वीरेन्द्रनगरमा मेडिकल अक्सिजन प्लान्ट सञ्चालनको तयारी अन्तिम चरणमा पुगेको छ । चौधरी पाउण्डेशन (सीजी गु्रप) तथा नगरपालिकाको समन्वयमा अक्सिजन प्लान्ट निर्माणको तयारी भएको हो । यसका लागि गत साता फाउण्डेशनसँग नगरपालिकाले सम्झौता समेत गरिसकेको छ । २४ घण्टामा ४० लिटरका एक सय ५० वटा सम्म सिलिण्डर भर्न सक्ने क्षमताको प्लान्ट जडान गर्न लागिएको नगरपालिकाले जनाएको छ । कोरोना भाइरस (कोभिड–१९) संक्रमित बिरामीको उपचारमा अक्सिजनको चरम अभाव देखिएपछि नगरपालिकाले प्लान्ट नै स्थापना गरेर आपूर्ति सहज बनाउने प्रयास थालेको हो ।
- कटकुवा स्वास्थ्यचौकी परिसरमा अनुमानित डेढ करोड लगानीमा अक्सिजन प्लान्ट सञ्चालन गर्ने तयारी गरिएको छ । चौधरी फाउण्डेशनको प्राविधिक टोलीले जेठ २५ गतेसम्म प्लान्ट जडान गरिसक्ने जानकारी नगरपालिकालाई गराएको छ ।
अहिले कोरोनाको दोस्रो भेरियन्टबाट संक्रमित अधिकांशलाई अक्सिजन दिएर उपचार गर्नुपरिरहेको छ । धेरैजसो संक्रमितहरूलाई श्वासप्रश्वासमा समस्या देखिने गरेको छ । माग चुलिएपछि अस्पतालहरूमा अक्सिजनको निकै अभाव छ । नगरपालिकाले मेडिकल अक्सिजनको अभाव न्यूनीकरण गर्न प्लान्ट स्थापना गर्न लागेको उप–प्रमुख मोहनमाया ढकाल बताउँछिन् । उनका अनुसार प्लान्ट सञ्चालनमा लाग्ने सुरूको खर्चलाई ५०/५० प्रतिशत व्यहोर्ने गरी चौधरी गु्रपसँग सम्झौता भएको छ । आधा–आधा खर्च व्यहोरे पनि सञ्चालनको जिम्मा भने नगरपालिकालाई दिइने छ ।
सम्झौताअनुसार चौधरी फाउण्डेशनले प्लान्टको मेशिनलगायत पहिलो चरणको निर्माण र जडानको काम गर्नेछ । प्लान्ट जडान खर्च, स्थानको छनोट र जनशक्ति लगायतको व्यवस्थापन नगरपालिकाले गर्ने गरी सम्झौता भएको छ । प्लान्ट सञ्चालनका लागि अगाडि बढाइएको योजनालाई मंगलवार बसेको नगर कार्यापालिका बैठकले पास गरिसकेको उपप्रमुख ढकालले जनाइन् । कटकुवा स्वास्थ्यचौकी (नगर अस्पताल) परिसरमा अनुमानित डेढ करोड लगानीमा अक्सिजन प्लान्ट स्थापना गरिनेछ । लगानी र स्थानका विषयमा थप छलफल गरी कामको सुरुवात गर्ने तयारी भइरहेको नगरपालिकाले जनाएको छ ।
वीरेन्द्रनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टीकाराम ढकालले चौधरी फाउण्डेशनको प्राविधिक टोलीले जेठ २५ गतेसम्म प्लान्ट जडान गरिसक्ने गरी मौखिक जानकारी दिएको बताए । प्लान्ट मेशिन चाइनाबाट चार्टर गरी ल्याउने र जडानको कामसमेत फाउण्डेशनले नै गर्नेछ । कर्णाली प्रदेशका कुनै पनि स्थानीय तहले आफ्नै पहलमा अक्सिजन प्लान्ट सञ्चालनमा ल्याएका छैनन् । वीरेन्द्रनगरमा प्लान्ट निर्माण भए यो नै पहिलो हुनेछ ।
संघीय सरकार मातहतको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्ला र प्रदेश अस्पताल सुर्खेतमा दुई–दुई वटा अक्सिजन प्लान्ट सञ्चालनमा छन् । यी प्लान्टबाट न्यून संख्यामा मात्र सिलिन्डर भर्न सकिन्छ । यहाँ पाइपलाइनबाट बिरामीको बेडसम्म अक्सिजन सप्लाई गर्ने गरिएको छ । ती प्लान्टबाट उत्पादित अक्सिजन सम्बन्धित अस्पतालमै अपुग हुने गरेको छ । अस्पतालका निर्देशक प्रमुख डा. डम्बर खड्काले प्रदेश अस्पतालमा अहिले ५५ बेडमा मात्र पाइपलाइनमार्फत अक्सिजन पु¥याउन सकिएको छ । उनका अनुसार गम्भीर प्रकृतिका बिरामीलाई भने अक्सिजन सिलिन्डर नै आवश्यक पर्ने हुन्छ । अस्पतालको प्लान्टबाट दैनिक मुस्किलले १० वटा सिलिन्डर भर्न सकिने क्षमता रहेको डा. खड्काले बताए ।
प्रदेशको योजना अन्योल
कर्णाली प्रदेशमा मेडिकल अक्सिजन अभावमा थुप्रै नागरिकले अस्पतालका बेडमा ज्यान गुमाइसकेका छन् । आफैसँग ठूलो क्षमताका प्लान्ट नहुँदा लुम्बिनी प्रदेशको नेपालगञ्जबाट अक्सिजन भरेर ल्याउनुपर्ने बाध्यता कर्णालीलाई छ । अक्सिजन अभाव टार्न कर्णाली सरकारले पनि आफ्नै प्लान्ट सञ्चालन गर्ने तयारी गरेको छ । तर, त्यसका लागि प्रक्रिया अघि बढ्न सकेको छैन । गत जेठ २ गतेको प्रदेश मन्त्रिपरिषद्को बैठकले अक्सिजन सिलिन्डर खरिद तथा व्यवस्थापनका लागि ६ करोड बजेट सामाजिक विकास मन्त्रालयलाई दिने निर्णय गरेको थियो । त्यस्तै, बैठकले अक्सिजन कन्सन्ट्रेटर खरिदका लागि पाँच करोड ४० लाख रकम दिने निर्णय समेत गरेको छ । प्लान्ट निर्माण तथा खरिदका प्रक्रिया भने अघि बढाइएको छैन । लामो समयसम्म निर्णय कार्यान्वयनमा नजाँदा प्लान्ट स्थापनाको योजनामा अन्योल देखिएको हो ।
जेठ ११ गतेको मन्त्रिपरिषद् बैठकले पुनः अर्को निर्णय गरेको छ । बैठकले अक्सिजन रिफिलिङ्ग सिस्टमसहितको प्लान्ट सञ्चालनका लागि प्रदेश स्वास्थ्य सेवा निर्देशनालयलाई एक करोड २० लाख र स्वास्थ्य सेवा कार्यालय कालीकोटलाई ८० लाख रूपैयाँ दिने निर्णय गरेको हो । प्रदेश सरकारका यी निर्णय कार्यान्वयनमा गएका छैनन् । संघीय सरकारले समेत प्रदेश अस्पतालमा अक्सिजन प्लान्ट सञ्चालनका गर्न साढे १२ करोड बजेट पठाउने निर्णय गरेको छ । प्रदेश तथा संघीय सरकार लगायत अन्य विभिन्न निकायले निर्णय र घोषणा गरे पनि वीरेन्द्रनगर नगरपालिकाले भने अक्सिजन प्लान्ट स्थापनाको काम नै थालेको हो । साझा बिसौनी दैनिकमा सिता वलीले खबर लेखेकी छन् ।
नेपालीरैबार । २०७८ जेष्ठ १३, बिहीबार