
काठमाडाैं । औषधि व्यवस्था विभागले अनुमति दिएसँगै नेशनल हेल्थ केयरले नेपालमै रेम्डेसिभिरको उत्पादन गरी वितरण सुरु गरेको छ ।
कम्पनीको ओमिमा डिभिजनका बजार मार्केटिङ अफिसर केदार बिक्रम निरौलाका अनुसार मंगलबारबाट रेम्डेसिभिरको वितरण सुरु भएको हो ।
उनले भने, ‘आइतबारबाट हामीलाई वितरण गर्ने अनुमति प्राप्त भएपछि देशभरका डिलरहरुबाट करिब दुई सय भाइल बिक्री गरेका छौं ।’
औषधि व्यवस्था विभागले वैशाख ३१ गते कम्पनीलाई रेम्डेसिभिरको उत्पादनको अनुमति दिएको थियो ।
आइतबार कम्पनीलाई बिक्री वितरणको पनि अनुमति प्राप्त भएसँगै सोमबारबाट देशभर रहेका कम्पनीका आधिकारिक वितरण केन्द्रबाट रेम्डेसिभिरको वितरण सुरु गरिएको निरौलाले बताए ।
हाल नेशनल हेल्थ केयरसँग पहिलो चरणमा उत्पादन भएका १५ हजार भाइल रेम्डेसिभिर रहेका छन् । यीमध्ये सोमबारबाट वितरण गर्दा करिब दुई सय भाइल बिक्री भइसकेको छ ।
आइतबार कम्पनीले निकालेको विज्ञप्तिअनुसार उत्पादित रेम्डेसिभिरको नाम रेम्सिभि राखिएको छ भने कम्पनीले अधिकतम खुद्रा मूल्य (एमआरपी) ३५ सय राखेको छ ।
कम्पनीका मार्केटिङ अफिसर निरौला भन्छन्, ‘महामारीमा विदेशबाट आयात गरेर बिक्री गर्ने मूल्यभन्दा निकै कम मूल्यमा यसको बिक्री थालेका छौं । कच्चा पदार्थ खरिद गर्ने र उत्पादनमा लाग्ने खर्चमै सिमित भएर यसको मूल्य तोकिएको छ ।’
यसअघि विभिन्न देशबाट आयात गरी ल्याइएका रेम्डेसिभिरको बिक्रीका लागि स्वास्थ्य मन्त्रालयले चार हजार ९ सय रुपैयाँ तोकेको थियो भने वितरण पनि अव्यवस्थित तरिकाले हुने र कालोबजारी भइरहेको थियो ।
नेशनल हेल्थ केयरले भने आफूले उत्पादन गरेको रेम्डेसिभिर आफ्नै आधिकारिक बिक्री वितरण केन्द्रमार्फत मात्रै खरिद गर्न पाइने व्यवस्था गरी कालोबजारी हुन नदिने प्रयत्न गरेको निरौलाले बताए ।
उनी भन्छन्, ‘हामीले देशभरका डिलरबाट मात्रै खरिद गर्न पाउने व्यवस्था गरेका छौं । आफ्ना डिलरभन्दा बाहिर गएर यसको बिक्री वितरण नगर्ने व्यवस्था छ । यसले पनि कालो बजारी हुन नदिनेमा हामी ढुक्क छौं ।’
कम्पनीमा पहिलो चरणमा १५ हजार भाइल उत्पादन भए पनि कम्पनीको हालको क्षमता एक चरणमै ४० हजार भाइलसम्म उत्पादन गर्न सक्ने रहेको निरौलाले बताए ।
वीरगञ्जमा रहेको औषधि कारखानाबाट उत्पादन हुने रेम्डेसिभिर उत्पादनको क्षमताले देशमा आवश्यक हुने मात्रालाई धान्ने उनी बताउँछन् ।
उनले भने, ‘अहिले १५ हजार उत्पादन गरेका छौं । आवश्यक पर्दा एक ब्याचमा ४० हजार उत्पादन गर्ने क्षमता अहिले हामीसँग छ ।’

सुरेश आचार्य । २०७८ असार १५, मंगलवार