को हुन् स्विस बैंकमा पैसा राख्‍ने तीन नेपाली ?

काठमाडौं । स्विस बैंकमा नेपालीको मौज्दात रकम बढ्दै गएको पाइएको छ। गम्भीर अपराध तथा गैरकानुनी कार्यबाट आर्जित रकम बचत गरिदिने र उच्चस्तरीय गोपनीयता राख्ने गरेकाले पनि स्विसमा बैंकमा नेपालीको मौज्दात रकम बढ्दै गएको हो।

यो बचत कसको र कति जना नेपालीको हो भन्नेबारे स्विस बैंकले सार्वजनिक गर्दैनन्। स्विस बैंकले बचतकर्तालाई उच्चस्तरको गोपनीयता कायम गरिदिन्छन् र कमस्तरको वित्तीय जोखिमको व्यवस्था गरेका छन्। गम्भीर प्रकारका अपराध, करछली, भ्रष्टाचार, मानव तथा हतियार बेचबिखनलगायत गैरकानुनी कार्यबाट आर्जित रकम राखिदिने गरेको आरोप स्विस बैंकमाथि छ।

हालसम्म स्विस बैंकमा रकम जम्मा गरेकामध्ये तीन जना नेपालीको नाम मात्रै सार्वजनिक भएको छ। सन् २०१९ जनवरीमा खोज पत्रकारहरूको अन्तर्राष्ट्रिय सञ्जाल ‘द इन्टरनेसनल कन्सोर्टियम अफ इन्भेस्टिगेटिभ जर्नालिस्ट्स’ (आईसीआईजे) र नेपालस्थित खोज पत्रकारिता केन्द्र (खोपके) ले सार्वजनिक गरेको विवरणअनुसार स्विस बैंकले बचतकर्तामा लन्डनमा बस्दै आएकी नेपाली नागरिक मिनु शाह छिब्बर र उनका दुई छोरा पनि हुन्।

बानेश्वरस्थित गंगादेवी टोलमा घर ठेगाना उल्लेख गरेर स्विस बैंकमा उनीहरूले पैसा जम्मा गरेका हुन्। मिनुको स्थायी ठेगाना ललितपुरको कुपण्डोल हो, जहाँ उनको ‘छिब्बर निवास’ नै छ। मिनु र उनका दुवै छोराले सन् २००६/०७ मा ७८ लाख ५० हजार ९९१ का दरले (२ अर्ब ६१ करोड ४३ लाख ८० हजार रूपैयाँ) बचत गरेको विवरण सार्वजनिक भएको थियो। यी नाम र अन्य विवरण पटक–पटक सार्वजनिक भए पनि यसबारे अनुसन्धान गर्नुपर्ने नेपालका निकाय बेखबरजस्तै छन्।

यस्तै स्विस नेसनल बैंकले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार स्विट्जरल्यान्डका बैंकमा सन् २०१९ को तुलनामा २०२० मा नेपालीको बचत दोब्बर भएको छ। नेपालीको बचत सन् २०१९ सम्ममा १७ करोड ५८ लाख ६५ हजार २४१ स्विस फ्र्यांक (हालको विनिमय दरअनुसार २२ अर्ब ७३ करोड ४० लाख ९९ हजार ८१० रूपैयाँ) थियो।

सन् २०२० मा बचत ३६ करोड ८ लाख २२ हजार ५ सय ५१ स्विस फ्र्यांक (हालको विनिमय दरअनुसार ४६ अर्ब ६४ करोड ३५ लाख ३१ हजार २५१ रूपैयाँ) पुगेको छ। नेपालीको बचत सन् २०१७ पछि लगातार दुई वर्ष घटेको थियो। स्विस नेसनल बैंकले सार्वजनिक गरेको विवरणअनुसार सन् २०१७ सम्म नेपालीको बचत ४१ अर्ब ७३ करोड ९२ लाख २३ हजार २०५ श्रूपैयाँ (हालको विनिमय दरअनुसार) थियो।

२०१८ मा ३२ अर्ब १६ करोड ५ लाख ८७ हजार ८४८ रूपैयाँमा झर्‍यो। २०१९ मा अझ घटेर २२ अर्ब ७३ करोड ४० लाख ९९ हजार ८१० रूपैयाँमा पुग्यो। २०२० मा भने दोब्बर भएको हो। यो रकम ब्याजसहितको हो। स्विस नेसनल बैंकले नेपालसहित विश्वभरका नागरिकको के कति मौज्दात छ भनेर सन् १९९६ (वि.सं. २०५२० देखिको विवरण सार्वजनिक गरेको छ।

द्वन्द्व सुरु भएकै वर्ष १९९६ देखि २०२० सम्म नेपालीले ६६ अर्ब १९ करोड २६ लाख रूपैयाँ (हालको विनिमय दरअनुसार) जम्मा गरिसकेको देखिन्छ। तर हालको मौज्दात त्यति नहुनुले नेपालीले बचत राख्ने र झिक्ने गरिरहेको देखाउँछ। यो खबर कृष्ण आचार्यले कान्तिपुरमा लेखेका छन्।

तपाईको प्रतिक्रिया