिएनन् । अस्पतालमा चेकअप राउन्डमा आएका चिकित्सक चन्द्रप्रकाश साहुले ‘तिमीहरूको फोटो खिच्दिऊँ’ भन्दै जिस्काएका थिए । ‘फेरि हामी भाइरल हौंला है’ भन्दै कोही हाँसेको थियो । बर्दियाकी प्रीति घरबाटै आउजाउ गर्छिन् । अस्पतालमा बस्ने ठाउँ छैन । परिवारसित ‘पराई’ भएर बस्नुपरेको छ । अरूलाई कोभिड सर्न सक्ने भएकाले उनी घर गए पनि छुट्टै बस्छिन् ।
प्रीतिलाई मज्जाले परिवारसँग गफ गरेर बस्ने दिन हराएजस्तो लाग्छ । साथीभाइ, आफन्त बिराना भएका छन् । अस्पताल र घर आउजाउबाहेक अरू उनको जीवनका उत्सवमय क्षण गौण छन् । उनले भनिन्, ‘निको भएका बिरामी हेरें भने मात्रै मुस्कान आउँछ ।’ शरीर सन्चो हुँदा काममा खटिन उनलाई खासै दुस्ख लाग्दैन । जब महिनावारी हुन्छ, उनी दोहोरो चपेटामा हुन्छिन् । भाइरल भएको तस्बिरमा प्रीतिको थकानको कथा बेग्लै छ । पेट दुखेर औषधि खाएकी थिइन् । पीपीईले आङका सबै लुगा निथ्रुक्कै भिजेका थिए । ‘औषधि खाएर यसो ढलेर आराम गर्दै थिएँ,’ प्रीतिले भनिन्, ‘साथीहरूले मायाले सुमसुमाउँदै थिए ।’
२३ वर्षीया यमकुमारी माइतीमै बसेर अस्पतालमा खटिएकी छन् । बिहे गरेको दुई वर्ष भयो । लकडाउनका कारण श्रीमान् उनीसँगै बस्न काठमाडौंबाट आएका छन् । यमकुमारीलाई भने पारिवारिक सम्बन्धतिर सोच्ने फुर्सद छैन । अस्पतालदेखि घर आउँदा पनि उनको बिरामीप्रतिको चिन्तन उस्तै हुन्छ । स्टाफ नर्सको एउटा ग्रुप च्याट छ, त्यसैमा कसलाई के समस्या छ भनेर रातभरि कुरा हुने उनले सुनाइन् । ‘घर छु भन्ने मात्रै हो, ध्यान सबै अस्पतालमै हुन्छ,’ उनले भनिन्, ‘निद्रामा पनि अस्पताल सम्झिँदै बर्बराउँदी रहिछु ।’
कालीकोट–२ की सुनीताका श्रीमान् ब्लड क्यान्सरका कारण दुई महिनाअघि बिते । ६ वर्षको छोरा लिएर भेरी अस्पतालमा खटिएकी उनी आफै कोरोना संक्रमित हुन् । सुनीताका आँखाअगाडि जब कोभिड संक्रमणले कसैका श्रीमान् मर्छन्, उनी आफ्नै नियतिसँग तुलना गर्छिन् । र, साहसका साथ आफ्नै कथा सुनाएर मृतकका आफन्तलाई सम्झाउन थाल्छिन् । ‘कहिलेकाहीं अरूको घाउमा मल्हम लगाउन आफ्नै घाउ कोट्याउनुपर्ने रहेछ,’ उनले भनिन् ।
दैलेखकी कमला नेपालीलाई नर्सिङ पेसा जागिरभन्दा पनि धर्म हो भन्ने लाग्छ । त्यसैले परिवारले जागिर छाडेर घर फर्किन धेरै पटक बोलाउँदासमेत उनी जान सकेकी छैनन् । उनी काम गर्दागर्दै संक्रमित भइन् । तर बिरामीको सेवा नै उनको औषधि बनेको छ । हरेक दिन घरबाट फोन आउँछ । ‘आमा रुँदै बोलाउनुहुन्छ,’ उनले भनिन्, ‘उहाँलाई सम्झाउँछु, एकबारको जीवन हो पुण्य कर्म गरेरै मर्छु ।’
नेपालगन्ज मेडिकल अस्पतालका मेडिकल अफिसर डा। पुरुषोत्तम बर्मा चार दिनदेखि आफैं संक्रमित छन् । लक्षण देखिएकाले स्लाइन चढाउँदै उनी काम गरिरहेका छन् । टाउको दुख्ने, बान्ता आउलाजस्तो हुने, शरीर पिटेजस्तै दुख्ने, खोकी लाग्नेजस्ता लक्षण देखिँदासमेत उनले पीसीआर गर्ने फुर्सद पाएका थिएनन् । शनिबार बिरामीको चाप बढ्यो । दुई जना मेडिकल अफिसर संक्रमित भएर होम आइसोलेसनमा छन् । पुरुषोत्तमले जनशक्ति अभाव देखेर आफू सन्चो नहुँदा नहुँदै पनि जिम्मेवारी पूरा गरिरहेको बताए ।
आफ्नो हातमा स्लाइनको इन्जेक्सन लगाउँदै बिरामीको फाइल पल्टाउँदै गरेको उनको तस्बिर शनिबारदेखि सामाजिक सञ्जालमा भाइरल भएको छ । लगातार पखाला लागेपछि, कमजोर भएका उनी औषधि गर्दै थिए । अस्पतालकै नर्सले उक्त फोटो खिचिदिएकी थिइन् । ‘उसै त पीपीई लगाएर बिरामी हेर्नुपर्छ, त्यसैमा पखाला लागेर उभिन नसक्ने भएको थिएँ,’ उनले भने, ‘हामी स्वास्थ्यकर्मीले बिरामी छु भनेर उम्किन मिल्दैन ।’
नेपालगन्ज उपमहानगरपालिका फुलटेक्रा घर भएका डा। पुरुषोत्तमले साथीभाइ राम्रोसँग नभेटेको ६ महिना भयो । संक्रमणका बेला आफ्नो कारणले अरूलाई जोखिममा पार्नु हुँदैन भन्ने उनलाई राम्रोसँग थाहा छ । भावनामा बहेर कतिपय साथीले भेट्न बोलाउँछन् । पुरुषोत्तम भने मुटु कठोर बनाउँछन् । फोन, म्यासेन्जरमा सम्पर्क गर्नेलाई समेत समय दिने फुर्सद उनलाई छैन । उनका अनुसार अस्पतालमा सबै स्वास्थ्यकर्मी यति व्यस्त छन् कि काम गर्दागर्दै ठोक्किने साथीभाइको हालखबरसमेत बुझ्ने फुर्सद छैन । कान्तिपुर दैनिकमा समाचार छ ।
बिरामीको चाप बढेसँगै कोहलपुर मेडिकल कलेजमा नयाँ बिरामी भर्ना गर्ने स्थिति छैन । अस्पतालको कुनाकाप्चा जहाँ खाली ठाउँ पाइन्छ, त्यहीं बिरामी राखेर उपचार गर्नुपर्ने स्थिति रहेको चिकित्सक देवेन्द्र आचार्यले बताए । एउटै डाक्टरले १२ घण्टा निरन्तर पीपीई लगाएर उपचार गर्नुपर्दा गर्मीले ढल्ने अवस्था सिर्जना भएको उनले सुनाए ।
गत वर्ष आफैं कोभिड पोजिटिभ भएका देवेन्द्र परिवारको मायाले घरमै बस्न सकेका छैनन् । ‘घरमा जाऊँ कोभिड अरूलाई सर्ला भन्ने डर छ,’ उनले भने, ‘जे हुन्छ, एक्लैलाई हुन्छ भनेर अस्पतालमै छु ।’ उनलाई अस्पतालको कामपछि १० मिनेट फुर्सद मिल्यो भने घरमा भिडियो कल गर्छन् । सबैभन्दा पहिला एक वर्षको छोरोको भिडियो हेर्छन् । आँखाभरि आँसु भरेर छोरो सम्झँदै फेरि बिरामीको हेरचार गर्न थाल्छन् ।
भेरी अस्पतालकी नर्सिङ इन्चार्ज शिला शर्माको तन अस्पतालमा छ मन भने साढे दुई वर्षको दूध खाने छोरोतिर हुन्छ । दिनरात बिरामीको हेरचाह गर्न भ्याएकी शिलाले घरमा नौ दिनदेखि कोरोना संक्रमण भएको सानो छोरोको उपचार गर्न पाएकी छैनन् । आमालाई जिम्मा लगाएर उनी दिनरात अस्पतालमा हुन्छिन् । काम गर्दागर्दै राति घर पुग्दा छोरो निदाइसकेको हुन्छ । उनले भनिन्, ‘सुतेकै बेला दूध खुवाउँछु ।’ उनका अनुसार छोरोको अवस्थामा सुधार आएको छ ।
तर अस्पतालमा दिनहुँ जटिल खाले बिरामी हेर्दाहेर्दा शिलाका आँखा थकित छन् । आइतबार २२ जना स्वास्थ्यकर्मी थपिएपछि उनको मनमा केही राहत महसुस भएको छ । ‘जनशक्ति थपिएपछि केही हल्का होला,’ उनले भनिन् । बिरामीको संख्या बढेसँगै भेरी अस्पतालमा स्वास्थ्यकर्मी संक्रमित हुने संख्या पनि उत्तिकै छ । एक साताअघि ७० जना स्वास्थ्यकर्मी संक्रमित भएका थिए । अहिले संक्रमित हुने स्वास्थ्यकर्मीको संख्या ९० भन्दा बढी भइसकेको भेरी अस्पतालकी नासु विमला आचार्यले बताइन् ।
नेपालीरैबार । २०७८ बैशाख २०, सोमबार