कर्णाली प्रदेशमा हालसम्म कोरोनाबाट तीन सय तीनको मृत्यु

कर्णाली प्रदेशमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट हालसम्म तीन सय तीन जनाको ज्यान गएको छ । कोरोना संक्रमणबाट सबैभन्दा धेरै सुर्खेतमा एक सय ७५ जनाको मृत्यु भएको छ । प्रदेशभर अहिलेसम्म २८ हजार तीन सय ३७ जना संक्रमित भएका छन् । पहिलोभन्दा दोस्रो लहरको संक्रमणले ठूलो मानवीय क्षति गरेको हो । संक्रमणको पहिलो लहरमा प्रदेशभर २५ जनाको मृत्यु भएको थियो भने दोस्रो लहरमा दुई सय ७८ जनाको ज्यान गइसकेको छ ।

प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका अनुसार अहिलेसम्म २४ हजार आठ सय ९८ जनाले कोरोना जितेका छन् । पछिल्लो समय संक्रमण र मृत्युदर दुवैमा कमी आएको छ । संक्रमणको जोखिम भने कायमै रहेको जनस्वाथ्यकर्मीहरू बताउँछन् । निषेधाज्ञा खुकुलो पारिएकाले पुनः संक्रमणको जोखिम बढ्न सक्ने उनीहरूको भनाइ छ । कर्णालीमा बुधवारसम्म एक हजार दुई सय ६६ सक्रिय संक्रमित छन् ।

यस्तै, बुधवार थप एक सय दुई जनामा कोरोना पुष्टि भएको छ । आरटी– पीसीआर विधिबाट १४ जना र रेपीड–एन्टिजेनबाट गरिएको परीक्षणमा ८८ जनामा कारोना भाइरस संक्रमणको पुष्टि भएको हो ।

साझा बिसौनी दैनिकबाट

तपाईको प्रतिक्रिया