काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७८/०७९ को मौद्रिक नीति निर्माणको क्रममै रहेकाले उपयुक्त समयमा ल्याइने बताएको छ। आइतबार न्यूज एजेन्सी नेपालसँग कुरा गर्दै नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा प्रवक्ता देवकुमार ढकालले मौद्रिक नीति ल्याउने सन्दर्भमा सरोकारवालाहरु सँग छलफल भइरहेको भन्दै उपयुक्त समयमा ल्याइने बताएका हुन्।
पूर्व-गर्भनरहरुसँग छलफल गर्न बाँकी नै रहेको उनले बताए। सुझाव संकलन गरिरहेको र आन्तरिक तयारी गरिरहेको उनले बताए। उनले भने, ‘आर्थिक वर्ष २०७८÷७९ को मौद्रिक नीति निर्माणको क्रममा विभिन्न सरोकारवाला निकायहरुसँग सुझाव संकलन गर्ने कार्य हामीले सम्पन्न गरिसकेका छौँ। एक दुईवटा सरोकारवाला खासगरी पूर्व गर्भनरज्यूहरुसँग सुझाव संकलन गर्ने काम बाँकी छ। र सो सुझाव संकलनको आधारमा हामी मौद्रिक नीतिको निर्माणको आन्तरिक तयारी पनि सँगसँगै गरिरहेको अवस्था छ।’
सरकारले आर्थिक वर्ष २०७८÷०७९ बजेट अध्यादेशबाट ल्याएको र हाल सरकारसमेत परिवर्तन भएको सन्दर्भमा मौद्रिक नीति कहिले आउँछ भन्ने चासोको विषय बनेको छ।
नेपालीरैबार । २०७८ श्रावण ३, आईतवार