सबै प्रदेशले बजेट ल्याउँदै : कर्णालीमा आजै नीति तथा कार्यक्रम पारित गरेर बजेट ल्याउने कार्यसूची

काठमाडौं – सातै प्रदेशले आज आगामी आर्थिक वर्ष २०७/७९ को बजेट ल्याउँदैछन्। असार १ गते प्रदेश सरकारहरुले बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्थाअनुसार आज बजेट ल्याउन लागेका हुन्।

सबै प्रदेशको नीति तथा कार्यक्रममा कोरोना महामारी नियन्त्रण, संक्रमितको उपचार लगायत स्वाथ्य पुर्वाधार निर्माणलाई प्राथमिकता दिइएकाले बजेटको प्राथमिकता पनि सोहि अनुसार हुने प्रदेश सरकारहरुले जनाएका छन्।

गण्डकी र कर्णाली प्रदेश बाहेक सबै प्रदेशमा नीति तथा कार्यक्रम पारित भइसकेको छ । गण्डकी प्रदेशको नीति तथा कार्यक्रम आज पारित गरेर आजै चार बजे बजेट प्रस्तुत गरिने प्रदेशसभा सचिवालयले जनाएको छ। गण्डकी प्रदेशसभा बैठक आज विहान १० बजे बस्ने छ।

त्यस्तै कर्णाली प्रदेश सभा दिउँसो एक बजे बस्ने बैठकमा नीति तथा कार्यक्रम पारित गरेपछि बजेट ल्याउने कार्यसूची रहेको प्रदेशसभा सूचना अधिकारी उपेन्द्रकुमार गुरुङले जानकारी दिए।

प्रदेश नम्बर एक, दुई , बागमती प्रदेश र लुम्बिनी प्रदेशको बैठक दिउँसो तीन बजे बस्दैछ। लुम्बिनी प्रदेशको बैठक दिउँसो चार बजे बस्ने प्रदेश सभाका सूचना अधिकारी दिनेश अधिकारीले जानकारी दिए।

तपाईको प्रतिक्रिया