भेरी पम्पिङको टेन्डर दसैंअघि हुने

भेरी नदीको पानी पम्पिङ गरी वीरेन्द्रनगरमा ल्याउन विश्व वैंकले पनि लगानी गर्ने

सुर्खेत । सुर्खेत उपत्यकाको खानेपानी समस्याको दीर्घकालीन समाधानका लागि सुरु हुन लागेको भेरी पम्पिङ आयोजनाको टेन्डर दसैंअघि हुने भएको छ । सुर्खेत उपत्यका खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अनुसार आयोजनाको डीपीआर तयार भइसकेकाले चाँडै टेन्डर हुन थालेको हो ।

करिब ४ वर्ष अघिदेखि भेरी नदीको पानी सुर्खेत उपत्यकामा ल्याउन विभिन्न निकायले अध्ययन र सर्भे गरे पनि काम हुन सकेको थिएन । असोजसम्म टेण्डरको काम भइसक्ने गरी आवश्यक प्रक्रिया थालिएको संस्थाका इन्जिनियर बालाराम तिवारीले बताए । उनका अनुसार दसैं अघिसम्म इन्टेक (मुहान) को कामका लागि टेन्डर गरिसक्ने भनेर खानेपानी मन्त्रालयको तयारी छ । भेरी नदीको पानी पम्पिङ गरी वीरेन्द्रनगरमा ल्याउने विश्व वैंकले पनि लगानी गर्ने जानकारी दिएको उनले बताए ।

लगानी गर्न सहमत भएसँगै विश्व बैंकका प्रतिनिधि र संघीय खानेपानी मन्त्रालयका टोली केही दिनअघि भेरी पम्पिङ आयोजनाको स्थलगत अध्ययन गरी फर्किएको छ । लगानी र आयोजनाबारे अध्ययन गर्न आएको टोलीले नगरपालिका र सरोकारवाला निकायसँग पनि छलफल गरेको थियो । आयोजना सञ्चालनका लागि झण्डै ६ अर्ब रुपैयाँ लाग्ने अनुमान छ । भेरी नदीमा निर्माण हुने ट्यांकीका लागि मात्रै ५० करोड, नदीबाट अमृतडाँडासम्म पानी ल्याउन १ अर्ब ५० करोड र वीरेन्द्रनगरभित्र लाइन विस्तार गर्न ४ अर्ब ६७ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको इन्जिनियर तिवारीले बताए ।

आयोजनाको काम हुन नसक्दा संघीय सरकारले आर्थिक वर्ष ०७५/०७६ मा छुट्याएको ३ करोड र गत आर्थिक वर्षमा विनियोजन गरेको ६ करोड रुपैयाँ फ्रिज गएको थियो । प्रदेश सरकारले पनि आर्थिक वर्ष ०७६/७७ मा आयोजनाको लागि ५० करोड रुपैयाँ छुट्याएकोमा काम हुन सकेन । चालु आवमा कर्णाली सरकारले ५ करोड बजेट विनियोजन गरेको छ ।

यसअघि वीरेन्द्रनगरस्थित झुप्राखोलामा मिसिने भेरी किनारको दोभान (भेरी पुल र झुप्रा खोलाको बीच) मा पम्पिङ मेसिन राख्नेगरी सम्पवेल निर्माणको कामसमेत सुरु गरिएको थियो । उक्त स्थानमा इन्टेक निर्माण गर्दा पानी कम आउने सम्भावना देखेपछि गत वर्ष स्थान परिवर्तन गरिएको हो । खानेपानी तथा ढल व्यवस्थापन विभागमार्फत खटिएको टोलीले गत वर्ष गरेको अध्ययनमा उक्त दोभानदेखि ५ सय ७४ मिटर माथि पूर्वतर्फ भेरी नदीको किनारमा पम्पिङ मेसिन राख्ने गरी प्रस्ताव गरेको थियो । त्यहाँबाट ३ सय मिटरसम्म पानी पम्पिङ गरिसकेपछि बीचमा अर्को पम्पिङ मेसिन राख्ने गरी डीपीआर बनाइएको छ ।

विभागका अनुसार अनुसार भेरीको पानी ३/४ सय मिटर माथि प्रशोधन गर्ने ट्यांकी (ट्रिटमेन्ट प्लान) मा खसालेपछि त्यसबाट वीरेन्द्रनगरको अमृतडाँडासम्म ७ किलोमिटर लामो पाइप विछ्याइनेछ । ५ सय ५० मिलिमिटर वा योभन्दा बढी आकारको पाइप अमृतडाँडामा राखी मुख्य ट्यांकीसम्म जडान गर्ने विभागले जनाएको छ । उक्त डांडामा बनाइने ट्यांकी १२ हजार घनमिटरको हुनेछ भने उक्त ट्यांकीबाट वीरेन्द्रनगरमा खानेपानी पठाउने डीपीआर निर्माण गरिएको छ ।

वीरेन्द्रनगरमा खानेपानीका १० वटा स्किम छन् । भेरी पम्पिङ आयोजनाअन्तर्गत भने २४ स्किम (डिस्ट्रिक्ट मिटर्ड एरिया) बनाइनेछ । वीरेन्द्रनगरमा खानेपानी आपूर्ति गर्दै आएको सुर्खेत उपत्यका खानेपानी संस्थाका अनुसार हालको जनसंख्याका लागि प्रतिसेकेण्ड २ सय ७८ लिटर पानी आवश्यक पर्छ । तर अहिले १ सय ५२ लिटर प्रतिसेकेन्ड पानी आपूर्ति भइरहेको इन्जिनियर तिवारीले बताए । उनका अनुसार यही पानीको आपूर्ति पनि खडेरीको समयमा ५० प्रतिशत घट्छ । अहिले झुप्राखोला, खरीखोला, खोर्के, इत्राम खोला र बुलबुलेबाट संस्थाले पानी वितरण गरिरहेको उनले जानकारी दिए ।

तपाईको प्रतिक्रिया