समकक्षी मोदीको शपथमा भाग लिन दिल्ली आइपुगे प्रधानमन्त्री ओली

१६ जेठ, नयाँदिल्ली।   भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहण समारोहमा सरिक हुन प्रधानमन्त्री केपी ओली दिल्ली आइपुगेका छन् । ओली राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको नियमित उडानबाट अपराह्न तीन बजे दिल्लीको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय हवाई अड्डामा ओर्लिएका हुन् ।

हवाई अड्डामा प्रधानमन्त्रीओलीलाई भारतीय विदेश मन्त्रालयका सचिव (पश्चिम) ए गितेश शर्माले स्वागत गरेका थिए। ओलीलाई स्वागत गर्न नेपाली राजदूत निलाम्बर आचार्य र नेपालका लागि भारतीय राजदूत मन्जिब सिंह पुरीको समेत उपस्थिति थियो। दिल्ली आउने प्रधानमन्त्रीको टोलीमा प्रमुख परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराई र परराष्ट्र सचिव शंकरदास बैरागीसहित उच्च अधिकारीहरु रहेका छन्।

ओली राष्ट्रपति कार्यालयमा साँझ करिब सात बजे हुने मोदी र उनको मन्त्रिमण्डलको शपथ ग्रहण कार्यक्रममा सरिक हुनेछन्। कार्यक्रममा बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (विमस्टेक) का सदस्य राष्ट्रका सरकार तथा राष्ट्र प्रमुखसँगै मोरिससका प्रधानमन्त्री र किर्गिस्तानका राष्ट्रपति लगायत विशिष्ट पाहुनाहरु उपस्थिति बताइएको छ। पाँच वर्षअघिको शपथ ग्रहणमा भने दक्षिण एसियाली सहयोग संगठन (सार्क) का सरकार प्रमुखहरुलाई निम्तो गरिएको थियो।

भारतीय सञ्चारमाध्यमहरुका अनुसार बिहीबारको शपथ ग्रहण समारोहमा करिब ६ हजार पाहुनालाई निम्तो गरिएको छ। प्रधानमन्त्री ओलीले शपथ ग्रहण समारोहपछि भारतीय राष्ट्रपति कोविन्द र विमस्टेक राष्ट्रका सरकार तथा राष्ट्र प्रमुखहरुसँग पनि संक्षिप्त भेट गर्ने बताइएको छ। त्यसपछि उनी राष्ट्रपति कार्यालयमै हुने रात्रिभोजमा समेत सहभागी हुनेछन्।

प्रधानमन्त्री ओली र भारतीय समकक्षी मोदीबीच शिष्टाचार भेटवार्ता भने शुक्रबार बिहानका लागि तय भएको छ। स्रोतका अनुसार बिहानको खाजा खाने गरी हैदरावाद हाउसमा हुने उक्त भेटवार्ता करिब आधा घन्टाको हुनेछ। भेटवार्ता द्विपक्षीय मुद्दाहरुमा भन्दा पनि नेपाल-भारत सम्बन्धका समग्र आयाममा केन्द्रित हुने बताइएको छ। स्रोतका अनुसार ओलीले सोही भेटमा भारतका नवनियुक्त प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको औपचारिक निम्तोसमेत दिनेछन्।

डेढ वर्षअघि दोस्रो पटक प्रधानमन्त्री भए यता ओलीको यो दोस्रो भारत भ्रमण हो। यसअघि २०७४ सालको चैतमा ओलीले भारतको औपचारिक भ्रमण गरेका थिए। भ्रमणले चार वर्षअघि भारतद्वारा नेपालमाथि लगाएको नाकाबन्दी र त्यसको विरोधमा नेपालले लिएको अडान कारण मोदी र ओलीको सम्बन्धमा देखिएको अविश्वास र तिक्तता हटाउन सघाएको विश्वास गरिएको थियो। ओलीको भ्रमणलगत्तै मोदीले पनि नेपालको भ्रमण गरेका थिए। पछि फेरि काठमाडौंमा भएको विमस्टेकको चौथो शिखर सम्मेलनमा पनि मोदी सहभागी थिए।

यी दुई पक्षीय भ्रमणले मोदी र ओलीबीच विश्वासिलो सम्बन्ध बनेको दाबी गरिँदै आएको थियो। तर, विमस्टेक सम्मेलनलगत्तै पुणेमा सम्पन्न विमस्टेक राष्ट्रहरुको संयुक्त सैन्य अभ्यासबाट अन्तिम समयमा नेपालले सहभागिता नजनाउने निर्णय गरेपछि मोदी र ओलीबीचको सम्बन्धमा पुनः दरार देखिन पुग्यो।

त्यसपछि नेपालले तेस्रो मुलुक व्यापारका लागि उत्तरी छिमेकी चीनसँग पारवहन सम्झौतासँगै बिआरआई परियोजनाप्रति पूर्ण समर्थन जनाएपछि त झन् दिल्लीमा नेपाल चीनसँग अलि बढी नै नजिक हुँदै गएको विश्लेषण हुँदै आएको थियो। यसर्थ शुक्रबार बिहान मोदी र ओलीबीच हुने भेटले दिल्लीको नेपालप्रतिको त्यस किसिमको शंका निवारण गर्न र दुई प्रधानमन्त्रीबीच आपसी विश्वास कायम गराउन केही हदसम्म सघाउने अपेक्षा दुवै पक्षले गरेको छ।

ओली शुक्रवार ३:४० को निगमकै नियमित उडानबाट स्वदेश फर्कने कार्यक्रम छ। ओली डिप्लोमेटिक इन्कलेभस्थित होटल ताज प्यालेस होटलमा बस्ने तय भएको छ।

तपाईको प्रतिक्रिया