कृषकलाई कर्जा तथा व्याज अनुदान दिन प्रदेश सरकार र बैंकबिच समझदारी

सुर्खेत । कर्णालीका कृषकलाई कर्जा तथा व्याज अनुदान प्रवाह गर्न प्रदेश सरकार र ग्लोबल बैंकबिच समझदारी भएको छ । भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय कर्णाली प्रदेश र ग्लोबल आइएमइ बैंक लिमिटेडबिच समझदारी पत्र आदनप्रदान गरिएको हो ।

व्यवसायिक कृर्षि तथा पशुपंक्षि पालन व्यवसायका लागि व्याज अनुदान कार्यक्रम कार्यविधि २०७६ को कार्यान्वयन गर्न प्रदेश सरकार र ग्लोबल बैंकले समझदारी गरेका हुन् । समझदारीसँगै अब कर्णालीका कृषकले प्रक्रिया अनुसार कृर्षि तथा पशुपंक्षि पालन व्यवसायका लागि व्याज अनुदान पाउने भएका छन् ।

कृषकलाई अनुदान रकम दिन मन्त्रालय मातहतका हरेक जिल्ला कार्यालय र बैंकको जिल्ला शाखाबाट सेवा प्रवाह गरिनेछ । कार्यक्रम कार्यान्वयनका लागि मन्त्रालय र बैंकको प्रदेश कार्यालय स्तरीय कार्यालयबाट दुई दुई जना प्रतिनिधि रहने गरी अनुगमन तथा समन्वय समिति गठन गरिनेछ ।

कार्यविधि अनुसार कृषकले एक करोड रकमसम्मको कर्जा अनुदान पाउने भएका छन् । जसमा बैंकले लिने ८ दशमलब ६ प्रतिशत व्याजमा प्रदेश सरकारले ७ प्रतिशत व्याज तिरीदिने भएको छ ।

तपाईको प्रतिक्रिया