हुवावे–गुगल प्रतिबन्धको कथा

काठमाडौं।वायरलेसको दुनियाँमा पछिल्लो समय हुवावेले ठूलो छलाङ मारिरहेको छ। विश्वको सबैभन्दा ठूलो टेलिकम सप्लायर्स र दोस्रो ठूलो स्मार्टफोन कम्पनीको रूपमा रहेको हुवावेको योजना सन् २०२० सम्म विश्वको सबैभन्दा ठूलो मोबाइल कम्पनीका रूपमा स्थापित हुनु हो।

चिनियाँ कम्पनी हुवावेले विश्वमा एप्पलको आईफोनभन्दा बढी फोन बेच्छ। सबैभन्दा धेरै सामसङ र दोस्रोमा हुवावे नै हो। कम्पनीको योजना सन् २०२० सम्म सामसङलाई पछि पार्दै अघि बढ्ने छ। उक्त योजनामा कम्पनीको पछिल्लो फ्ल्यागसीप प्रोडक्ट ‘पी२०प्रो’ ले निकै ठूलो साथ दिएको पनि थियो। सन् २०१८ मा ब्रिटेनमा सार्वजनिक भएको उक्त स्मार्टफोनले लिएको बजार र ग्राहकबाट आएको सकारात्मक प्रति क्रियाले कम्पनीलाई आफ्नो योजना नजिक पुर्‍याएको थियो। समीक्षक नै पी२०प्रो सामसङ र आईफोनको मुख्य प्रतिस्पर्धी भएको बताउँदै आएका थिए।

तर सन् २०१९ हुवावेका लागि सबैभन्दा चुनैतिपूर्ण वर्षको रूपमा देखापर्‍यो। अहिले देखिएको हुवावे–अमेरिका बीचको समस्याले हुवावेको २०–२० योजनालाई नै धक्का पुग्ने अनुमान गर्न थालिएको छ। हुन पनि यतिबेला अमेरिकाले हुवावेविरुद्ध आफ्नो सबैभन्दा ठूलो तुरूप प्रयोगमा ल्याएको छ। त्यो हो गुगलको प्रोडक्ट प्रयोगमा हुवावेलाई प्रतिबन्ध। योसँगै हुवावेले आफ्ना प्रोडक्टमा प्रयोग गर्दै आएको अपरेटिङ सिस्टम ‘एन्ड्रोइड’ प्रयोगमा ल्याउन पाउने छैन। सोमबार अमेरिकी कम्पनी गुगलले एन्ड्रोइड अपरेटिङ सिस्टमका आफ्ना केही एप्स हुवावे आगामी दिनमा बन्ने हुवावेका मोबाइलमा नराख्ने निर्णय गरेको थियो । जसमा जीमेल, गुगल प्लेस्टोर, गुगल म्याप, गुगल क्रोम, युट्यूब, गुगल सर्चलगायतका एप्स छन्।

यद्यपि मंगलबार अमेरिकाले पुनः गुगललाई हुवावेसँग व्यापार गर्न तीन महिनाको अनुमति प्रदान गरेको छ। यसले हुवावेलाई आमागी ९० दिनसम्मका लागि भने पनि केही राहत भने मिलेको छ। हाललाई राहत मिलेको भएता पनि अमेरिकाले हाल चालेको तुरूपको पासा पल्टाउन हुवावेलाई निकै कठिन यात्रा तय गर्नुपर्नेछ। तर असम्भव भने छैन। गुगलले गरेको प्रतिबन्धको निर्णयपछि हुवावेले एन्ड्रोइडको विकास र विस्तारमा कम्पनीको पनि योगदान रहेको भन्दै विश्वव्यापी ग्राहकका लागि सुरक्षित र भरपर्दो सफ्टवेयर बनाउने जनाइसकेको छ।

अब हुवावेले स्मार्टफोनमा आफ्नै छुट्टै इको सिस्टम निर्माण गर्नुपर्नेछ। जबसम्म हुवावेले अहिले गुगलको जस्तो एन्ड्रोएड, जीमेल, गुगल प्लेस्टोर, गुगल म्याप, गुगल क्रोम, युट्यूब, गुगल सर्चलगायतको आफ्नै इको सिस्टम निर्माण गर्ने छैन तबसम्म हुवावेका लागि समस्या भने हुनसक्छ।

हुवावे–अमेरिका विवाद

हुवावे–अमेरिका विवाद सन् २०१९ मा अहिले सम्मकै सबैभन्दा ठूलो हो। हाल अमेरिकाले हुवावेविरुद्ध चालेको तुरूपको जवाफ हुवावेले चाँडै दिने चिनियाँ मोबाइल कम्पनी हुवावेका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत रेन जेङ्फी दिएका छन्। तर यसको सुरुवात सन् २०१२ बाटै भएको हो।

हुवावे अमेरिकाका लागि सुरक्षा खतरा रहेको अमेरिकी गुप्तचर संस्था एफबीआईले सन् २०१२ देखि चेतावनी दिँदै आएको थियो। उक्त संस्थाले हुवावे आफ्नो प्रविधि प्रयोग गरी मानिसको गुप्तचर गर्ने काम गरिरहेको आरोप लगाउँदै आएको छ। त्यसभन्दा अघि पनि हुवावेका संस्थापक रेन चिनियाँ पिपल्स आर्मीसँग आवद्ध इन्जिनियर भएकाले अमेरिकी कम्पनीले हुवावेलाई हेर्ने नजर फरक थियो।

रेन सन् १९८० को आरम्भतिर पिपल्स आर्मीसँग आवद्ध इन्जिनियर थिए। हुवावेले भने यी सबै कुराको खण्डन गर्दै आरोप पूर्ण रूपमा अस्वीकार गर्दै आफू स्वतन्त्र कम्पनी रहेको दाबी गर्दै आएको छ। कम्पनीले आफू गुप्तचर नभएको र कम्पनी चिनियाँ सरकारबाट स्वतन्त्र रहेको भनी दाबी गर्दै आएको छ। तर पनि गुप्तचरकै विषयलाई लिएर फाइभ जीको विस्तारको क्रममा अमेरिकालगायत विभिन्न देशले हुवावेलाई प्रतिबन्ध लगाएका छन्।

त्यतिमात्र नभएर सन् २०१८ मा ब्रिटेनमा तयार पारेको एक प्रतिवेदनले हुवावेको मोबाइल सेटहरू राष्ट्रिय सुरक्षामा खतरा छैन भन्न नसकिने भनी औंल्याएको थियो। प्रतिवेदनले आगोमा घ्यू थप्ने काम गर्‍यो। यही विषयलाई लियर गतसाता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले हुवावेलाई व्यापारको कालो सूचीमा राख्यो।

अमेरिकी सरकारले हुवावेलाई लगाएको प्रतिबन्धसँगै गुगलले हुवावेसँगको सेवा तथा व्यवसायलाई निलम्बन गरेको छ। गुगलले निलम्बन गरेसँगै अब गुगलका जीमेल, यूट्यूब, प्ले स्टोर लगायतका एप्स हुवावेका आगामी फोनहरूमा उपलब्ध हुने छैनन्।

तीन महिनालाई टर्‍यो

हाललाई यो विषय तीन महिनाका लागि पर सरे पनि सधैंका लागि टरेको भने छैन। अमेरिकाले मंगलबार गुगललाई हुवावेसँग व्यापार गर्न तीन महिनाको अनुमति प्रदान गरेको छ। तत्कालै हुवावेका प्रयोगकर्तामा कुनै किसिमको असर नपरोस् भन्दै अमेरिकाले यो कदम चालेको उल्लेख गरिएको छ।

तीन महिनापछि के हुन्छ ?

तीन महिनापछि गुगल र हुवावेबीच के हुन्छ भन्ने विषयमा अहिले नै भन्न सकिने अवस्था छैन। तर यदि तीन महिनापछि गुगलले आफ्नो प्रोडक्ट प्रयोगमा हुवावेलाई रोक लगाएको खण्डमा भने हुवावे धेरै कुराबाट बन्चित हुन सक्नेछ। ओपन सोर्स सफ्टवेयर भएकाले एन्ड्रोइडमै आधारित भएर हुवावेले आगामी प्रोडक्ट ल्याउन सक्छ तर त्यससँग आउने गुगलका सेवा भने उपलब्ध हुने छैनन्। प्ले स्टोरमार्फत एप्सहरू डाउनलोड गर्न, गुगल एसिस्टेन्ट, जीमेल प्रयोग गर्न, म्यूजिक र अन्य मिडिया, गुगल फोटोज, यूट्यूब, गुगल म्याप्स, गुगल ड्राइभ, गुगल डुओ लगायतका सेवा प्रयोग गर्न पाइने छैन।

पुराना सेटका हकमा भने कुनै किमिसको असर नपर्ने उल्लेख गरिएको छ। हुवावे तथा हनरका स्मार्टफोनका पुराना प्रयोगकर्ताको भने गुगलको गुगल प्ले स्टोर तथा गुगल एप्सहरूमाथि पहुँच रहने छ। हाल सञ्चालनमा रहेका सेटहरू प्रमाणित भइसकेका हुनाले प्रयोगकर्ताले एन्ड्रोइड अपडेटसमेत प्राप्त गरिरहनेछन्। गुगलका अनुसार हुवावेका पुराना प्रयोगकर्ताका लागि गुगल प्ले प्रोटेक्ट नामक सेवा उपलब्ध रहिरहनेछ। त्यसमा कुनै किमिसको असर नपर्ने उल्लेख छ।

के भन्छ हुवावे ?

हुवावेले आफ्ना बिक्री भएका तथा स्टकका उत्पादनको सुरक्षा अपडेट तथा अन्य सेवा प्रदान गर्ने प्रतिवद्धता जनाएको छ। साथै उसले दीर्घकालीन सफ्टवेयर इकोसिस्टम निर्माण र सुरक्षालाई निरन्तरता दिने बताएको छ। एक विज्ञप्तिमा कम्पनीले भनेको छ, ‘हुवावेले संसारमा एन्ड्रोइडको विकासका लागि महत्त्वपूर्ण योगदान दिएको छ। एन्ड्रोइडका मुख्य अन्तर्राष्ट्रिय साझेदार भएकाले दुवै कम्पनीले प्रयोगकर्ता र उद्योग दुवैलाई फाइदा पुर्‍याउने उद्देश्यले काम गरिरहेको छ।’

यसैबीच हुवावेका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत रेन जेङ्फीले गुगलले लगाएको प्रतिबन्धले कुनै किसिमको असर नपर्ने बताएका छन्। उनले सेवा र सुविधाको निरन्तरताका लागि कम्पनी तयार रहेको र यसले कम्पनीको व्यापारमा कुनै किसिमको प्रभाव पार्ने छैन।

अन्नपूर्ण

तपाईको प्रतिक्रिया