काठमाडौं । नेकपा एमालेका नेता तथा अध्यक्ष केपी शर्मा ओलीका निकटस्थ महेश बस्नेतले प्रहरी र प्रशासनमा एमालेको कब्जा रहेको खुलासा गरेका छन् । आफ्ना नेता तथा कार्यकर्तालाई सम्वोधन गर्ने क्रममा बस्नेतले यस्तो खुलासा गर्दै अहिलेको शेरबहादुर देउवा नेतृत्वको सरकारमाथि हुँकार छाडेका हुन् ।
उनले सम्वोधनका क्रममा भने, ‘अहिले मुलुकको स्थायी सरकार कोही छ भने त्यो नेकपा एमाले हो । हामी सत्तामा भए पनि नभए पनि । यहाँ भित्रको प्रहरी प्रशासन भित्र हामीलाई माया गर्ने सपोर्ट गर्ने धेरै साथीहरु हुनुहुन्छ, प्रहरी, प्रशासन एमालेको कब्जामा छ ।’
नेता बस्नेतले ‘हाम्रा विरुद्ध यस्ता खालका षडयन्त्र हुने खालका लक्षण देखिए भने हामी बडो सशक्त ढङ्गले प्रतिरोध गर्न तयार छौं ।’ भनी कार्यकर्तालाई हौसाएका छन् । उनी भिडन्तको मुडमा देखिएको पनि स्पष्टै हुन्छ । केपी शर्मा ओलीले बालुवाटार छाड्नुअघि प्रधानमन्त्रीको कुर्सी खोसिएकै दिन असार २९ गते महेश बस्नेत इन्चार्ज रहेको युथ फोर्स एमालेले फेरि ब्युँताएको थियो ।
उनले केपी ओलीले मधेशी नेताहरुलाई एमालेमा भित्र्याउन अध्यादेश ल्याएको खुलासासमेत गरेका छन् । उनले उक्त क्रममा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमाले नेता माधवकुमार नेपाललाई मात्र सम्झेनन् नेपाली कांग्रेसको कर्तव्यमाथि पनि प्रश्न उठाए ।
उनले भने, ‘नेपाल बदल्ने अध्यादेश ल्याइरहँदा मधेश आन्दोलनबाट विद्रोह गरेका साथीहरुलाई एमालेमा प्रवेश गर्ने कुरा गरिरहँदा प्रचण्ड र माधव नेपालहरुले त्यो अध्यादेशको विरोध गर्नुभो । कांग्रेसले सदन अवरोध गर्यो । आज फेरि एमाले फुटाउनको निमित्त त्यो अध्यादेश ल्याइँदैछ भन्ने सुन्दैछौं ।’

नेपालीरैबार । २०७८ श्रावण ६, बुधबार