अमेरिकाले कोभिडविरुद्ध फाइजरले बनाएको खोप १२ वर्षका बालबालिकालाई समेत लगाउने भएको छ ।
खाद्य तथा औषधि प्रशासनले फाइजरको खोप सुरक्षित रहेको र यसले बालबालिकालाई समेत मजबूत सुरक्षा दिने जनायो । अमेरिकामा दुई हजार स्वयंसेवीहरूमा यसको परीक्षण गरिएको छ ।
संघीय खोप प्यानलले सिफारिश गर्नेबित्तिकै १२ वर्ष वा त्यसभन्दा माथिका बालबालिकालाई खोप दिन थालिनेछ ।
सामान्य अवस्थामा फर्कनका लागि सबै उमेरका बालबालिकालाई खोप लगाउनुपर्ने डीएफडब्ल्यू अस्पताल परिषद्का अध्यक्ष स्टिफन लभको भनाइ छ।
‘यो राम्रो खबर हो । जति बढी मानिसले खोप लगाउँछन्, त्यति चाँडो हामी हर्ड इम्युनिटीमा पुग्छौं,’ लभले भने ।
टेक्ससका विभिन्न निकायले बालबालिकालाई खोपका लागि दर्ता गराउन मातापितालाई फारम दिइसकिएको पनि लभले जानकारी दिए ।

नेपालीरैबार । २०७८ बैशाख २८, मंगलवार