‘तालिबानले घरघर गएर तलासी लिइरहेका छन्’

काठमाडौं । अफगानिस्तान कब्जा गरेको तालिबानले राजधानी काबुललगायतका क्षेत्रमा नेटो तथा अमेरिकी सैनिकलाई सहयोग गरेका अफगानीहरुमाथि निगरानी बढाएको छ।

AFGHANISTAN-CONFLICT-TALIBAN

संयुक्त राष्ट्रसंघको एउटा दस्तावेजअनुसार तालिबानले नेटो फौज र पूर्ववर्ती अफगान सरकारका लागि काम गरेका मानिसहरूको खोजी कार्यलाई तीव्र बनाएको पाइएको छ। उक्त दस्तावेजमा तालिबानले घरघरै गएर त्यस्ता व्यक्तिहरूको खोजतलास गरेको र उनीहरूका परिवारका सदस्यहरूलाई धम्क्याएको उल्लेख छ।

कट्टरपन्थी इस्लामवादी समूहले शक्ति हातमा लिएपछि अफगानीहरुलाई कुनै पनि बदला नलिने भन्दै आश्वस्त पार्ने कोसिस गरेको थियो। तर अहिले पनि सन् १९९० ताकाको तालिबानमा सामान्य मात्र परिवर्तन आएको जस्तो देखिएकाले त्रास पैदा भएको बीबीसीले जनाएको छ।

तालिबानले विदेशी फौज र पूर्ववर्ती सरकारका सहयोगीहरुलाई निशाना बनाएको भन्ने चेतावनी राष्ट्रसंघका लागि गोप्य सूचना संकलन गर्ने आरएचआईपीटीओ ९रिप्टो० नर्वेजियन सेन्टर फर ग्लोबल एनालाइसिसको एउटा अति गोप्य दस्तावेजमा दिइएको हो।

‘तालिबानद्वारा निशाना बनाइएका व्यक्तिहरू अहिले उच्च संख्यामा रहेका छन् र तीनलाई धम्की दिइएको कुरा स्पष्ट छ’, उक्त प्रतिवेदन बनाउने समूहको नेतृत्व गर्ने क्रिश्चियन नेलेमेनले बीबीसीसँग भनेका छन्। उनले तालिबानको सूचीमा रहेकाहरू एकदमै धेरै खतरामा रहेको र अफगानिस्तानमा आमहत्या हुनसक्ने चेतावनी पनि दिएका छन्। यसअघि अफगानिस्तानमा रहेका दोभाषेहरुले आफूहरु संकटमा परेको भन्दै अन्तर्राष्ट्रिय समुदायसँग सहयोगको अपिल गरेका थिए।

तपाईको प्रतिक्रिया