जसको बलिदानीले प्रदेश बन्यो, उनैलाई बिर्सिदै कर्णाली सरकार

सुर्खेत । कर्णाली प्रदेश प्राप्तीका लागि शहीद भएका चार जनाको सम्झानामा कर्णाली प्रदेश सरकारले एक दिन सार्वजनिक विदा बाहेक अन्य कुनै कार्यक्रम गर्ने आँट गरेन । यतिसम्मकी प्रदेश सरकारको नेतृत्व गर्ने मन्त्री र सांसदहरुले चार शहीदको फोटोमा माल्यार्पण गर्ने समेत आँट गरेनन् ।

जसको कारणले प्रदेश प्राप्ती भयो र आज उनैको कारणले सरकारको नेतृत्व गरीरहेका छन् । तर बिडम्बना सरकारमा गएर मन्त्री तथा सांसद बनेपछि उनै शहीदलाई बिर्सीएका छन् । कोरोना महामारीका कारण सरकारले सार्वजनिक कार्यक्रम नगरेको मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय स्रोतले जनाएको छ । महामारीकाविच विरोध सभा र सम्मेलन गर्नमा कुनै रोकावट छैन, तर शहीदको सम्झनामा गरिने कार्यक्रम मात्रै रोकावट हुनु प्रदेश सरकारले शहीदप्रति अपमान गरेको आरोप छ । शहीदप्रतिको व्यवास्था कारण शहीदको सम्झनामा शालिक निर्माण गर्ने प्रदेश सरकारको योजना पनि अलपत्र छ ।

कोरोना माहामारीकाबिच बजेट सकाउन रातारात गोष्ठि तथा सेमिनारसम्म गरेको प्रदेश सरकारले दिनहुँ बजारमा हुने राजनैतिक हुलदंगा र भिडभाड नदेखेको होइन । तर चार शहीदको सम्झनामा गरिने औपचारिक भेलाको कार्यक्रम कोरोना माहामारीका कारण गर्न नसकिएको भन्दै प्रदेश सरकारले शहीदप्रति अपमानको व्यवहार देखाएको छ । प्रदेश सरकारले आफ्नो अनुकुल जस्तोसुकै भिडभाड र भेला गर्न हुने तर शहीदको सम्झनामा सामाजिक मापदण्ड अपनाएर औपचारिक कार्यक्रम गर्न किन नहुने ? यी र यस्ता प्रश्न सरकार तर्फ तेर्सिएका छन् ।

मन्त्री तथा सांसदहरुको गाउँगाउँमा अनुगमनका नाममा हुने कार्यकता भेला तथा छलफलमा नत सामाजिक दुरी नत स्वास्थ्य मापदण्ड नै पालना गरिन्छ । तर त्यस्ता कार्यक्रमबाट मन्त्री तथा सांसदहरुलाई आँठो भत्ता आउँदा उनीहरु उतैतिर लोभिएको देखिन्छ । प्रक्रिया अनुसार त्यस्ता कार्यक्रम गर्नैपर्ने भएपनि कि त कोरोना माहामारीको कारण देखाउन सकिन्थ्यो ? होइन भने स्वास्थ्य मापदण्ड पालना गर्न सकिन्थ्यो ? तर पैंसाको लोभमा अनुगमन, छलफल, तामिल, गोष्ठि गर्नहुने ? तर स्वास्थ्य मापदण्ड अपनाएर शहीदको सम्झानामा औपचारिक कार्यक्रम गर्न किन नहुने ? प्रदेश प्राप्तीको आन्दोलनमा सुर्खेतका टिकाराम गौतम, यामबहादुर विसी, गोपाल सिंह रजवार र जुम्लाका हरिबहादुर कुँवरले बलिदानी दिएका थिए । तर यसरी प्रदेश सरकारले शहीदप्रति वास्था गर्न छोडेमा प्रदेश प्राप्तीमा बलिदानी दिने उनै शहीदलाई अब कसले र कसरी सम्झिने त ?

शहीदको सम्झनामा प्रदेश सरकारले आज सार्वजनिक बिदा मात्रै दिएको छ । बरु सार्वजनिक बिदाको सट्टा आजको दिन प्रदेश प्राप्तिको लागि उत्सवको रुपमा मनाउनु उपयुक्त हुन्थ्यो । आफ्नो माटोका लागि र देश अप्ठ्यारो पर्दा युवाहरु एकजुट भएर लड्नुपर्छ भन्ने सन्देश दिन जरुरी हुन्थ्यो । तर संकटमा शहीदहरुले गरेको त्याग नै नसम्झिने गरी कोरोनाको बाहानामा कार्यक्रमबाट उम्किनु ठिक होइन । आफ्नो जन्मदिन र खुसीको अवसरमा सामाजिक सञ्जालमा खुसी साट्ने मन्त्री तथा सांसदहरु र नेताका लागि प्रदेश प्राप्ती भन्दा अरु के नै खुसी होला र ? तर विरलैले बाहेक अधिकांश मन्त्री, सांसद तथा नेताहरुले शहीदलाई सम्झेर सामाजिक सञ्जालमा खुसी साटेको पाइएन । जे भएपनि शहीदप्रतिको सम्मान र उनीहरुको योगदान नभुलौं । र उनीहरुप्रति सँधै कदर गरेर उच्च सम्मान गरौं । नत्र यदी यी शहीदका कारण प्रदेश प्राप्ती नभएको भए स्थिती तथा परिस्थीति के हुन्थ्यो स्मरण रहोस् ।

तपाईको प्रतिक्रिया