पहिराेले जुम्लामा १० घर भत्किए, विद्यालयमा पनि क्षती

सुर्खेत । अविरल वर्षाका कारण जुम्लामा १० घर भत्किएका छन् । जिल्लाकाे हिमा गाउँपालिकाकाे वडा नम्बर ६ र ७ मा आइतबारदेखि परको अविरल वर्षाका घर भत्किएका हुन् ।

तस्वीर साैजन्य महेश नेपाली जुम्ला ।

घर भत्किएसँगै थप ८० घर पहिरोको उच्च जोखिममा परेका छन् । वर्षाका कारण खल्ढुङ्गा स्थित रत्नराज अधिकारी, भक्त अधिकारी, मुनराज अधिकारी, पुन्न अधिकारी, सिहं अधिकारी, नय अधिकारी, दलिवाडा स्थित रति दमाई, गज दमाई र डाँडाबाडा स्थित सुर्ज शाही, परेक शाहीका घर भत्किएको स्थानीय धर्मेन्द्र अधिकारीले जानकारी दिए ।

त्यस्तै वडा नम्बर ६ स्थित जनता शिव प्रथामिक विद्यालयको फिल्ड र भवनलाई पहिरोले पूर्ण रुपले क्षति पुर्‍याएको छ । ७ नम्बर वडाको खल्ढुङ्गा वालविकास केन्द्रको भवन, शौचालय र खेल मैदान पूर्ण रुपले क्षति भएको स्थानीयकाे भनाइ छ ।

‘भिरालो ठाउँमा बस्ती भएकोले गाउँभन्दा तलबाट पहिरो र माथिबाट ढुंगा खस्ने गरेका छन्,’ स्थानीयबासी अधिकारीले भने, ‘निरन्तरको मुसलधारे पानीले गर्दा गाउँको ८० घरका बासिन्दा बाढी पहिरोको त्रासले घर छोडेर पाल मुनि ओत लागेर बसिरहेका छन् ।’

हालसम्म स्थानीय सरकार र संघसंस्थाबाट जोखिम अवस्थाको बारेमा जानबुझ नगरिएको स्थानीय बासिको गुनासो छ । २०७७ सालमै कर्णाली प्रदेश सरकारले उक्त गाउँलाई जोखिम युक्त गाउँ भनी घोषणा गरिसकेको र बस्तीलाई सुरक्षित ठाउँमा स्थानान्तरण गर्ने भने पनि कार्यान्वयन प्रक्रिया अगाडि नबड्दा समस्या आएको स्थानीय बताउँछन् ।

तपाईको प्रतिक्रिया