कृषकलाइ खेती लगाउने चटाराे

सल्यान । कोरोनाको महामारी बढेपछि स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरे पनि गाउँमा किसानलाई बाली लगाउने चटारो छ । ग्रामीण क्षेत्रका किसान स्वास्थ्य सुरक्षा मापदण्ड नअपनाएरै खेतीको काममा जुटेका छन् । सल्यानमा झन्डै एक महिनादेखि निषेधाज्ञा जारी छ ।


सदरमुकाम र व्यापारिक केन्द्रमा निषेधाज्ञा पालना गरिए पनि गाउँमा यसको कुनै प्रभाव छैन । दुई सातादेखि दैनिकजसो वर्षा हुन थालेपछि किसानलाई बाली लगाउने व्यस्तताले छोएको हो । अधिकांश गाउँमा धानको ब्याड राख्ने काम सुरु भएको बाग्चौरका कमल शर्माले बताए ।

‘स्वास्थ्य मापदण्ड पालना नगरी सामूहिक रूपमा काम गर्दा कोरोना संक्रमण फैलने खतरा छ,’ उनले भने, ‘स्थानीय तहले ध्यान नदिँदा गाउँमा कोरोना संक्रमण फैलने देखियो ।’ स्थानीय तहले सचेतनामूलक कार्यक्रम सञ्चालन गरे गाउँमा कोरोना संक्रमण फैलन नपाउने उनको भनाइ छ ।

कोरोना महामारी भए पनि जीविकोपार्जनका लागि बाली लगाउनुको विकल्प नभएको शारदा नगरपालिका–८ का किसान रामबहादुर सुनारले बताए । ‘अहिले बाली नलगाए पछि के खाने भन्ने चिन्ता हुन्छ,’ उनले भने, ‘कामका लागि बाहिर गएकाहरू पनि फर्किएपछि बाली लगाउन सजिलो भएको छ ।’ उनले गाउँमा कोरोनाको जोखिम नभएकाले सामूहिक काम गर्न सजिलो भएको बताए ।

परिवारको वर्षभरिको खाना र खर्चको जोहो गर्न पनि बाली लगाउने काममा जुटेको शारदा नगरपालिका–६ बरलाका किसान रेशमबहादुर बस्नेतले बताए । ‘रोगसँग लड्दै खेतीको काममा लागेका छौं,’ उनले भने, ‘परिवारका सबै सदस्य बिहान सबेरैदेखि साँझ अबेसम्म बारीमै व्यस्त हुनुपर्ने अवस्था छ ।’ उनले तीन दिनमा दुई रोपनी जग्गामा मकै लगाएर धानको ब्याड राखेको बताए ।

कोरोनाकै कारण ६ महिनाअघि भारतबाट रोजगारी गुमाएर फर्किएका त्रिवेणी–१ का प्रकाश बस्नेतले परिवार पाल्नका लागि बाली लगाउनुको विकल्प नभएको बताए । ‘उताबाट रोजगारी गुमाएर आइयो, अब बारीमा जति फल्छ त्यसैले परिवार पाल्नुपर्ने बाध्यता छ,’ उनले भने, ‘हाम्रा लागि आर्थिक उपार्जनको माध्यम नै खेती–किसानी हो ।’ उनले चार वर्षदेखि बाँझो रहेको जग्गामा एक साताअघि मकै रोपेको बताए ।

तपाईको प्रतिक्रिया