घोडाबास (दैलेख) । कृषिको उर्भूरभूमी दैलेखको घोडाबासमा कर्णालीकै पहिलो आलुको मुल विऊ उत्पादन गर्न टिस्यूकल्चर ल्याव निर्माण गरिएको छ । कृषकलाई व्यवसायीक बनाउन र उनीहरुको आम्दानी वृद्धि गर्न गुराँस गाउँपालिकाले घोडाबासमा लागत साझेदारीमा ल्याब निर्माण गरेको हो ।
टिस्यूकल्चर, कलमी तथा हाइब्रिट प्रविधिबाट विरुवाहरु उत्पादन गर्ने उदेश्यले ल्याब निर्माण गरिएको छ । ल्याबको ९० प्रतिशत काम सकिएको छ । टिस्यूकल्चर ल्याबबाट वार्षिक आलुको पूर्व मुल विऊ १० लाख दाना र पाँच लाख ओटा फलफूलका विरुवा उत्पादन गर्ने योजना रहेको नेपाल कृषि विकास फार्मका सञ्चालक देवेन्द्र अधिकारीले जानकारी दिए ।
ल्याबबाट उच्चस्तरिय र स्वस्थ गुणस्तरिय आलुको मुल विऊ उत्पादन हुने अधिकारी बताउँछन् । ‘कृषकले बाहिर खरिद गरेको विऊभन्दा ल्याबको विऊ गुणस्तरिय हुन्छ र उत्पादनमा वृद्धि गर्छ,’ अधिकारी भन्छन्, ‘ल्याबबाट उत्पादित विऊ शत प्रतिशत स्वस्थ हुनेहुँदा विऊ खेर जाँदैन् र कृषकहरुलाई खेती गर्न सहज हुन्छ ।’
गुराँसका दुई हजार आठसय कृषकहरुलाई व्यवसायीक बनाउन र उनीहरुको आयस्तर वृद्धि गर्न ल्याब निर्माण गरिएको गाउँपालिकाका अध्यक्ष खेमराज ओलीले जानकारी दिए । ‘महंगोमा विऊ खरिद गर्न बाध्य कृषकहरुलाई ल्याबबाट उत्पादित विऊ सहुलियतमा उपलव्ध गराउनेछौं,’ अध्यक्ष ओली भन्छन्, ‘वर्षौदेखी कृषिमा लागेका कृषकहरुलाई यो प्रविधिबाट उपलव्ध हुने विऊले आम्दानीको स्तर ह्वात्तै बढ्ने हाम्रो अपेक्षा छ ।’
ल्याबबाट आलुको पूर्व विऊ उत्पादन असोजदेखि शुरु गर्ने तयारी छ । तर हाइटेक नर्सरीबाट उत्पादन गरिएका फलफूलका विरुवाहरु हाल ४८ जिल्लामा पठाउने गरिएको छ । मुख्यगरी, कर्णाली र लुम्बिनी प्रदेशमा गुराँसेको विऊ निर्यात भइरहेको छ । पहाडी हावापानीमा फल्ने फलफूलका विरुवा उत्पादन गर्ने ल्याबको लागत निर्माण चार करोडको हो ।
योमध्य गुराँस गाउँपालिकालको एक करोड ९५ लाख र कृषि विकास फार्मको दुई करोड पाँच लाख रहेको छ । ल्याबबाट हुने आम्दानीको २० प्रतिशत गुराँस पालिकाको राजश्वमा जम्मा हुने र बाँकी ८० प्रतिशत फार्मले लिनेछ । ल्याब निर्माणसँगै प्रत्यक्ष रुपमा १७ जना रोजगारीमा जोडिएका छन् । २१ वर्षका लागि भाडामा लिएको जग्गा ७० रोपनी रहेको छ ।
सुशील खड्का । २०७८ भाद्र ६, आईतवार