कर्णाली सरकारले कोरोना संक्रमणबाट मृत्यु भएकालाइ एक लाख दिने

जिल्ला र अन्य अस्पताललाइ एक/एक कराेड बजेट थप

सुर्खेत । कर्णाली प्रदेशमा कोरोना भाइरसको संक्रमण भयावह बन्ने खतरा बढेपछि कर्णाली सरकारले नागरिकहरुका लागि राहतका प्याकेज घोषणा गरेको छ । मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को बैठकले कोरोना संक्रमणबाट मृत्यु भएका परिवारलाई जनही एक लाख राहत रकम उपलव्ध गराउने निर्णय गरेको हो ।

संक्रमणबाट मृत्यु भएका परिवारलाई सामाजिक विकास मन्त्रालयको समन्वयमा आवश्यक कार्यविधि, मापदण्ड, आधार बनाएर प्रदेश विपद् व्यवस्थापन कोषबाट राहत रकम उपलव्ध गराउने निर्णय गरिएको सरकारका प्रवक्ता विमला केसीले जानकारी दिइन् ।

‘कोरोना संक्रमणको रोकथाम र नियन्त्रणका लागि सरकारले आवश्यक सबै तयारी गर्नमा कुनै कसर बाँकी राखेको छैन्,’ प्रवक्ता केसीले भनिन्, ‘संक्रमणबाट बचाउने प्रयत्न गर्दागर्दै पनि प्रदेश भित्रका नागरिकहरुको कोरोना संक्रमणबाट मृत्यु भएमा परिवारलाई राहत स्वरुप एक लाख रकम प्रदान गर्ने निर्णय गरिएको हो ।’

विषयगत मन्त्रालय र आर्थिक मामिला तथा योजना मन्त्रालयको अर्थ विविध बजेटबाट कोषमा ५० करोड बजेट रकमान्तरण गरिएको प्रवक्ता केसीको भनाई छ । उनले उक्त रकम कोभिड–१९ सँग सम्बन्धीत समस्याहरु समाधानका लागि खर्च गरिनेछ ।

अस्पतालाहरुलाई थप बजेट
मन्त्रीपरिषद्को बैठकले अक्सिजन सिलिण्डर र अक्सिजन आपूर्ती गर्न अस्पतालहरुलाई थप बजेट प्रदान गर्ने निर्णय गरेको छ । प्रदेशका १० जिल्लामा रहेका जिल्ला अस्पतालहरुलाई एक÷एक करोड रकम दिने निर्णय समेत गरेको छ । यस्तै, कर्णाली प्रदेश अस्पताल, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, चौरजहारी अस्पताल रुकुमपश्चिमलाई एक÷एक करोड तथा मेहलकुना अस्पताल र दैलेख अस्पताललाई ५०÷५० लाख दिने निर्णय गरेको हो । उक्त रकम प्रदेश विपद् व्यवस्थापन कोषबाट रकम पठाइने प्रवक्ता केसीले जानकारी दिइन् ।

तपाईको प्रतिक्रिया