मध्यअसारमा ५० प्रतिशत रोपाइँ

आज १५ असार । यतिबेला किसानहरूलाई धान रोप्ने चटारो छ । असारलाई मानो रोपेर मुरी उब्जाउने महिनाका रूपमा पनि लिइन्छ । हिजो–आज रोपाइँको सिजन भएकाले किसानलाई खेतबारीको कामले भ्याइनभ्याइ छ । यस पटक मनसुन समयमै सक्रिय भयो । मनसुन चाँडै भित्रिएका कारण पनि रोपाइँ छिटो सुरू भयो ।

आकाशे पानीको भरमा धान रोप्नुपर्ने कर्णाालीका अधिकांश ठाउँमा समेत रोपाइँ गरिसकिएको छ । प्रदेश कृषि विकास निर्देशनालयका अनुसार कर्णालीमा ५० प्रतिशत रोपाइँ सम्पन्न भएको छ । निर्देशनालयका सूचना अधिकारी याम रानाले पहाडी जिल्लाका धेरैजसो ठाउँमा रोपाइँ भइसकेको जनाए । सिँचाइ सुविधा भएका र खोलाको आसपासमा रहेका खेतहरूमा रोपाइँ सकिएका हुन् । मौसमले साथ दिएर बेलैमा धमाधम खेत रोप्न पाएपछि किसानहरू हर्षित भएका छन् ।

निर्देशनालयका अनुसार मध्य असारसम्म जुम्लामा सबैभन्दा बढी ९० प्रतिशत रोपाइँ भएको छ । हुम्ला र डोल्पामा ८०/८० प्रतिशत, मुगुमा ७०, रुकुम–पश्चिम र जाजरकोटमा ६५÷६५ प्रतिशत खेतमा रोपाइँ गरिएको छ । त्यस्तै, सल्यानमा ६० प्रतिशत, दैलेखमा ४५ प्रतिशत र सुर्खेतमा २० प्रतिशत रोपाइँ भइसकेको निर्देशनालयले जनाएको छ । कर्णालीमा धान खेती हुने ४१ हजार पाँच सय पाँच हेक्टर क्षेत्रफलमध्ये २० हजार चार सय बढी हेक्टर क्षेत्रफलमा धान रोप्ने काम सकिएको हो ।

यस पटक समयमै आधा रोपाइँ सकिएकाले उत्पादन पनि राम्रो हुने अपेक्षा गरिएको छ । ‘खोलाको आसपासका अधिकांश क्षेत्रमा धान रोपिएको छ । आकाशकै पानीको भर पर्नुपर्ने ठाउँमा पनि अहिले पानी परिरहेकोले रोपाइँ सुरू भइसकेको छ,’ निर्देशनालयका सूचना अधिकारी रानाले भने । गतवर्ष धानको उत्पादकत्व प्रतिहेक्टर तीन दशमलव ९५ प्रतिशत रहेकोमा यो वर्ष वृद्धि हुने अनुमान गरिएको छ । कर्णाली प्रदेशमा खासगरी मार्सी, हाइब्रिड, शंकर–३१२, खुक्खा–१, २, ३ र ५ लगाउने गरिन्छ । यी जातका धानको उत्पादन समेत बढी हुने गरेको छ ।

कर्णालीका अन्य जिल्लामा धान रोपाइँ चलिरहेका बेला जुम्लामा भने धान गोड्न थालिएको छ । अहिले जुम्लाका किसान धानबाली गोडमेल गर्न व्यस्त देखिन्छन् । विश्वकै उच्च स्थानमा धान फल्ने स्थान जुम्लाको छुमचौर ज्युलोदेखि खसभाषाको उद्गम स्थल सिंजा क्षेत्र लगायतका सबै धानखेतहरूमा यतिखेर धान गोड्ने भइसकेको छ । सामान्यतया अन्य जिल्लामा असारमा धान रोप्ने भए पनि जुम्लामा भने जेठमै रोपाइँ गरिन्छ । चिसोका कारण ढिलो रोपेको धान नपाक्ने हुनाले यहाँ जेठमै धान रोप्ने गरिएको हो ।

२६ हजार मेट्रिक टन खाद्यान्न अपुग

कर्णाली प्रदेशमा हरेक वर्ष खाद्य संकट हुन्छ । जाजरकोट, कालीकोट, जुम्ला, हुम्ला, डोल्पा र मुगुमा खाद्यान्न अपुग हुने गरेको हो । प्रदेशमा बर्सेनि झन्डै २६ हजार मेट्रिक टन खाद्यान्न अभाव छ । निर्देशनालयका अनुसार कर्णालीमा तीन लाख १६ हजार तीन सय ९१ मेट्रिक टन हाराहारीमा धान उत्पादन हुन्छ । यहाँ तीन लाख ४८ हजार सात सय ३२ मेट्रिक टन खाद्यान्न आवश्यक पर्छ ।

कर्णालीका सुर्खेत, सल्यान, रुकुम–पश्चिम र दैलेख मात्रै खाद्यमा आत्मनिर्भर छन् । खाद्यान्न अभाव हुने जिल्लाहरूमा सरकारले अनुदानको चामल बिक्री वितरण गर्दै आएको छ । स्थानीय उत्पादन प्रर्याप्त नहुँदा सरकारले ढुवानीमा अनुदान दिए पनि पहाडी तथा हिमाली जिल्लाका बासिन्दाले खाद्य अभाव झेल्दै आएका छन् ।

निर्देशनालयको तथ्याङ्कअनुसार कालीकोटमा ११ हजार ६ सय ४१ मेट्रिक टन खाद्यान्न अपुग छ । हुम्लामा आठ हजार दुई सय ७३, जुम्लामा सात हजार ३०, मुगुमा पाँच हजार चार सय ४४, डोल्पामा तीन हजार एक सय ६९ र जाजरकोटमा दुई हजार आठ सय ५५ मेट्रिक टन खाद्यान्न अपुग हुने गरेको हो । खाद्य सुरक्षित भएका जिल्लाहरू सल्यानमा आठ हजार सात सय ४३, रुकुम–पश्चिममा एक हजार पाँच सय ७२, सुर्खेतमा एक हजार ७४ र दैलेखमा एक हजार पाँच मेट्रिक टन सञ्चित हुन्छ ।

कर्णालीममा सिँचाइको अभावले पनि सबैजसो खेतीयोग्य जमिनमा बाली लगाउने गरिएको छैन । खेतीयोग्य धरै जमिन अहिले पनि बाँझै छ । दुई लाख १६ हजार आठ सय ८० हेक्टर खेतीयोग्य जमिनमध्ये वर्ष भरी सिँचाइ हुने जमिन ३८ हजार ३३ हेक्टर मात्र छ । ३० हजार तीन सय दुई हेक्टरमा आंशिक सिँचाइ हुन्छ । त्यसबाहेकको खेती हुने थुप्रै उर्वर क्षेत्रमा सिँचाइ सुविधा छैन ।

पर्याप्त छ मल

धान रोप्ने सिजनमा मलको अभाव हुन्थ्यो । हरेक वर्ष मल नपाएर किसानहरू हैरान हुन्थे । यो पटक भने मल पर्याप्त छ । असार लागेसँगै मल बिऊको पिरलो हुने किसानले यसपालि हैरानी खेप्नु परेन । सहजै रासायनिक मल उपलब्ध भएको हो ।

कर्णालीमा साल्ट टे«डिङ्ग कर्पोरेशन लिमिटेड शाखा सुर्खेत र कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालयले मल बिक्री–वितरण गर्दै आएका छन् । नेपाल सरकारले रासायनिक मलका लागि विनियोजन गरेको बजेटमध्ये साल्ट टे«डिङ्ग कर्पोरेशन लिमिटेडले ३० प्रतिशत र कृषि सामग्री कम्पनी लिमिटेडले ७० प्रतिशत बजेट प्राप्त गर्छन् । सरकारबाट प्राप्त अनुदानमार्फत मल खरिद गरी कृषकलाई वितरण गरिँदै आएको हो । आपूर्तिकर्ता यी सरकारी स्वामित्वका कम्पनीहरूले यो वर्ष मल पर्याप्त रहेको जनाएका छन् । यसपालि धान रोपाइँ सुरू नहुँदै ११ हजार क्वीन्टलभन्दा बढी मल वितरण गरिसकिएको थियो । गतवर्ष मल आपूर्तिमा समस्या भए पनि अहिले सहज रूपमा उपलब्ध भइरहेको हो ।

बाली सप्रिने र उत्पादन बढ्ने भएकाले पछिल्ला वर्षहरूमा रासायनिक मलप्रति कर्णालीका किसानहरूको पनि आकर्षण बढेको छ । बस्तुभाउ पालेर खेतबारीका लागि प्राङ्गारिक मल बनाउने किसानहरूले रासायनिक मलको प्रयोग गर्न थालेका छन् । अन्य जिल्लाको तुलनामा सुर्खेत र दैलेखमा रासायनिक मलको खपत धेरै छ । साझा बिसौनी दैनिकमा समाचार छ। 

तपाईको प्रतिक्रिया