जो ७४ लाख बुझाउँदा पनि अमेरिका उड्न पाएनन्

काठमाडौं । पोखराका दुई युवकले वर्किङ भिषामा अमेरिका जान पटक–पटक गरी ७४ लाख बढी रुपैयाँ बुझाए। दुई वर्षको अवधिमा ७४ लाख ९ हजार पाँच सय रुपैयाँ बुझाएर पनि ति युवा अमेरिका उड्न पाएनन्।

युवालाई वर्किङ भिषामा अमेरिका पठाउँछु भनेर रकम ठगी गर्ने व्यक्ति कपिलवस्तु वाणगंगा नगरपालिका–४ घर भई पोखरा महानगरपालिका–१८ भकुन्डे बस्ने २४ वर्षीय बिकास भनेर चिनिने बिनोद भुसाल हुन।

बिनोदले अमेरिका पठाउँछु भन्दै पोखरा महानगरपालिका–२ बस्ने ३१ वर्षीय पुकार गुरूङ र वडा नम्बर १२ वस्ने ३० वर्षीय प्रकाश गुरूङ लगायतको बैंक खातामा रकम पठान लगाएको खुलेको छ।७४ लाख बढी रकम बुझाउँदा पनि अमेरिका जान नपाएपछि ठगीमा परेका युवक उजूरी लिएर प्रहरीमा पुगेका छन्।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले पीडितको उजूरी पछि बिनोदसहित बैंक खाताबाला गुरुङद्वयलाई पक्राउ गरेको छ। तीनै जनालाई पोखरा महानगरपालिकाको विभिन्न स्थानबाट प्रक्राउ गरी आवश्यक कानूनी कारबाहीको लागी जिल्ला प्रहरी कार्यालय कास्कीमा बुझाइएको ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक श्यामकुमार महतोले जानकारी दिए।

अभियुक्तले अमेरिकन राजदूताबास काठमाडौंको नक्कली कागजातहरु बनाई पीडितलाई झुक्याई ठगी गरेको खुलेको महतोले बताए। पीडितलाई अमेरिकामा रहेकी भनिएकी दिव्या राणाले कृषी फर्ममा वर्क पर्मिट भिषा दिलाउँछु भनि प्रलोभन देखाएर काठमाडौंमा रहेका बिनोदले भने अनुसार गर्नु भनेको अनुसन्धानबाट खुलेको ब्यूरोले जनाएको छ।

ब्यूरोका अनुसार बिनोदले अमेरिकामा थुनामा रहेका व्यक्तिलाई छुटाई दिन्छु भनेर २५ लाख रुपैयाँ ठगी गरेको कसूरमा जिल्ला प्रहरी कार्यालय दाङले कारबाही गरेको खुलेको छ। – thahakabar

तपाईको प्रतिक्रिया