आत्मसमर्पण नगर्ने घनश्याम भुसालको उद्घोष, एमाले विभाजन गर्न खोजेको आरोप

नेकपा एमालेको झलनाथ खनाल-माधवकुमार नेपाल समूहका प्रभावशाली नेता घनश्याम भुसालले आफूहरूले आत्मसमर्पण नगर्ने बताएका छन् ।

्सामाजिक सञ्जाल फेसबूकमार्फत धारणा सार्वजनिक गर्दै नेता भुसालले आत्मसमर्पण क्रान्तिप्रति गद्दारी हो भन्ने कुरा आफूहरूलाई राम्रोसँग थाहा भएको उल्लेख गरेका हुन् ।

‘विद्रोहले क्रान्तिमा योगदान गर्छ कि गर्दैन भन्ने विषयमा इतिहासमा ठूलो विवाद छ, तर आत्मसमर्पण क्रान्तिप्रति गद्दारी हो भन्ने कुरा हामीलाई राम्ररी थाहा छ,’ भुसालले फेसबूकमा लेखेका छन् ।

उनले हिजो प्रचण्डलाई गाली गर्नेहरूले नै आज माधव नेपाल र झलनाथ खनाललाई गाली गरेर एमालेलाई विभाजित गर्न खोजेको आरोप पनि लगाएका छन् ।

‘हिजो प्रचण्डलाई गाली गरेर पार्टी विभाजनको पाप ढाक्ने प्रयास भयो । आज झलनाथ–माधवलाई गाली गरेर बाँकी रहेको नेकपा एमालेलाई विभाजित गरिँदैछ,’ भुसालले लेखेका छन्, ‘आज हामीविरुद्ध गरिएका गालीगलौज वा आलोचनाले नेपालमा संविधान जारी हुँदा असफल भएका र विघटित प्रतिनिधिसभा पुन:स्थापित हुँदा दोस्रोपटक पनि असफल भएका शक्तिहरूले चुनावको नाममा फेरि प्रतिनिधि सभा विघटन गराएर हामीसँग बदला लिन कस्सिएका छन् भन्ने दाबीको खण्डन हुँदैन ।’

तपाईको प्रतिक्रिया