राजधानीमा ढलेका राजारानी ठडिएको चिउडी साघुँ

सबै पुलहरु बिशेषता बोकेका हुदैनन् । तर कुनै कुनै पुल भने विश्वमा नै बिशेष रुपले चिनिने हुन्छन् । त्यसैमध्येको एक फरक विशेषता बोकेको पुल हो जुम्लाको चिउँडी साँघु अर्थात राजारानी पुल । देशले गणतन्त्र पाएपछि कतिपय राजारानीका सालिक नव गणतन्त्रवादीको निशानामा परेपनि एउटा दुर्गम गाउँमा भने एक काठे पुलमा राजारानीको सालिक ठिङ्ग उभिएको छ ।

यहाँ राखिएको तस्विरमा पुल पुरानै भएपनि यसमा राखिएको काठको मुर्तिहरु मात्र नयाँ हुन् । यि मुर्तिहरु २०५८ सालमा राखिएका हुन् ।

यो पुलमा राजारानीको काठको सालिक मात्र होइन राजारानीलाई सुरक्षा दिने सुरक्षाकर्मीको पनि सालिक बनाइएको छ । शायद यिनै सुरक्षाकर्मीको सुरक्षाले होला गणतन्त्रको आगमनले देशका विभिन्न क्षेत्रका राजारानीका सालिक ध्वस्त भएपनि यि सालिक भने ध्वस्त हुन पाएनन् ।

जुम्ला जिल्लाको पश्चिम हिमा गाउँपालिका स्थित तिला नदीमा रहेको काठको पुलमा राजारानीको मुर्ती कुँडिएको यो दृष्य अहिले पनि देख्न सकिन्छ । हिमा गाउँपालिका गठन पूर्व यो ठाँउ महावैपाथरखोला गाविसमा रहेको थियो । हुन त जुम्लाका पुलहरुमा काष्ठकलाका नमुनाहरु प्राय भेटिन्छ नै । तर यहाँ पुलहरुमा मात्र होइन घरका लिस्नोहरुमा पनि काठका कला देख्न सकिन्छ । जुम्लाको बिशेषता नै काष्ठकलामा देख्न सक्छौ । प्राचिन मुर्तिहरु पनि काष्ठकलाका नमुनाको रुपमा देख्न पाइन्छ । अहिले पनि जुम्लामा मठ मन्दिर निर्माण गर्दा काष्ठकलाको प्रयोग गरिन्छ । भने पुराना मठ मन्दिरमा झन् धेरै तथा आकर्षक काष्ठकलाको प्रयोग गरिएको छ ।

तर चर्चा चिउँडी साँघु अर्थात राजारानी पुलकै गर्ने प्रयास छ । जुम्लाको हिमा नदीमा रहेको काठेसाँघु चिउँडी साँघुको रुपमा प्रख्यात थियो । हिमा गाउँपालिकाको महाबैपाथरखोला गाउँबाट तिला गाउँपालिकाको रारालिही गाउँ जोड्ने सडकमा रहेको यो साँघु चिउँडीमा रहेको हुँदा चिउडी साँघु भनियो । २०५७ सालको फागुनमा गाउँलेको भेलाले यस साँघुमा केही बिशेषता झल्काउने उद्धेश्य स्वरुपमा राजारानीको काठको मुर्ति बनाउने निर्णय भएको थियो ।

फागुनमा निर्णय भएपछि स्थानीय कालीबहादुर तिरुवाले मुर्ति बनाउने जिम्मा पाए । एकातर्फ काँचो काठमा मुर्ति कुड्नु निकै कठिन कार्य थियो, भने अर्को तर्फ माओवादी आन्दोलनको उत्कर्षमा राजारानीको मुर्ति बनाउने आँट गर्नु मुर्ख्याइ पनि थियो । चार महिना लाग्यो सगोल मुर्ति तयार बनाउन । राजारानी तथा सुरक्षाकर्मी सहितको मुर्ति तयार हुँदा २०५८ सालको जेठ महिना भयो । पुलमा सालिक ठड्याउने निर्णय भएपछि सबै तयारी तर्फ लागे । यही समय माओवादीको २०–२५ जनाको समुह तिरुवाको घर आइपुग्यो ।

आरन चलाउने कामी, काली तिरुवाले गाउँमा आबश्यक सबै मुर्ति बनाउथेँ । भुन्यादेउता, लाटीबज्यूु, मर्काट्टा सबै बनाउँथे । यहाँ राजारानीको मुर्ति पनि सबैका चाहनाले बनाएका थिए । माओवादीको समुहले काली तिरुवालाई समाएर लग्यो । उनलाई कमाण्डर सामु लगेर निकै सोधपुछ गरियो । जनकारवाही गरिने भन्दै लगिए पनि अन्तमा हाम्रो सत्ता आएपछि हाम्रो काम पनि गरिदिनुपर्छ भन्दै छोडिदिए । उनलाई कुनै कारवाही गरिएन ।

यता राजारानी तथा सुरक्षाकर्मीको मुर्ती पुलमा राख्ने तयारी हुदै थियो । उता राजधानीमा ०५८ जेठ १९ गते राती राजपरिवारको हत्या भयो । स्वर्गिय राजा वीरेन्द्र र रानी ऐश्वर्य लगाएत राजपरिवारको हत्या भएपनि गाउँलेले राजारानीको सालिक राख्ने नै निधो गरे । तिरुवाको कला ठडियो । राजधानीमा ढलेका राजारानी चिउडी साघुँमा ठडिए । राजारानी प्रतिको आस्था चिउडीका गाउँलेमा अझ बढि भयो । वास्तविक राजारानीले संसार छोडेर गए तर चिउडीका राजारानी सधैका लागी ठडिए । स्रोत : sunil ulak

तपाईको प्रतिक्रिया