काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक र हिमालयन बैंकबीच एकआपसमा मर्जरमा जानका लागि प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर भएको छ। मर्जरसँगै बैंकको नाम ‘हिमालयन एण्ड नेपाल इन्भेष्टमेन्ट बैंक लि’ हुनेभएको छ।
बिहीबार नेपाल इन्भेष्टमेन्ट बैंकका अध्यक्ष पृथ्वीबहादुर पाँडे तथा हिमालयनका अध्यक्ष तुलसीप्रसाद गौतमले एक सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्। बैकको संचालक समितिको अध्यक्षमा पृथ्वीबहादुर पाँडे र प्रमुख कार्यकारी अधिकृतमा अशोक शमसेर राणा रहने सहमति भएको बताइएको छ।
त्यसैगरी मर्जर पछि बन्ने बैंकको संचालक समितिमा दुबै बैंकको तर्फबाट ३ -३ जना र एकजना स्वतन्त्र संचालकको नियुक्ति गरी जम्मा ७ जनाको संचालक समिति राख्ने सहमति भएको छ।नेपाल इन्भेष्टमेन्ट बैंक तथा हिमालयन बैंक मर्जर हुँदा देशकै सबैभन्दा ठूलो वाणिज्य बैंक बन्ने भएको छ।
हाल नेपाल इन्भेष्टमेन्ट बैंकको चुक्ता पूँजी १६ अर्ब २६ करोड रहेको छ भने हिमालयन बैंकको चुक्ता पूँजी १० अर्ब ६८ करोड रहेको छ। यी दुबै बैंक मर्जर पश्चात चुक्ता पूँजी २६ अर्ब ९४ करोड रुपैयाँ पुग्ने छ।
यसैगरी जगेडा कोषमा पनि सबैभन्दा बढी रकम हुने छ। हाल नेपाल इन्भेष्टमेन्ट बैंकको जगेडा तथा कोष १४ अर्ब १० करोड रुपैयाँ छ भने हिमालयन बैंकको ७ अर्ब ६७ करोड रुपैयाँ छ। यसैगरी निक्षेप तथा कर्जा लगानीको आधारमा पनि यो बैंक अरु भन्दा ठूलो बन्ने छ।
हाल नेपाल इन्भेष्टमेन्ट बैंकको १६८.२९ अर्ब र हिमालयन बैंकको १४३.७० अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन् भने इन्भेष्टमेन्ट बैंकको १६०.९८ अर्ब र हिमालयन बैंकको १२७.१४ अर्ब रुपैयाँ कर्जा लगानी गरेको बताइएको छ।
नेपाल राष्ट्र बैंकले ठूला र सक्षम बाणिज्य बैंक निर्माण गर्ने योजना अघि सारेपछि यी दुबै बैंकले आपसमा गाभिने तयारी थाले थिए। बढ्दो साइबर जोखिम र प्रविधिमा हुने ठुलो लगानीका सन्दर्भमा विकास गतिविधिमा लगानी पनि बढ्दै जाने अनुमान गरेर ठूलो वासलातका बैंकको खाँचो पनि यो बैंकले पुरा गर्न सक्ने बताइएको छ।
यी दुई बैंक गाभिँदा लगभग ५० अर्ब पूँजीको संस्था बन्ने छ। यी दुई बैक एउटै भएपछि सबैभन्दा ठूलो सेयर व्यवसायी शशिकान्त अग्रवाल हुने छन्। उनीसँग अहिले दुबै बैंकका लगभग १२–१२ प्रतिशत सेयर स्वामित्व रहेको बैंकरहरु बताउँछन्।
हालका ठूलो स्वामित्व बोक्ने मनोजबहादुर श्रेष्ठ, हिमालयशम्शेर जबरा, पृथ्वीबहादुर पाँडेजस्ता नाम चलेका सेयरधनीको स्वामित्व यसको तुलनामा कम देखिने छ। मर्जर भएपछि यसको सेयर कर्मचारी सञ्चय कोषले पनि किन्न खोजिरहेको बताइएको छ।
नेपालीरैबार । २०७८ बैशाख ३०, बिहीबार