ठूलो परिमाणमा नक्कली भारतीय रुपैयाँसहित समातिए युनुस अन्सारी

१० जेठ, काठमाडौं । प्रहरीले करोडौंको भारतीय जाली नोटसहित चारजनालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको छ। कतारको दोहाबाट काठमाडौं आएको कतार एयरवेजको जहाजमा आएका तीनजना पाकिस्तानीबाट करोडौँको भारतीय जाली नोट प्रहरीले बरामद गरेको हो ।  अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका डिएसपी नारायण रञ्जीतकारका अनुसार तीनवटा सुटकेसमा जाली नोट ल्याइएको भेटिएको छ। ‘अहिलेसम्म हामीले एउटा सुटकेसको जाली नोट गन्‍न भ्याएका छौँ’, डिएसपी रञ्जीतकारले थाहाखबरसँग भने, ‘अन्य दुईवटा सुटकेसको गन्‍न बाँकी छ। गनिसकेको जाली नोट तीन करोड ५० लाख भन्दा धेरै छ।’ रञ्जीतकारका अनुसार यसअघि जाली नोट प्रकरणमा जेल बसिसकेका युनुस अन्सारी उक्त नोट बुझ्न विमानस्थल पुगेका थिए । उनलाई पनि प्रहरीले विमानस्थलबाटै पक्राउ गरी हिरासतमा लिइसकेको छ।  ‘अहिले मुचुल्का उठाइरहेका छौँ’, डिएसपी रञ्जीतकारले भने, ‘बाँकी दुईवटा सुटकेसमा पनि रहेको आशंका छ। त्यो खोलेर गनिसक्दा अझै धेरै परिमाणको जाली नोट हुन सक्छ।;’

तपाईको प्रतिक्रिया