२२ वैशाख, काठमाडौं । राष्ट्रिय सूचना आयोगले गोपनियताको सपथ गराउने प्रचलन हटाउन सरकारको ध्यानाकर्षण गरेको छ। आयोगका प्रमुख सूचना आयुक्त कृष्णहरि बाँस्कोटाले नागरिकको सूचना पाउने संवैधानिक हक प्रतिकूल हुने गरी दिइँदै आइएको गोपनीयताको सपथ खुवाउने प्रचलन तत्काल हटाउन सरकारसँग माग गरेका छन्। आइतबार आयोगको ११ औं स्थापना दिवसको अवसर पारेर काठमाडौंमा आयोजित कार्यक्रममा बाँस्कोटाले राणाकाल र पञ्चायतकालको झल्को दिने गरी गोपनीयताको सपथ खुवाउने तथा सरकारी कागजातहरुमा गोप्य र अतिगोप्य छाप लगाउने प्रचलनलाई अझै पनि निरन्तरता दिइएकोमा आपत्ति जनाए। उनले सूचना पाउने संवैधानिक हकको उपयोग गर्न पनि सबै नागरिकलाई आह्वान गरे । सूचनाको हकलाई प्रत्याभूति गराउन सरकारले २०६५ वैशाख २२ गते राष्ट्रिय सूचना आयोगको गठन गरेको थियो। आयोगले सूचना ऐनमार्फत् नागरिकको सूचनाको हकलाई प्रत्याभूति गराउन सरकारी तथा गैरसरकारी संस्थाहरुलाई सचेत गराउँदै आएको छ।
Thahakhabar
सुरेश आचार्य । २०७६ बैशाख २२, आईतवार