सुर्खेत । कर्णाली प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनी र मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मंगलवार प्रदेश प्रमुखको कार्यालयमा भेट गरेका छन् । नियमित भेटघाट कार्यक्रम अन्र्तगत उनीहरुबिच कोभिड १९ (कोरोना भाइरस) नियन्त्रण र प्रतिकार्यको लागि छलफल भएको हो ।
यसमा प्रदेश सरकारले गरिरहेका प्रयास र गतिविधिको बारेमा कुराकानी केन्द्रित भएकोथियो ।सो-अवसरमा मुख्यमन्त्री शाहीले प्रदेश सरकारले सामाजिक विकास मन्त्रालय, स्वास्थ्य सेवा निर्देशनालय, विभिन्न अस्पतालहरु तथा स्थानीय सरकारसँग सहकार्य गरी कोभिड माहामारी फैलिन नदिनेगरी काम भइरहेको बताए ।
कोभिड १९ रोकथाम, नियन्त्रण, उपचार, प्रतिकार्य तथा स्वास्थ्य पूर्वाधार सुदृढीकरणका लागि प्रदेश सरकारले प्रर्याप्त बजेट विनियोजन गरेको समेत उनले जानकारी दिए । प्रदेश सरकारले कोभिड रोकथामका लागि विनियोजन गरेको कुल बजेटमध्ये आधा अर्थात् ५० करोड विकास खर्चबाट रकमान्तर गरी कोभिड कोषमा राख्ने व्यवस्था मिलाएको शाहीको भनाई छ ।
प्रदेश प्रमुख कलौनीले कोभिड १९ रोकथाम तथा प्रतिकार्यमा प्रदेश सरकारले गरिरहेको काम सन्तोषजनक रहेको बताउँदै चेकजाँचको दर बढाउन र संक्रमितहरुलाई उपचार गरी जीवन बचाउने सवालमा कुनै कसर बाँकी नराख्नेगरी संयन्त्रहरु परिचालित गर्न सुझाव दिए ।

नेपालीरैबार । २०७८ बैशाख २८, मंगलवार