आयुर्वेदप्रति भरोसा बढाएर नेपाल छोड्दै अध्यक्ष ढकाल

आम्दानी बढ्यो, सेवाग्राहीको थेगिनसक्नु चाप

सुर्खेत । २०७६ बैशाखअघि प्रदेश आयुर्वेद औषधालय सुर्खेतमा सेवाग्राहीको खासै भीड लाग्दैन्थ्यो । प्रदेश अस्पतालसँगै जोडिएको औषधालयमा सेवाग्राहीहरु छिटफुट मात्रै पुग्थे । अधिकाँशको उपचार गर्ने पहिलो रोजाई प्रदेश अस्पताल नै पर्दथ्यो ।

तर पछिल्लो दुई वर्षमा आयुर्वेद औषधालयले आफ्नो भरोसा उच्च पारेको छ । अहिले प्रदेश औषधालय सुर्खेतमा सेवा लिनको भीड थेगीनसक्नु छ । आयुर्वेद पद्धतीमा महत्वपूर्ण उपचार विधि मानिने सर्वाङ्ग तथा एकाङ्ग श्वेदन (स्टिम वाथ) र कोरोना महामारीमा प्रभावकारी उपचार गरेपछि औषधालयप्रति सेवाग्राहीको भरोस बढेपछि संख्या दोब्बरले बढेको हो ।

औषधालय व्यवस्थापन समितिको अध्यक्षमा २०७६ बैशाखमा नियुक्त भएका विनोद ढकालले आफ्नो दुई वर्षे कार्यकालमा आयुर्वेदबाट पनि रोग निदान पार्न सकिन्छ भनेर भरोसा बढाएर कार्यकाल छोडेका छन् ।

औषधालयको कार्यकाल सकिएपछि अमेरिका जान लागेका ढकालले आफ्नो कार्यकालमा सन्तोषजनक काम गरेको फिरहस्ती सुनाए । ढकालले राम्रो नै गरे भनिरहँदा औषधालयको तथ्याङ्कले झन पुष्टि गर्नमा टेवा पु¥याएको छ । औधालयमा सेवाग्राहीको संख्या दोब्बरले वृद्धि र आम्दानी समेत उत्तिकै संख्यामा वृद्धि भएको छ ।

जिर्ण अवस्थामा रहेको औषधालयका भवन, जनशक्तिको सही परिचालन नहुनु र आवश्यक स्रोत साधनको पूर्ति नहुँदा औषधालयले प्रभावकारी सेवा नसकिरहेको अवस्थामा ढकालले यी सबै पक्षको जोहो गरिदिएका छन् ।

‘औषधालयप्रतिको विश्वास बढाउन र आवश्यक स्रोत साधनको प्रवन्ध गर्नमा कुनै कसर बाँकी राखिन,’ अध्यक्ष ढकाल भन्छन्, ‘मेरो कार्यकालमा केही सुधारात्मक काम भएका छन्, नागरिकको विश्वास बढेको छ र आउने अध्यक्ष ज्यूले अझै यसको गरिमा उच्च बनाउनु हुनेछ भन्नेमा विश्वस्त छु ।’

अध्यक्ष ढकालकै कार्यकालमा काेराेना आइसोलेशन अस्पताल निर्माण गरेर उपचार गरेकाे थियाे । काेराेनाकाे पहिलाे चरणमा सरकारले तयार गरेका आइसोलेशन याेग शिविरहरू सञ्चालन गरेर औषधलायले ख्याती कमाएकाे थियाे । भौतिक संरचनाको विकास र जनशक्ति व्यवस्थापनमा ढकालले धेरै मेहनत गरेको औषधलायकै कर्मचारी बताउँछन् ।

सेवा लिनेको संख्या दोब्बरले वृद्धि
आर्थिक वर्ष २०७५।०७६ मा २२ हजार ९०, ०७६।०७७ मा २८ हजार ३५५ र गत आर्थिक वर्षमा ३४ हजार २७३ जनाले सेवा लिएका छन् । स्टिमवाथ, पायल्स पीडितलाई क्षारसुत्र विधिबाट उपचार, ल्याब र भिडियो एक्सरे सेवा थप गरेपछि सेवाग्राहीको संख्या बढेको औषधालयका प्रमुख डा. शंकर रिजालले जानकारी दिए ।

‘विगतमा सीमित स्रोत साधनबाटै सेवा प्रवाह गर्दै आएका थियौं, जनशक्ति व्यवस्थापनसँगै भौतिक संरचना विस्तार भएपछि सेवा दिनमा सहज बनेको हो,’ डा. रिजालले भने, ‘सेवाग्राहीलाई सहज रुपमा उपचारपछि औषधालयमा उपलव्ध नहुने औषधीहरु कार्यालय परिसरबाटै उपलव्ध गराउन आयुर्वेद फार्मेसी र स्वास्थ्य वीमामा आवद्ध गराएर सरल र सहज उपचार प्रदान गर्ने नीति बनाउने तयारीमा छौं ।’

अस्पतालमा रुपान्तरण गरिदै, आन्तरिक आम्दानी दोब्बर
औषधालयप्रति नागरिकहरुको विश्वास कायम राख्न उपचार पद्धतिलाई समयानुकल बनाइँदै सुविधा सम्पन्न अस्पतालको रुपमा विकास गर्न लागिएको छ । हाल औषधालय परिसरमा १८ करोड ३२ लाखमा १५ शैयाको अस्पताल र तीन करोड ३३ लाखमा औषधी निर्माण प्रयोगशाला भवनको काम जारी छ ।

एक कठ्ठा क्षेत्रफलमा रहेको औषधालको विकास समितिले आम्दानी समेत बढाएको छ । पछिल्ला तीन वर्षमा औषधालयले ४८ लाख ८४ हजार ९३ रुपैया आम्दानी गरेको छ । योमध्य १८ लाख ८७ हजार ९३ खर्च गरेर २९ लाख ९७ हजार खुद आम्दानी गरेको छ ।

तपाईको प्रतिक्रिया