के तपाईंलाई ज्वरो आउने, खोकी लाग्ने, श्वास फेर्न गाह्रो हुने वा कोरोना भाइरस ‐कोभिड–१९) सँग मिल्लाजुल्दा लक्षण देखिएका छन् ? त्यस्तो समस्या छ भने स्वास्थ्यकर्मीको टोली कोरोना परीक्षणका लागि स्वाब संकलन गर्न तपाईंहरूको टोलमै आउँदै छ । यसअघि साताको तीन दिन एकै ठाउँबाट स्वाब संकलन गर्दै आएको वीरेन्द्रनगर नगरपालिकाले अब भने समुदायस्तरमै पुगेर संक्रमित खोज्न थालेको छ । परीक्षणलाई सहज बनाउन वीरेन्द्रनगर नगरपालिकाले नगर क्षेत्रका ११ स्थानमा स्वाब संकलन गर्न लागेको हो ।
एकै ठाउँबाट सबैलाई सेवा लिन सहज नभएपछि परीक्षणको दायरा बढाइएको छ । एक साता समुदायस्तरमा कोरोना संक्रमणको अवस्थाबारे व्यापक खोजपड्ताल गरिने नगरपालिकाले जनाइएको छ । कोरोना आशंकितले आफूलाई पायक पर्ने केन्द्रमा गएर परीक्षण गर्न सक्नेछन् । नगरपालिकाले यसरी विभिन्न स्थानमा मंगलवारदेखि जेठ २३ गतेसम्मका लागि स्वाब संकलन तथा परीक्षण सुरू गरेको हो । नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख भुपेन्द्र गिरीले कोरोना संक्रमणको ‘चेन ब्रेक’ गर्नका लागि समुदायस्तरमा परीक्षणको दायरा बढाइएको बताए ।
हिजो (मंगलवार) वडा नं. ३ र ७ मा स्वाब संकलन गरिएको थियो । आज (बुधवार) नगरपालिका कार्यालय परिसरमा बिहान ७ बजेदेखि ९ बजेसम्म र वडा नं. १३ को स्वास्थ्यचौकीमा बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म स्वाब संकलन गरिने छ ।
यस्तै, जेठ २० गते वीरेन्द्रनगर–४ स्थित भैरब माध्यमिक विद्यालयमा बिहान ७ बजेदेखि ९ बजेसम्म र सोही दिन विरेन्द्रनगर–९ को स्वास्थ्यचौकी लाटीकोइलीमा ११ बजेदेखि दिउँसो १ बजेसम्म स्वाब संकलन गरिने नगरपालिकाले जनाएको छ । जेठ २१ गते नगरपालिका परिसरमा बिहान ७ बजेदेखि ९ बजेसम्म र वडा नं. १४ गढी स्वास्थ्यचौकीमा बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म स्वाब संकलन हुनेछ ।
त्यसैगरी, जेठ २२ गते वीरेन्द्रनगर–३ मा रहेको स्वास्थ्यचौकी उत्तरगंगामा बिहान ७ बजेदेखि ९ बजेसम्म र वडा नं. ५ मा दिउँसो १ बजेदेखि ३ बजेसम्म, जेठ २३ गते वीरेन्द्रनगर १२ मा रहेको आधारभूत स्वास्थ्यचौकीमा बिहान ७ बजेदेखि ९ बजेसम्म तथा वडा नं. १ को आधारभूत स्वास्थ्यचौकी धारापानीमा बिहान ११ बजेदेखि १ बजेसम्म स्वाब संकलन गरिने बताइएको छ ।
नगरपालिकाले पीसीआर र एन्टिजेन दुवै विधिबाट परीक्षण गरिने बताएको छ । पछिल्लो समय संक्रमणको दरमा पनि कमी हुँदै गए पनि जोखिम कायमै रहेकोले समुदायस्तरमा परीक्षणको दायरा बढाइएको स्वास्थ्य शाखा प्रमुख गिरीले बताए । उनका अनुसार नगरमा अहिले संक्रमण दर ३० देखि ४० प्रतिशत रहेको छ । मंगलवारसम्म वीरेन्द्रनगरमा एक हजार दुई सय बढी सक्रिय संक्रमित छन् । साझा बिसौनी दैनिकबाट
नेपालीरैबार । २०७८ जेष्ठ १९, बुधबार